आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

प्रधानमन्त्रीको चीन भ्रमण: विकास र समृद्धिमा चिनियाँ सहयोगलाई जोड्ने अवसर

परदेशी खबर ६ असार २०७५, बुधबार १८:५५ मा प्रकाशित ( ५ साल अघि) १५८ पाठक संख्या

–प्रकाश सिलवाल 
काठमाडौँ, ६ असार । शक्तिशाली वाम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भइरहेको औपचारिक चीन भ्रमणलाई नेपालीहरूले आफ्नो विकास र समृद्धिको यात्रामा चिनियाँ सहयोगलाई जोड्ने अवसरका रुपमा हेरेका छन् ।

बहुआयामिक र ऐतिहासिक सम्बन्धको पृष्ठभूमि बोकेका नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमणको आदान प्रदानका क्रममा नेपालका प्रधानमन्त्री र उच्च पदाधिकारीबाट हरेक वर्षजस्तो औपचारिक भ्रमण हुँदै आएको छ । गत वर्षमात्रै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमण भएको थियो भने २०७२ साल चैतमा प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण भएको थियो ।

नेपालले भारतीय पक्षबाट नाकाबन्दी खेपिरहेको समयमा अघिल्लो प्रधानमन्त्रीत्वकालमा ओलीले चीन भ्रमण गरेर व्यापार र पारवहन सम्झौता गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । नेपाललाई कुनै एक छिमेकीको व्यापार र यातायात सञ्जालमा प्राथमिकता दिने परम्परालाई तोड्ने उक्त सम्झौताको कार्यान्वयनमा यसबीचका सरकारका पालामा पर्या्प्त गृहकार्य नभएको सन्दर्भमा नेपालको संविधान, २०७२ जारीपछिको पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट निर्वाचिन भई दुई ठूला कम्युनिष्ट पार्टीको एकतासहित झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले यो भ्रमण गर्नुले उत्सुकता र चासो देखिएको छ । नेपालका छिमेकीहरू भारत र चीनलाई सन्तुलनमा राखेर नेपालको विकास र समृद्धिमा जोड्ने प्रधानमन्त्री ओलीको प्रयास व्यवहारतः सार्थक भएमा नेपालीका लागि लाभदायक हुने विश्लेषकहरू बताउँछन् ।

प्रधानमन्त्री ओली र चीनका समकक्षीस्तरको औपाचारिक वार्ता र सहमति हुन बाँकी रहेपनि भ्रमणको दोस्रो दिन राष्ट्रपति सि जिनपिङसँगको शिष्टाचार भेट गरी उहाँलाई नेपालको औपचारिक भ्रमणको निम्तो दिनु, दुवै देशका व्यावसायिक समुदायलाई सम्बोधन र निजी क्षेत्रका व्यवसायीसँग उर्जा, सिमेन्टलगायतका क्षेत्रमा भएका सम्झौताले आशावादी बनाएको छ । दुई पक्षीयबीच हुने वार्तामा दुई वर्षअघि भएको रेलमार्ग निर्माणको सम्झौताको कार्यान्वयनका बारेमा छलफल हुने तयारीले पनि आशा जगाएको हो ।

नेपाल र चीनबीचको सम्बन्ध प्राचीनकालदेखि नै रहीआएको छ । यो सम्बन्ध सरकारबीचको मात्र नभई जनस्तरमा पनि छ । चीन मामिलाका जानकार वरिष्ठ पत्रकार किशोर श्रेष्ठ प्रधानमन्त्री ओलीको यो भ्रमण आपसी विश्वास वृद्धि गर्ने राम्रो मौका भएको बताउँदै भन्नुहुन्छ, ‘अघिल्लो भ्रमणमा सहकार्य र समृद्धिको यात्रामा पहिलो बिउ रोपिएको थियो, त्यसमा फल लाग्न पाएन । अहिले स्थायी सरकारभएकाले चीनियाँ पक्षले खोजेजस्तै ढुक्कको स्थिति छ ।’ उहाँले चीन अफ्रिकी मुलुकमा समेत सहकार्य गरिरहेको अवस्थामा नजिकको छिमेकीलाई हेलाँ गर्नुपर्ने कुनै कारण नरहेको र चीनले नेपालमा केरुङबाट रेल ल्याउँछु भन्दा भारतले पनि रक्सौलबाट रेलमार्ग जोड्ने तत्परता देखाएबाट दूवै छिमेकीको प्रतिस्पर्धी र केही गरौँ भन्ने भावनाबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब कागजी सम्झौता होइन, व्यावहारिकरुपमा काम गर्ने समय आएको छ, त्यसमा प्रधानमन्त्री ओलीको भ्रमणले आशा जगाएको छ ।”

अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपालको राजनीति अस्थिरताबाट स्थिरतातर्फ जान खोजेको र स्थिरतामार्फत समृद्धिको आशा देखिएकाले चीनसँगको सम्बन्ध सुधार्ने प्रयासमा प्रधानमन्त्री ओलीको भ्रमण आशालाग्दो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “अरु कुरा व्यवहारमा हेर्न बाँकी तर चीनलाई नेपालको समृद्धिमा जोड्न सक्ने अनि भारतलाई पनि विश्वासमा लिएर दीगो विकासमा जाने राम्रो अवसर हो ।”

पाँचौ शताब्दीमा नेपाली भिक्षु बुद्ध भद्र अध्ययनका क्रममा गएदेखि जनस्तरको सम्बन्ध विकास भएको हो । सातौँ शताब्दीमा राजकुमारी भृकुटीको तिब्बतका राजासँग भएको विवाह, १३ औँ शताब्दीमा कलाकार अरनिको भ्रमण हुँदै सन् १९५५ देखि औपचारिक कूटनीतिक सम्बन्ध दुई देशका सम्बन्धका केही आयाम हुन् । सन् २०१२, जनवरीमा चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणपछि नेपालमा चीनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण नभएको स्थितिमा पनि प्रधानमन्त्री ओलीको भ्रमणलले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने धारणा व्यक्त गरेर दुवै देशबाट साथ लिने संकेत गरिसक्नुभएको छ । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताउनुभएको थियो ।

“अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोे भ्रमण फलदायी हुनेछ । नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ र गहिराइमा पुर्‍याउनेछ ।” आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु ।” प्रधानमन्त्री ओलीको यो भनाईबाट भ्रमणले आपसी विश्वास बढाई सहकार्य बढाउने सहज अपेक्षा गर्न सकिन्छ । –रासस