डलर तान्दै नेपाली छुर्पी

ताप्लेजुङ ३,कार्तिक  पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बड्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ । पहिला कोसेलीको रुपमा मानिसले चपाउने छुर्पी अहिले विदेशी बजारमा कुकुरको आहारा बनेको छ ।

चौंरी गाइ र गाइको दुधबाट बनाइने छुर्पी आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा ८० करोड ३ लाख २४ हजारको निर्यात भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । ५ लाख ३९ हजार २ सय ८० किलो बाहिरिँदा नेपाललाई यती आम्दानी भएको हो । अघिल्लो वर्षको तुलनामा भने यो झण्डै दोब्बरले बढी हो । अघिल्लो आर्थिक वर्षको १२ महिनामा ५२ करोड निर्यात भएको थियो । आजको कान्तिपुरमा समाचार रहेको छ |

छुर्पीकालागि अहिलेसम्मको सबैभन्दा ठुलो बजार अमेरिका भएको छ । अमेरिकाले ७२ करोड ६० लाख ९४ हजारको खपत गरेको छ । कुकुरको खाद्यान्नकालागि लगिएको छ । यो प्रयोजनकालागि इलाममा त प्रशोधन गर्ने केन्द्रनै खुलेका छन । इलाममा उत्पादन हुने छुर्पी काठमाडौंमा प्रशोधन गरिन्छ र विदेश निर्यात गरिन्छ । किसानले ४५ दिनसम्म लगाएर तयार पार्ने छुर्पी प्रशोधनकालागि काठमाडौंमा थप छ महिना राखिन्छ ।

अमेरिकापछिको बजार क्यानडा हो । क्यानडाले ३ करोड ६९ लाख ९१ हजार मूल्य बराबरको २६ हजार किलो छुर्पी लगेको छ । विदेश निर्यात भएको मध्ये सबैभन्दा कम लैजाने मूलुकमा इजरायल परेको छ । यहा १० किलो मात्रै निर्यात भएको छ । ब्यवसायीक नभएर यो त्यहा रहेका नेपालीले कोसेलीको रुपमा लगेका हुन । २४ हजार ९ सय ५९ रुपैंयाको छुर्पी इजरायल गएको तथ्यांकमा छ । पछिल्लो बर्ष हङकङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिंगापुर, ताइवान, थाइल्याण्ड, युएइ, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसिया निर्यात भएको छ ।

कोरियामा १ करोड ३१ लाखको १० हजार ४६ किलो निर्यात भएको छ भने ताइवानमा ६ हजार ७३, भारतमा २ हजार ७ सय, जापानमा २ हजार ७ सय १२, हङकङमा १ हजार १ सय ८१, सिंगापुरमा ९ सय १८ किलो निर्यात भएको छ ।

यसरी बनाइन्छ घिउरहित छुर्पी

हिमाली क्षेत्रमाचौंरी विहान र बेलुका गरी दिनमा दुई पटक दुहिन्छ । दुधलाइ सफा भाँडोमा जम्मा पारिन्छ । भएसम्म त्यसलाइ नजिकको खोलाकिनारमा लगेर राखिन्छ । भाँडो अड्याउनकालागि वरिपरि दह बनाइएको हुन्छ । दहको दाँयाबाँयाबाट पानी भने बहिरहेको हुनुपर्छ ।

सामान्यतया चौंरीका गोठहरु खोला किनारको आसपासमा राखिएको हुन्छ । त्यसैले सकेसम्म दुधको भाँडो नदी किनारमा सुरक्षित वनाएर राखिन्छ । त्यो सम्भव नभए पानी बहने ठाउँ हेरेर दह बनाइन्छ र त्यसमा राखिन्छ । त्योपनि नभए चिसो हुने ठाउँ पहिचान गरी डाँडामा राखिन्छ । दुधलाइ चिस्याउन यसरी राखिएको हो । चिस्याएको दुधमा राम्ररी फिंज जम्छ । बिहान राखेको बेलुका र बेलुका राखेको दुध भाँडैंसँग गोठमा लगिन्छ । डाडुले यस्को घिउको भाग (जस्लाई स्थानिय भाषामा फिंज भनिन्छ) निकालेर टोक्तोङ (मोही पार्ने भाँडो) मा लगाएर पानुएपर्छ । घिउ बाहेकको दुधलाइ तताएर मनतातो बनाइन्छ । टोक्तोङमा पारेर घिउ र दुधको मात्रा फेरी छुट्याइन्छ ।

घिउ छुट्टिएको दुधलाइ ठुलो भाँडोमा हालेर उमालिन्छ । उम्लिएपछि यस्लाइ फटाउन मात्रा मिलाएर कागतीको रस (चुक) हालिन्छ । फाटेर डल्ला डल्ला भएपछि तात्तातै सफा जुटको बोरामा पोको पार्नुपर्छ । त्यो बोरालाइ काठ र त्यसमाथी ढुङगा राखेर थिच्नुपर्छ ।

यसरी थिचेको ४/५ घण्टामा चेप्टो हुन्छ । त्यसपछि बोराबाट निकालेर लाग्ने चक्कु वा खुकुरीले चोइली बनाइन्छ । प्रत्येक चोइलीको सिरानमा काम्छा (धागो) उन्ने दुलो बनाउनुपर्छ । यस्लाइ धागोले उनेर घरको भारमा सुकाउनुपर्छ । सफा मौषम भएर घाम नलागे घरको बार्दली वा वरिपरी सुकाइन्छ । सुकेपछि छुर्पी बन्छ ।

नरम र कडा बनाउने कती सुकाउने भन्नेमा भरपर्छ । कडा बनाउन केही लामो समय सुकाउनु पर्छ । त्यसपछि भने आवष्यकता अनुसार मान्छेले खान मिल्नेगरी टुक्राटुक्रा बनाइन्छ । बाहिर निर्यातगर्ने टुक्र्याइदैन । सामान्यतया उत्पादकले टुक्रा नपारी चोइलीनै बिक्रि गछर्न । यस्ले ढुवानीमा र प्रयोगमा सहजता हुन्छ । टुक्रा पार्नुपूर्व भने तातोपानीमा भिजाएर नरम बनाउनुपर्छ । पूर्वतिर यस्लाइ सरौताले काट्छन । यो छुर्पीमा छिउको मात्रा हुँदैन । चिल्लो पदार्थ अत्यन्तै न्यून हुन्छ ।

घिउ सहितको छुर्पी
घिउलाई ननिकालीकन पनि छुर्पी बनाइन्छ । बनाउने तरीकापनि फरक छ । दुहेको दुधलाइ सिदै उमालेपछि यस्लाई कागतीको रस (चुक) को मद्धतवाट फटाइन्छ । यस्को चानालाइ सफा कपडा वा सेतो बोरामा लगाएर फल्याक र त्यसमाथी ढुङगाले थिचिन्छ । चार/पाँच घण्टापछि निकालेर चोइली बनाइन्छ । चोइलीलाइ फेरी भाँडामा दुधमा हालेर पकाइन्छ ।

एउटा भाँडोमा कम्तिमा एक घण्टा पकाएपछि निकाल्नु पर्छ । त्यसपछि अलिअलि हावाले भेट्ने खुला ठाउँमा सुकाउनु पर्छ । यो छुर्पी बनाउँदा भने मौषमको अनुकुलता मिल्नुपर्छ । मौषम खुलेको समयमा सेतो बरफ जस्तै हुन्छ । मौषम बिग्रीए कालो पस्छ र बिग्रन्छ । दिनको मौषम हेरेर बनाइने भएकाले ‘दिन बिग्रीए छुर्पी बिग्रन्छ’ भन्ने मान्यता रहेको छ । त्यसैले यो असोज र कार्तिक महिनामामा मात्रै बनाइन्छ । अरु महिनामा भने मौषमको अनुकुलता अनुसार कमै मात्रै बन्छ ।

घिउ ननिकाल्ने भएकाले दुधलाइ चिस्याउनु पर्दैन । तर प्रयोगभने छ महिनासम्ममा गरिसक्नु पर्छ । छ महिनापछि स्वाद विहिन हुन्छ । दुधमा पकाएकाले यस्को स्वाद लामो समय नरहने फक्तालुङ गाउपालिका ७ ओलाङचुङगोलाका ग्यूर्मेछोदा बडा शेर्पा बताउँछन ।

चौंरी गाइको छुर्पी फागुनपछि धेरै

अधिकांस चौंरी गाइहरु फागुनमा ब्याउछन । फागुन देखि मंसिर सम्म छुर्पी बन्छ । लैनुमा धेरै र थाक्ने समयमा कम दुध दिने भएकाले फागुन देखि असोजसम्म धेरै छुर्पी बन्छ । ५ हजार मिटर उचाइको क्षेत्रसम्म पुगेकावेला बनाएको छुर्पीले औषधिको कामपनि गर्ने चौरीपालकको दावी छ । यस्तोबेला

चौंरीगाइले जडिबुटीजन्य घाँस खाएका हुन्छन् । कम उत्पादन भएपनि चौरीगाइ थाक्तै गएको बेला बनेको छुर्पी थप स्वादिलो हुन्छ । साँझ विहान राम्रो दुध दिने एउटा चौंरीको दुधबाट बर्षमा एक ट्रन सम्म छुर्पी बनाउन सकिन्छ । एक साँझ मात्रै दुहुनेवाट एक मन (४० किलो) सम्म बन्छ । घ्यू निकालेको दुधवाट बनेको छुर्पीको खुद्रा मूल्य १२ रुपैंया छ । ननिकालेकाको मूल्य २१ सय रुपैयाँ ।

यसरी सुरुभयो छुर्पी बनाउने प्रचलन

छुर्पी बनाउने प्रचलन तिब्बतवाट आएको हो । तर तिब्बतमा स–सानो मात्रै बनाइन्थ्यो । हातको औंलाको बिच भागबाट निचोरेर (पञ्जाबाट) निस्किएको लाइ बन्यजन्तुको छालामा सुकाइन्थ्यो । पछि नाङलो र मान्द्रोमा सुकाउन थालियो । कपडामा पोको पारेर ठुलो बनाउने प्रचलन नेपालवाट भएको हो । ग्यूर्मेछोदाले बुढापाकाको भनाइ उद्धृत गर्दै जनाए अनुसार पहिला चिसो ढिक्का थिचेर बनाउन खोजियो । तर त्यो नभएपछि तातोलाइ बोरामा हालेर बनाउने प्रयास सफल भयो । नेपालको त्यो विधि तिब्बतलेपनि अवलम्वन गर्यो र त्यसरीनै बनाउन थाल्यो । तराइ क्षेत्रमा सुपारी, मसला खाएजस्तो हिमाली क्षेत्रमा पहिलादेखि कुटुकुटु छुर्पी खाने प्रचलन रहेको थियो । चौरी धपाउन जाँदा होस या सहर पस्दा बुढापाकाले कम्मरमा र केटाकेटीले गोजिमा छुर्पी हालेर हिड्ने गरेका थिए । हिमाली वस्तिमा अहिलेपनि चपाइरहने गरिन्छ ।

छुर्पीको व्यापार
२०४७ सालसम्म प्रतिकिलो एक सय रुपैयाँ रहेको मूल्य क्रमश: वृद्धि भएको हो । पहिला नेपालमा बनेको छुर्पी नेपाली बजारमा मात्रै खपत हुन्थ्यो । अहिले ओलाङचुङगोला, याङमा, लेलेपको खम्बाछेन, पापुङको तोक्पेगोला जस्ता चिनसँग नजिकका बस्तिमा बनेको छुर्पी तिब्बत जान थालेको छ । तिब्बतमा चांैरीलाइ बोकाएर लान सकिने तर नेपालका सदरमुकाम सम्म मान्छेलेनै बोकेर लानुपर्ने भएकाले नेपाली बजारमा कम गएको हो ।






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस