साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’

 

काठमाडौँ  सन्तबहादुर पुनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुनेथिएँ !’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ, त्यति दिनसम्म म अनलाइन आइहाल्छु ।’

माया भने मनमा भने डर छ, सन्तबहादुर कुन दिन अफलाइन जाने हुन् ! १९ वर्षदेखि मृत्युदण्डको सजाय पर्खेर बसेका सन्तबहादुर साउदी अरबको कुरैयात जेलमा छन् । माया पर्वतको मोदी गाउँमा । झन्डै चार हजार किलोमिटर दूरीमा रहेका यी दुईलाई भूगोलले छुट्टाइदिए पनि इन्टरनेटले आमुन्नेसामुन्ने जोडेको छ । घण्टा–घण्टामा उनीहरूबीच भिडियो संवाद हुन्छ । ‘मलाई जेल परेको जस्तै लाग्दैन । तिमीलाई छुन नपाएको मात्रै त हो,’ सन्तबहादुर इमोमा भन्छन्, ‘जस्तो परिस्थिति सिर्जना हुन्छ । त्यसरी नै जिन्दगीको चोला चल्दोरहेछ ।’

केही वर्षअघिसम्म चिठी आएपछि मात्रै मायालाई लाग्थ्यो– श्रीमान् जीवितै छन् । अनि खुसी हुँदै गाउँघर, तीन छोरा र आफन्तको खबर समेटेर चिठी पठाउने गर्थिन् । अहिले छिनभरमै इन्टरनेटले सन्तबहादुरको हालखबर ल्याउँछ ।

२२ वर्षअघि सन्तबहादुर साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । त्यो मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो ।

भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरको एउटा साउदी बारम्बार भेडा माग्न आउनथाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो ।

‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । तर, ती साउदीले टेरेनन् । नेपाली भेडागोठालालाई उनीले मान्छे नै गनेनन् । हप्कीदप्की गरेर, पिट्नै खोजे ।

‘ऊ मलाई मार्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मैले आफूलाई पनि चक्कु हानें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्‍यो ।’
उनले प्रहरीसमक्ष नै नढाँटी भएको सबै बताइदिए । ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं । एउटा भेडाका लागि मैले ज्यान लिएँ । सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा लैजान दिएको भए के जान्थ्यो र ? तर, मलाई मेरो साहुको अगाडि शिर निहुराउन मन लागेन,’ उनी भन्छन्, ‘मेरो जिम्मा भेडाको रेखदेख गर्नु थियो । त्यो जिम्मेवारी पूरा गरें ।’

हत्या प्रमाणित हुन समय लागेन । सन्तबहादुरले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो ।

मृतकका तीन छोरा थिए । बालक कान्छो छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जेलमै बस्नुपर्ने भयो ।

मृत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेलभित्रैबाट भने, ‘यही घरभित्र बाँच्न सिकें ।’

जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्छन् । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृत्युदण्ड पाएकालाई फाँसी दिन समय लाग्दोरहेछ,’ उनले भने, ‘लागूऔषध मुद्दाकालाई त तुरुन्तै फाँसी दिन्छ ।’ यस्तो सजाय हरेक मंगलबार कार्यार्न्वयन हुन्छ । १९ वर्षदेखि सन्तबहादुरको जीवनमा मंगलबारे खड्को टरिरहेको छ ।

एउटा कोठामा २० जना कैदीहरू बस्थे । कैदी बस्ने कोठाको सरसफाइको जिम्मेवारी सन्तले लिए । कैदीले महिनावारी १ सय २० रियाल पाउँछन् । उनीहरूले पैसा उठाएर सन्तलाई दिन्छन् । तीन छोरा र श्रीमतीको परिवारलाई सन्तबहादुरले त्यही कमाइबाट खर्च पठाउन थाले । उनले पठाएको कमाइको हरहिसाबको जानकारी मायाले चिठीमा गराउँथिन् । ‘१५ हजार पैसामा तिमीले ५ हजार चलाउनू भनेको थियो । तर, मैले छोराहरू बिरामी भएर १० हजार चलाएँ । बैंकमा ५ हजार लगेर राखें’ मायाले २०६० भदौ ५ गतेमा पठाएको चिठीमा लेखेकी थिइन्, ‘अब छोराहरूलाई पनि स्कुल पठाउनुपर्‍यो । लुगाफाटा पनि फेर्नुपर्‍यो । हरेक दिनजसो खर्च बढ्दै गइरहेको छ ।’

लामो समय जेल बसिसकेपछि माफी पाएर छुट्ने हुन् कि भन्ने पनि मायालाई आशा छ । ‘परदेशी श्रीमान् तपाईं जेलबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निकाल्छ कि ? कसो हो ? कति सालको जेल दिएको हो ? हामीलाई थाहा नै दिएन ।’ मायाले अर्को पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ।’

सानोमै छोडेर हिँडेका छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । सन्तबहादुरका शिव, खड्ग र मीनबहादुर तीन छोरा । शिव शारीरिक रूपमा अशक्त छन् । २०७० सालमा माइला छोरा खड्गबहादुरले बाबुलाई पठाएको चिठीमा भनेका छन्, ‘तपाईको आशीर्वादले हामी बाँचिरहेका छौं । हाम्रो केही चिन्ता लिनुपर्दैन । तपाईंसँग भेट हुनका लागि यो चिठी लेख्दै छु । अहिले म चार कक्षा पास भएँ । राम्रो नम्बर ल्याउन सकेको छैन । र, पनि कोसिस गर्दै छु बाबा ।’

सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै सलाह (प्रार्थना) गर्छन् । कुरानको पाठ पढ्छन् । जेल छिरेलगत्तै उनलाई इस्लाम धर्म कबुल गराइएको थियो । ‘इस्लाम धर्म कबुल गरेमा मलाई माफी मिल्छ भनेर ओदहकै जेठो छोराले भन्यो । उसले इस्लाम धर्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले माफी दिन्छु भनेको थियो । तर लिखित दिएको थिएन ।’
उनले दिनमा ५ पटकसम्म सलाह गर्छन् । सलाहपछि दिउँसो १२ बजेसम्म सरसफाइ गर्ने काम गर्छन् । लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् ।

जेलभित्र दिनमा तीनपटक खाना आउँछ । बिहान ८ बजे रोटी, अण्डा र दाल आउँछ । १२ बजे भात । हप्तामा तीनपटक माछा, कुखुरा र बाख्राको मासु मिलाएर दिन्छ । साँझ ६ बजे हलुका खाना दिन्छन् । ‘आधा जिन्दगी जेलकै खानामा बित्यो,’ उनी भन्छन्, ‘अझै कति दिन बित्ने हो ? जति दिनसम्म लम्बिन्छ । त्यति दिनसम्म खुसीखुसी बिताउँछु ।’

सन्तबहादुरलाई मृत्युदण्ड सुनाइपछि मायालो नेताहरूको घरदैलो पुगेर हारगुहार पनि गरिन् । उनीहरूले धेरै ठाउँमा गएर भन्नुको अर्थ नभएको भन्दै सम्झाएका थिए । ‘यो ठूलो काण्ड हो । मन्त्रीसँग कुरा गरेर हुने विषय होइन । जति कुरा जहाँ राखे पनि फाइदा छैन । कतै जानुपर्दैन । घरमा आनन्दले चुपचाप लागेर बस । यो पूर्णरूपमा पीडित परिवारको विवेकमाथि भर पर्छ,’ सन्तबहादुरले मायालाई सम्झाउँदै भन्ने गरेका छन्, ‘मेरो भाग्यमा फाँसी नै लेखेको रहेछ भने कसैले रोकेर रोकिन्न । नेपालमै गएर मर्नु लेखेको रहेछ भने कुनै न कुनै दिन फर्किहाल्छु । म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ।’

सन्तबहादुरको सलाहबाट प्रभावित भएर मृतकको माइलो छोरा फाहदले जेलमै भेटेर माफी दिने वचन दिए । फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) हुन् । जेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए ।

जेलका अधिकारीले सन्तबहादुरका मालिकलाई पीडितमार्फत माफी दिन प्रयास गर्न लगाए । मानेनन् । नेपाली दूतावासले मृतकको समुदायका स्थानीय नेतामार्फत् पनि माफीको प्रयास गरे तर संभव भएन । केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिने पक्षमा छन् । तर, मृत्युदण्ड दिने वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएन ।

साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टुबर २०१८ मा कुरैयातको जेलबाट फैसलाको प्रति मगायो । त्यस कमिटीले बोलाएर छलफल गर्दा पनि पीडित पक्ष सहमत भएनन् ।

परिवारका एक सदस्य मात्रै पनि माफीको विपक्षमा उभिए माफी दिन मिल्दैन । फैसलालाई कार्यान्वयन गराउनका लागि परिवारले दबाब दिएपछि जेठो छोरा फाहदले अदालतलाई पत्र लेख्दै फैसलालाई कार्यान्वयन गराउन पत्र दिइसकेको छ ।

अदालतले फैसलालाई कार्यान्वयन गर्नका लागि गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयासहरू सफल भएनन् । सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप राष्ट्र्रपति विद्यादेवि भण्डारीले गत हप्ता साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी छन् । यसको जवाफ आएको छैन ।

‘जिन्दगीमा एकपटक त मर्नु छँदैछ । के लेखेको छ, भाग्यमा हेरौं । माफ भए घर फर्कौंला, नभए हाँसीहाँसी फाँसी चढ्छु,’ सन्तबहादुरले मायालाई पठाएको चिठीमा एक ठाउँमा लेखेका छन्, ‘प्रिय माया, जिन्दगी आफ्नो हातमा छैन ।’

होम कार्की/कान्तिपुर बाट 






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस