प्रेम कटवाल “जिजीविषा”को म श्रमिक हूँ (कविता)

म श्रमिक हूँ 

बेफिक्री चयन काटिरहेछन् कयौं मालिकहरू
मेरा श्रमका एक-एक दानाले निर्मित भव्य महलहरूमा।
मासुम यी हत्केलाहरुले
हजारौं ठेलाहरू उमारिसक्दा पनि अझै उस्तै छ,
मेरो ढुसी परेको अँध्यारो झुपडी,
झलमल्ल तारामण्डल देखिने खरको छानो,
भत्किन साँझ-बिहानको साइत कुरिरहेको भित्तो,अनि,
बर्षौदेखि धमीराहरूको टोकाइले जिर्ण भएका खाँबा र बलाहरू।

बैंशमा उक्लिएकै हूँ नबिसाईकन दु:खको सगरमाथा
खोलेकै हूँ पसिनाहरुको कारखानाहरु,
र फलाएको हूँ मालिकहरूका कैयन् स्याबासीहरू।
मैले कहिल्यै भनिन पुष माघको हिँऊ र तुषारो
न त भनें भदौको उखर्माउलो गर्मी नै,

थिएन विश्रामको एकै पल पनि,
म लगातार खटिरहन्थेँ स्वचालित मसिन जस्तै
बिहान ,दिँउसो, बेलुकी र उस्तै परे रात ढालेर मध्यरातसम्म।

कतै कुनामा अल्झेको एक पला समय चोरेर
मैले पूर्खाका ईतिहासका पानाहरू पल्टाएर हेरें
बिना मूल्य एक मानो सामलको भरमा
सिंगै जीवन सुम्पिएकी हुन् मेरी आमाले,
कहिल्यै न्यानो महशुस गर्न पाएन उनको अर्धनग्न शरीरले,
कहिल्यै थकाइ भन्न पाएनन् उनका कोमल पाउहरूले,
र,कहिल्यै आरामको स्वास फेर्न पाएनन् उनका प्यासी सुस्केराहरुले
उफ्..
फटाएकै हुन् हरेक बर्ष मेरा बाले
कयौ हल गोरु र हला-जुवाहरू।

मैले छोडेर आएको हूँ
मेरा रगताम्य पैतालाका आला डोबहरू
सयौँ थान सपनाहरूलाई बाध्यताको चितामा जलाएर
मेरो हलो, कोदालो,गैंती र ह्याम्बरहरू द्वार कुनामा बिसाएर
भावी सन्ततिको लागि थोरै खुशी किन्न,
हरियो राहदानीको हरियै लहरामा बेरिएर म बद्लिएको हूँ
एउटा श्रमिकबाट विस्तारै विस्तारै सिमा पारीको अर्को श्रमिक भएर!

बिडम्बना~
देख्दै छु हेरक दिन
म जस्तै हजारौं श्रमिकहरू पनि क्षितिज काट्दैछन
संविधानमा श्रमिकहरूको आवाज लेखिएको पानाको
यौटा विशाल जहाज बनाएर
यतै घाम र बालुवाहरुको बस्ति तिर….।

प्रेम कटवाल “जिजीविषा”






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • अफ्रिकामा फेरि इबोलाकाे संक्रमण, महामारीको त्रास
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस