लन्डन २४,बैशाख| वर्षेनी करिब ५० लाख पर्यटक पुग्ने लन्डनको ट्राफलगर स्क्वायर यहाँको प्रमुख दश आकर्षणभित्र छ । घुमफिर बाहेक अरु बेला हत्तपत्त नेपालीको पहुँच नरहने उक्त पर्यटकीयस्थल शनिबार साँझ नेपालमय बन्यो ।
त्यसको प्रत्यक्ष साक्षी थिए बेलायतमा बसोबास गर्ने नेपाली, विदेशी कुटनीतिज्ञ र रमिता हेर्न छिरेका असंख्य पर्यटक।
वरपर रंगी बिरंगी ध्वजा पताका र नेपालको राष्ट्रिय झण्डा फहराइरहेका छन्। श्रृंगारपटार देख्दा लाग्थ्यो बौद्ध गुम्बातिर धार्मिक महोत्सव जारी छ। ‘ओम मानी…’ को ध्वनीले धेरैको ध्यान खिचेको छ। राष्ट्रिय पोशाकमा सजिएका महिला र सज्जनहरुसँग सेल्फी खिच्ने विदेशी पनि त्यहीँ भेटिएका थिए।
बुद्ध जयन्ती समारोहले यी सबै माहोल जुटिरहेको थियो। बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायत आदि संस्थाको सहकार्यमा लन्डनको मुटुमा बुद्ध जयन्ती मनाइएको हो। कार्यक्रमलाई बेलायतका ८० भन्दा बढि नेपाली संघसंस्थाले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका थिए।
बुद्ध जन्मस्थलबारेका भ्रम चिर्न, पर्यटन प्रवद्र्धन र नेपाली कलासंस्कृति झल्काउन कार्यक्रम गरिएको आयोजकले बताए। बुद्ध जन्मेको ठाउँबारे अल्झिरहन वा यसलाई प्रष्टयाइरहन आवश्यक नभएको बताउने पनि थिए कार्यक्रममा।
साँझ ६ देखि ९ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरियो भने धर्मगुरुहरुले बुद्ध सन्देशबारे प्रवचन दिए। विभिन्न नेपाली सांस्कृतिक प्रस्तुति र सन्देशमुलक नाटकले कार्यक्रममा बेग्लै रौनकता थपेको थियो।
उक्त अवसरमा पण्डित निलहरि घिमिरे र लामा गुरु धर्म गुरुङबाट धार्मिक मन्त्रोचारणसहित पूजापाठ गरिएपछि नेपाल तथा बेलायतका राष्ट्रिय गान बजाइएको थियो।
बेलायती सांसद मिसेल डोनेलनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलायती सांसद सिमा मल्होत्रा, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेलायतका लागि कुवेती राजदूत खालिद अब्दुल्लाजिज अल दुवाइसान, म्यानमारका राजदूत यू क्याउ ज्वार मिन, लाओस राजदूत सायाकाने सिसोउभोङ, साइप्रसका राजदूत लगायत स्थानीय मेयर, काउन्सिलरहरु अन्य विशिष्ट व्यक्तित्व सहभागी थिए।
बेलायतका लागि नेपाली राजदूत सुवेदीले स्वागत गर्दै बुद्धको जन्मस्थल लुम्बिनी भएकोबारे प्रष्टिकरण दिइरहन आवश्यक नभएको बताए। उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वमाझ शान्ति, सद्भाव, अहिंसा, सहिष्णुता र सहअस्तित्वको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्न मित्र राष्ट्रहरुलाई आग्रह समेत गरे।
समारोहमा प्रमुख अतिथी सांसद डोनेलन, सांसद सिमा मलहोत्रा, बेलायतका लागि म्यानमार, लाओसर कुवेतका राजदूत, लन्डन बरो अफ बार्नेट काउन्सिलका मेयर ब्रायन सालिङगर, लुइसम काउन्सिलका चियर ओबाजिमी लगायतले शुभकामना मन्तव्य दिँदै बुद्धको शान्ति सन्देशको सान्दर्भिकता दर्शाएका थिए।
मुख्य आयोजक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले बुद्ध सन्देश विश्वमाझ लैजान र नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गरिएको बताए।
गत वर्ष पनि ट्राफलगर स्क्वायर र पहिलो पटक बेलायती संसद भवन अगाडि बुद्ध जयन्ती मनाइएको थियो।