आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

२ हजार डलरमा ‘किनबेच’ इराकमा नेपाली युवती

परदेशी खबर १७ फाल्गुन २०७५, शुक्रबार ०७:२४ मा प्रकाशित ( ५ साल अघि) २७४ पाठक संख्या


काठमाडौं, १७ फागुन । इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लक्ष्मी नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमान् नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।

बस्नेतदम्पतीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ग्रामीण क्षेत्रका युवतीलाई झुक्याएर उनीहरूले बिक्री गर्दै आएका थिए । यो समूहका नाइके पनि नेपाली नै रहेको र इराकमै बस्दै आएको प्रहरीले बतायो ।

मजदुरका रूपमा बिक्री गरिएका नेपाली युवतीमाथि शोषण हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरूलाई महिनौँसम्म तलब नदिने र घरमा फोन गर्नसमेत नदिने गरिएको छ । आफूहरूले किनेर ल्याएकाले पैसा फिर्ता दिए मात्र घरबाट निस्कन दिने भन्दै मालिकले कुट्ने गरेको भागेर नेपाल फर्किएका कतिपय युवतीले प्रहरीलाई बताएका छन् ।

यसरी हजारौँको संख्यामा नेपाली महिला इराक पुगेका छन् । कतिपयले भने न्यूनतम तलबमा काम गरिरहेका छन् । नेपाल प्रहरीले यस्तो गिरोहका नाइकेलाई पक्राउ गर्न इराकसँग सहयोग मागे पनि उसले सहकार्य गरेको छैन । इराक मात्र नभई सिरिया, ओमन, कुवेतलगायत देशमा पनि तस्करबाट नेपाली युवतीको ओसारपसार हुने गरेको छ ।