आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल आइडल रवि ओड: जितको खुसीपछि आमाको मृत्युको शोक

परदेशी खबर ११ पुष २०७५, बुधबार ०९:१७ मा प्रकाशित ( ५ साल अघि) ३६५ पाठक संख्या

रवि ओडले गतहप्ता नेपाल आइड २ को उपाधि जित्दा बिस्नादेवी ओड पनि पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा उपस्थित थिइन्।
सानैमा उनकी आमा उमादेवीको मृत्यु भएपछि बुवा राजेन्द्रले बिस्नादेवीसँग दोस्रो विवाह गरेका थिए। उनैले रविलाई हुर्काएकी थिइन्।


नेपाल आइडल २ को अन्तिम चरणमा पुगेपछि रविले उनका बुवालाई भारतबाट काठमाण्डू आउन आग्रह गरेका थिए। बिदा नपाएपछि उनी आउन पाएनन् तर बिस्नादेवी भने रविको उपलब्धिको साक्षी बन्न कञ्चनपुरबाट राजधानी आएकी थिइन्।
नेपाल आइडल रवि ओड: भारतमा चौकीदारी गर्ने बुवाका ‘सेलिब्रिटी’ छोरा
शुक्रवार साँझ प्रतियोगिताको अन्तिम निर्णय घोषणा हुँदा उनी भावविह्वल देखिएकी थिइन्।
तर जितको उत्सव सकिन नपाउँदै रविकी यी कर्मदात्री आमाले पनि उनलाई छोडेर गएकी छन्।
करेन्ट लागेर मृत्यु
बुधवार बिहान करेन्ट लागेर उनको मृत्यु भएको छ।
रवि ओडका भाइ जिगर ओडका अनुसार धनगढीस्थित घरमा मोटर लगाएर पानी तान्ने क्रममा ४५ वर्षीया आमा बिस्नादेवीको मृत्यु भएको हो।
सेती अञ्चल अस्पतालले पनि त्यसको पुष्टि गरेको छ।
मृतकका छोरा जिगरका अनुसार बिहान सात बजेतिर भूमिगत पानी तान्ने ठाउँमा बिस्नादेवीलाई ढलेको अवस्थामा भेटिएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो।
तर उनलाई अस्पतालले मृत घोषित गर्‍यो।
आमाको भूमिका
बीबीसी नेपाली सेवासँग मङ्गलवार गरेको कुराकानीमा नेपाल आइडल रवि ओडले आफ्नो जितमा परिवारको र त्यसमा पनि आफ्नी कान्छी आमाको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए।
सेती अञ्चल अस्पताल परिसर
रविका एक दिदी, एक बहिनी र दुई भाइ छन्।
रविका बुवा भारतको गुजरातमा झन्डै २५ वर्षदेखि चौकीदारको रूपमा काम गर्दै आएका छन्। उनी अर्को साता नेपाल फर्किने योजनामा थिए।
नेपाल आइडल बनेपछि रवि सुदूरपश्चिम नेपालमा आयोजित विभिन्न सम्मान कार्यक्रममा सहभागी हुँदै आएका थिए।
धनगढीस्थित सम्वाददाता उमिद बागचन्दका अनुसार बिस्नादेवीको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएकाले शवपरीक्षण नगरीकनै अन्तिम संस्कार गर्न लागिएको छ।
करेन्ट लागेको समाचार सुनेपछि ओड परिवारका आफन्त र छिमेकी एवम् शुभचिन्तकहरू बिहानैदेखि अस्पताल परिसरमा जम्मा भएका थिए।