कतारमा ९ बर्ष काम गरेर फर्केका यी युवाले तरकारी खेतिबाट अहिले ७ लाख कमाई गर्छन्

 

दमौली २४,कार्तिक | विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो ।

छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उहाँले भन्नुभयो, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

तरकारीखेतीसँगै पशुपालनसमेत गर्नुभएका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ । तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

युवा अभावमा धान काट्न समस्या : तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित हुनुहुन्छ । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उहाँ बताउनुहुन्छ ।

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उहाँको भनाइ छ । सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गर्नुभयो । “अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उहाँले भन्नुभयो ।

धान रोपाइँको क्षेत्रफल घट्यो : तनहुँमा बाह्र हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ । तनहुँमा यस वर्ष करीब दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ घटेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लामा कृषिकर्म गर्ने युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारी तथा बसाइसराइजस्ता कारणले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाँझिने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ ।

तनहुँको तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेफाँटलगायतका क्षेत्रहरु धानखेतीका लागि उपयुक्त फाँटका रूपमा लिइन्छ । यहाँका कृषकले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् ।  रासस






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    लोकसेवाले माग्यो १०९६ अधिकृत

    साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

    नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस