विदेशबाट फर्केका शम्शेरको निश्कर्ष- श्रम गरे नेपालको खेतबारीमै सुन फल्छ !


भीमदत्तनगर १४,कार्तिक | वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किनुभयो । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महीनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर आम्दानी गरिरहेका छन् ।

“विदेशको काम र दुःखभन्दा त आफ्नै खेतबारीमा काम गर्नु लाभदायक छ ।” धामीले रासससित भन्नुभयो, “घर परिवारसँगै रहेर गाउँघरमै काम गर्नुको मज्जा नै बेग्लै छ ।” लामो समय आफ्ना अभिभावक गाउँमा केराखेतीमा होमिएको विगत सुनाउँदै धामीले पछिल्लो समय चार बिघा खेतमा फलफूल खेती गरिरहेको जानकारी दिनुभयो । “बुवा÷बाजेले शुरुमा केराखेती गर्नुभयो”, उहाँले भन्नुभयो, “नयाँ खेती गर्ने सिलसिलामा केही वर्षयता फलफूल खेती गर्दैछु ।” आँप, लिची र कटहर खेती गर्दै आउनुभएका धामीले जुम्लामा पनि स्याउखेती गर्न १० रोपनी जग्गा खरिद गरिसकेको बताउनुभयो ।

“अब माघ, फागुनमा जुम्ला गएर स्याउखेती गर्ने योजना बनाएको छु,” उहाँले भन्नुभयो, “विदेशको श्रम यहाँ गरे खेतबारीमै सुन फल्छ ।” व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका धामीले तीन पुस्ता नै नगदे बालीमा लागेको बताउनुभयो । यहाँ उत्पादन हुने गरेको फलफूल भीमदत्तनगर, अत्तरिया र धनगढीलगायतका बजारमा खपत हुने गरेको छ । “हामीले उत्पादन गरेको फलफूल ठेकेदारमार्फत बिक्री वितरण गर्छौँ,” उहाँले भन्नुभयो, “अहिले दुई वर्षका लागि रु आठ लाखमा ठेक्का दिएका छौँ ।” बेलाबखत कृषि कार्यालयबाट हुने गरेका प्राविधिक तालीमसमेत लिएका धामीले आफ्नो पुरै समय बगैँचामा खर्च हुने गरेको बताउनुभयो ।

“पानी हाल्नेदेखि फल आएका बेला औषधि छर्किने काम आफँै गर्छु,” उहाँले भन्नु्भयो, “यहाँ थोरै परिश्रममा धेरै कमाई गर्न सकिन्छ ।” फलफूलसँगै बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने नर्सरी सञ्चालनको समेत तयारीमा रहनुभएका फलफूल कृषक धामीले कृषिलाई नै पेशा बनाएर जीविका चलाउने बताउनुभयो । “सरकारले दिने अनुदान रकम हामीजस्ता युवा किसानलाई दिए व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुन्थ्यो,” उहाँले भन्नुभयो, ‘कृषिमा लाग्न प्रोत्साहन गर्न पनि युवा कृषकलाई अनुदान दिनु आवश्यक छ ।” रासस






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस