आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नवज्योति नेपाली साहित्य समाजको पुरस्कार वितरण तथा रचना वाचन कार्यक्रम हुँदै

परदेशी खबर २२ जेष्ठ २०७५, मंगलवार १८:०५ मा प्रकाशित ( ५ साल अघि) ७०७ पाठक संख्या

परदेशी खबर / २२,जेठ कुवेत |नेपाली नवज्योति नेपाली साहित्य समाजले आयोजना गरेको खुल्ला गजल प्रतियोगिता २०७५को पुरस्कार वितरण तथा रचना वाचन कार्यक्रम करुण थापाको प्रमुख आतिथ्यमा हुने भएको छ |

 

नेपाली साहित्यको उन्नयन एवम् श्रीव्रिधि गर्ने उद्देश्यको साथै बिशुद्ध सामाजिक सेवार्थ स्थापित यस नवज्याेति नेपाली साहित्य समाजले नेपाली गजलको स्तराेन्नति गर्ने उद्देश्यका साथ नयाँ बर्ष काे अवसर पारेर अायाेजना गरेकाे “खुल्ला राष्ट्रिय गजल प्रतियाेगिता २०७५” सम्पन्न गरेको थियो |

 

अनलाइन मार्फत नतिजा सार्वाजनिक गरिसके पनि प्रत्क्षय रुपमा पुरस्कार वितरण गर्न तथा रचना वाचन गर्नको लागि यहि जेष्ठ २६ गते कार्यक्रम गर्न लागिएको समाजका महासचिव प्रिन्स याख्खाले जानकारी दिएको छ | २०७४ फाल्गुन २५ देखि २०७४ चैत्र २५ भित्रमा प्राप्त भएको गजललाई उत्कृष्ट दश सार्वाजनिक  गरेर वैशाख १७ गते नजिता सार्वाजनिक गरेको थियो | गजल प्रतियोगिताको निर्णायकहरु गजलकार तथा साहित्यकार आवाज शर्मा,रवि प्रान्जल र करुण थापा रहेका थिए |

 

गजल प्रतियोगितामा  भाग लिएर प्रकाश खनाल अर्घाखाँचीले प्रथम स्थान हासिल गरेको छ | प्रथम हुनेले पुरस्कार पाच हजार नेपाली रुपैयाको साथ प्रमाण पत्र पाउने छन् | द्वितीय, तृतीय सान्त्वना २ जनालाई क्रमस: ३०००,२००० र १००० को साथ प्रमाण पत्र रहेको छ |

 

कार्यक्रम हुने स्थान र विवरण

मिति : २०७५ ज्येष्ठ २६ गते शनिवार।

स्थान :ढुकढुकी /रोधीघर रेष्टुरेन्ट एण्ड बार
नारायण गोपाल चौक, चक्रपथ (पाकिस्तानी एम्बेस्सी छेउ)
समय: बिहान ११ बजे

 

 

प्रतियोगितामा पुरस्कार पाउने गजलहरु

१.प्रथम

गजल

हर चोट मजबुतीको आधार बन्न सक्छ।
घनको कुटाइले लोहा हतियार बन्न सक्छ।

संसारको नजरमा एउटा मनुष्य हो ऊ,
तर ऊ कसैको निम्ति संसार बन्न सक्छ।

लोहासँगै खियाको संगत देखेर जान्नू,
औधी नजिकको साथी गद्दार बन्न सक्छ।

जलझैं रहेछ जीवन हुँदैन रूप निश्चित,
जस्तो घडा छ त्यस्तै आकार बन्न सक्छ।

काँडाले घोच्नुपर्छ काँडा बिझेर झिक्दा,
अर्को दुखाइ दुखाइको उपचार बन्न सक्छ।

प्रकाश खनाल
छत्रदेव ४ केरूङ्गा
अर्घाखाँची।
सम्पर्क नं: ९८४७२३६८०५

२.द्वितिय

गजल कोड १६०

बाटो दिँदै दिएनन् खुट्टा दिनेहरूले
भुइँमा नटेक्नु भन्छन् जुत्ता दिनेहरूले

धन्दा छ ओत बेच्ने चुपचाप ढाड सेक्छन्
हल्ला गरेर सस्तो वर्षा दिनेहरूले

सम्मान हो कि फन्दा थाहा भएन केही
गर्दनको नाप लिन्छन् माला दिनेहरूले

पतवार बन्न सक्ने दम राख पाखुरामा
आँधी पठाउन सक्छन् डुंगा दिनेहरूले

काफी छ एक हर्कत वरदान श्राप बन्न
अमिलो नपोख्नु पर्थ्यो आँखा दिनेहरूले

राम कँडेल अधीश
काठेखोला गाउँ पालिका ( ६ )
बाग्लुङ
हाल दक्षिण कोरिया ।

३.तृतीय

गजल

दुरुस्त देखिन्छ रूप हेर्दा विचार पो भिन्न भिन्न रैछ!!
मनुष्यको आवरण नियाली चरित्र बुझ्नै सकिन्न रैछ!!

बढ्यो भनेनि बतासको डर फल्यो भनेनि झटारोको डर!
फुलेर जाओस् नभन्नु आमा बरू नफुल्दा चुडिन्न रैछ!!

मलाई लाग्थ्यो म संग हिड्ने अभिन्न साथी छ यो सफर मा
पछारिए पछि पो चाल पाएँ सँगै हिडेको उछिन्न रैछ!!

कसैले सन्तानको रहरले कसैले धनको निमित्त पुज्छन्!
यहाँ कसैबाट देउतानि निस्वार्थ मनले ढोगिन्न रैछ !!

पस्यो अविश्वासको डढेलो छ द्वन्द्व सम्बन्ध भित्रभित्रै!
जलेर छाती भयो खरानी चिराग दिलको देखिन्न रैछ!!

अखिल धमला “अनुराग”
खैरहनी ,चितवन

४.सान्त्वना

गजल

चङ्गाले जब हुरीको सहयोग पाउँदैन।
धागोले मात्र पक्कै चङ्गा उडाउँदैन।

सर्वत्र बोल्ने मान्छे पीठो बेचेर हिड्ला,
जो मौन बस्छ उसले चामल बिकाउँदैन।

संसार जित्छु मैले भन्दैछ जो छ एक्लो,
बिर्से छ एक हातले ताली बजाउँदैन।

हर बस्तुको सुहाउने आफ्नै सतह हुदो हो,
शिरमाथि राख्न खोजे जुत्ता सुहाउँदैन।

के हो महत्त्व भन्ने जानौं समय अगावै,
खोला समय र अवसर फर्केर आउँदैन।

गन्तव्य भुल्छ मान्छे जान्ने भएर होला,
बरु धागोले सियोको बाटो बिराउँदैन।

उमेश चन्द
रुकुम

५. सान्त्वना

गजल

फूलको जवाफ पनि ढुङ्गा भएको छ
क्या जमाना थियो क्या जमाना भएको छ

बुहारी ज्युदै जलाएको खबर नछाप्नु
छोरिको बिहे गर्ने बेला भएको छ

हिटलरको देशमा झन् के भएको होला?
बुद्धको देशमा त हिंसा भएको छ

मन्दिर गएको मान्छे ढुङ्गा भएर फर्कियो
ढुङ्गा मन्दिर गएर देवता भएको छ

हिजो एकअर्का बिना नबाँच्ने कसम खायौं
आज दुबैको ज्यान जाने खतरा भएको छ

नकुल पौडेल
देवदह-२, रुपन्देही
हाल युएई