आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कोरिया सपनाको नमिठो ऐंठन : आफ्नो देश कहिले बनाउने ?

परदेशी खबर ११ चैत्र २०७४, आईतवार २०:४५ मा प्रकाशित ( ६ साल अघि) ४३३ पाठक संख्या

 ईश्वर अर्याल

 

 

क्याम्पस पढ्ने, बिभिन्न पेशा र व्यवसायमा लागेकाहरू, सरकारी जागिर खाएकाहरू र क्याम्पस पढाउनेहरू पनि आजकल कोरियन भाषा पढेर कोरिया जान लालायित हुने प्रबृत्तिको बिकास भैरहेको आजको नेपालको अवस्थाले नेपालको भविष्यलाई त्यति राम्रो बाटोतर्फ डोर्याएको छैन । राम्रो रोजगारीको गन्तव्य मानिएकोले कोरिया आजकल मध्यमवर्गीय परिवारका युवाहरूको लागि मिठो सपना भैरहेको छ ।

नेपालको हालको राजनीतिक र अन्य परिस्थितिले असन्तुष्ट युवाहरूको संख्यालाई यति बढाइरहेको छ कि त्यसले जिन्दगीमा एकपटक विदेश गएर कमाउनै पर्ने भन्ने मान्यताको सिर्जना गरिरहेको छ । खाडी मुलुक, कोरिया, इजरायल, युरोप र अमेरिकी देशहरूमा भासिने नेपाली युवाहरूले आफ्नो भर्भराउँदो बैंस उतै ‘खेर फालेर’ बुढेशकालमा खाने र शौच गर्ने भूमिको रुपमा नेपाललाई लिनुपर्ने परिस्थितिको सिर्जना हुनु भनेको राज्य नाकाम हुनु त हुँदै हो त्यो बाहेक, अहिले ‘पिसाबको न्यानो’को रुपमा पाईरहेको रेमिट्यान्समा भुलेर देशको पूर्वाधार र भौतिक संरचनाको विकासलाई नकार्नु पनि हो ।

मानवीय असन्तुष्टि भन्ने कुरा ‘क्यान्डी क्रस’को लेवल जस्तो हो । कुर्सीमा आड लगाएर उस्तै रंग भएका क्यान्डी हरूलाई ठोक्याउँदा आउने आवाज र ग्राफिक दृश्यले जति सन्तुष्टि दिन्छ, लेवल नकाट्ने हो भने मान्छेलाई उस्तै तरिकाले बेचैन बनाइदिन्छ । अनि अफिसमा, घरमा, बाटोमा, ससुरालीमा, ट्वाइलेटमा जहाँ जाँदा पनि त्यो फोन निकाल्यो, लेवल कटाउन प्रयास गर्याे । काट्यो भने अनुहारमा छुट्टै प्रकारको कान्ति आउँछ । तर कति तह कटायो भने क्यान्डी क्रसको च्याप्टर नै समाप्त हुन्छ ? यसको जवाफ छैन । यसलाई बनाउनेले तह थापिरहन्छ र खेल्ने मान्छे कहिले हँसिलो मुख लिएर खेल्छ, कहिले रुन्चे मुख लिएर खेल्छ, तर खेल्न छोड्दैन । आवश्यकता पूरा गर्नुपर्ने अवस्थाबाट चिप्लिएर कहिल्यै पुरा नहुने सन्तुष्टिलाई सम्बोधन गर्न हिंडेका धेरै नेपालीहरू विश्वभर यसरी नै भौंतारिइरहेका छन् र यो क्रम बढ्दो छ ।

कोरियामा बिदेशी कामदार मगाएर काम गर्ने गराउने उद्यमीहरूले कामदारहरूबाट पूर्ण क्षमतामा काम लिने गर्दछन्, एक सेकेन्डको पनि सदुपयोग गरिएको हुन्छ । त्यहि कारणले कोरियामा कृषि काम गर्ने एकजनाले डेढ लाख तलब पाउँछ र पनि उसले काम गर्ने कृषि फार्म घाटामा गएको हुँदैन

अनियन्त्रित पूँजीवादले सिर्जना गर्ने मानवीय आवश्यकता र सन्तुष्टिको तह सधैं बढिरहेको हुन्छ । यसले पैसाको तुलना गर्न सिकाउँछ, शारीरिक र मानसिक क्षमताको मूल्य निर्धारण गर्न सिकाउँदैन । हामी त्यसैको शिकार बनिरहेका छाैं, जति आर्थिक श्रोत छ त्यसलाई आफ्नो क्षमता प्रयोग गरेर त्यसको अधिकतम सदुपयोग गर्ने कुरामा हामी चुकिरहेका छौं ।

कुलमान घिसिङले नेपाल बिद्युत प्राधिकरणमा इन्ट्री मारेपछि घटेको लोडसेडिंगले साना तथा मझौला ब्यापारीहरूको उत्पादन मूल्य कति घटाएको छ भन्ने कुरा कोरिया, जापान या खाडी बसेर देखिँदैन । धरासायी भएका कतिपय उद्यमीहरू माथि उठेका छन् । तर देश भित्रै रोजगारीको सिर्जना गर्न लोडसेडिंग हट्नु मात्र पर्याप्त होइन अन्य धेरै बिषयहरूमा सुधारको खाँचो छ । के–के बिषयमा सुधार गर्नुपर्छ भन्ने कुरा पनि विदेश बसेर देखिँदैन ।

केही दिन अगाडि कलेज भर्नाको लाइन भन्दा ग्लोबल आइएमईको बैंक अगाडी लागेको लाइन लामो थियो । राति देखि नै आङमा एउटा झोला, एउटा हातमा ओढ्ने ओछ्याउने र अर्काे हातमा पानीको बोत्तल लिएर लाइन लगाउनेहरूको भीड देखिन्थ्यो । १२ घण्टा भन्दा बढी लाइनमा बसेर भौचर भर्नुपर्ने अवस्थाको सिर्जना हुनु कहालीलाग्दो संकेत हो । करिब पाँच हजार कामदार माग भएकोमा साठी हजारले फारम जान्छन् । यसले देशको अवस्थाको दह्रो प्रतिनिधित्व गर्दछ ।

कोरियामै काम गरिरहेका केही साथीहरूसँग पंक्तिकारको सामाजिक संजालमा कहिले कहिले कुरा हुने गर्छ । प्रायः सबैको भनाइ एउटै हुन्छ, ‘भोटेहरू आफू पनि काममा पुरै खट्छन, हामीलाई पनि खटाउँछन् । दिनभर घोप्टि परेर गर्नुपर्ने काममा ढाड सिधा गर्ने समय पाइँदैन । मेसिनको रफ्तारमा काम गर्नुपर्छ ।’ अर्काे अर्थमा भन्नुपर्दा कोरियामा बिदेशी कामदार मगाएर काम गर्ने गराउने उद्यमीहरूले कामदारहरूबाट पूर्ण क्षमतामा काम लिने गर्दछन्, एक सेकेन्डको पनि सदुपयोग गरिएको हुन्छ । त्यहि कारणले कोरियामा कृषि काम गर्ने एकजनाले डेढ लाख तलब पाउँछ र पनि उसले काम गर्ने कृषि फार्म घाटामा गएको हुँदैन ।

तर नेपालको परिस्थिति फरक छ । पंक्तिकारको रामेश्वर नामका एकजना साथि छन्, उनलाई नेपालमै केही गर्ने जाँगर चलेर नवलपरासीमा तीन बर्षदेखि करिब ४ बिघा जग्गा भाडामा लिएर माछा र बंगुर पालन गरिरहेका थिए । उनी भन्दै थिए, ‘घाटामा गयो मैले धान्न सकिन ।’ अहिले कोरियन भाषा पढ्दै छु । प्रश्न उठ्छ, आखिर त्यहाँ त्यस्तो के छ जसले फाइदै फाईदा दिन्छ र नेपालमा त्यस्तो के छ, जसले घाटा बाहेक केहि दिन्न ? यसको उत्तर पनि छ, नेपालमा काम गर्नेहरूले पूर्ण क्षमतामा आफ्नो शारीरिक र मानसिक शक्तिको प्रयोग गर्दैनन् । तब त ५० वर्ष अघि उस्तै आर्थिक अवस्था भएका कोरिया र नेपालको अहिले कुनै कुरामा तुलना हुन सक्दैन ।

कोरियाको कुरा गर्दा त्यहाँ बढिरहेको आत्महत्याको प्रसंग नउठाए आलेख अपुरो हुन्छ । २००८ देखि हालसम्म इपिएस पास गरेर कोरिया पुगेका नेपालीहरूमध्ये १८ जना जातिले आत्महत्या गरिसकेका छन । कोरियन भाषा परीक्षा पास गर्नु मात्र कोरियामा काम गर्न योग्य हुनु होइन । त्यसको लागि पहिलो शर्त जस्तो सुकै कामको बोझ उठाउन आफू मानसिक रुपमा तयार हुनु हो । नेपालमा काम गर्ने बानी नभएका तर त्यहाँ पुगेर अति संबेदनशील क्षेत्रमा काम गर्नुपर्ने र भाषा संस्कृति, खानपान आफू सुहाउँदो नहुँने, सहकर्मी र रोजगारदाताको दुव्र्यवहारका कारणले आत्महत्याको श्रङ्खला बढेको हुन सक्ने भनेर बिभिन्न अनुसन्धानका निष्कर्षहरू आउने गरेका छन् ।

कोरियन भाषा परीक्षा पास भैसकेका युवालाई धेरै जसो अविभावकहरूले आफ्नो छोरी दिन किन्चित पनि अप्ठेरो मान्दैनन् । नेपालमा एउटा मान्यता नै स्थापित भैसक्यो, ‘विदेश जानेले छोरी राम्रोसँग पाल्न सक्छ’ भन्ने । तर त्यसको पछाडी लुकेको भयंकर सत्यतालाई उजागर गर्नेहरू धेरै कम भेटिन्छन । कोरियन भाषा पास गरिसकेपछि पास गर्नेलाई साथी–भाइ र पारिवारिक सर्कलले माथि माथि उचाल्नु भन्दा बढी उसलाई जस्तो सुकै अवस्थामा पनि काम गर्न सक्ने मानसिकताको अभिबृद्धिको लागि हौसला दिन जरुरी छ । नेपालमा पनि कोरियामा जस्तै कृषि फार्म खोलेर आर्थिक उपार्जन गर्न प्रयास गर्ने धेरै रामेश्वरहरू कोरिया पुगिसकेपछि मानसिक अवासादको शिकार हुँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन । नेपालमा ६ घण्टा काम गर्दा ‘बोर’ मान्नेहरू कोरियामा गएर बाह्र घण्टा काम गर्न सक्दैनन् ।

देश भित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भन्ने कुरा एउटा विकल्पको रुपमा आए पनि एउटा मन्त्री या प्रधानमन्त्रीले मात्र रोजगारीको अवसर सिर्जना गर्न सक्दैन । सक्ने भए भाषण भन्दा पहिला काम हुन्थ्यो

पछिल्लो आंकडा अनुसार कोरियामा करिब ५५ हजार नेपालीहरूले काम गरिरहेका छन् र जसमध्ये ५० हजार जति इपिएस कामदारहरू छन् । उनीहरूको गुनासो सुन्ने र सुझाव दिने निकायहरू कोरियामा छैनन् । रोजगारदाताले जे भन्यो त्यहि मान्नुपर्ने वाध्यता छ । केहीको काम र कमाइ राम्रो देखिए पनि धेरैलाई रोजगारदाताले समयमा तलब नदिने, सरकारले तोकेको ज्याला र सेवासुविधा नदिने, साप्ताहिक विदा र रातो विदा नदिने, खान र बस्नका लागि आवश्यक सामाग्री नदिने, विरामी र चोटपटक लाग्दा उपचार खर्च, बिमा र समय नदिने, चाहेको बेला घरबिदा नदिने, रोजगारस्थान परिवर्तनका लागि स्वीकृति नदिने, न्युनतम ज्यालामा बढि काम लगाउने, अतिरिक्त कामको पैसा कम दिने र काम गर्दा बढी तनाब र गाली दिने लगायतका समस्याहरू भोग्नुपरेको भन्दै कोरियामा काम गर्ने नेपाली कामदारहरूले बेला बेलामा गुनासो गरिरहेका हुन्छन् ।

‘बिकल्प के त ?’ भन्ने प्रश्नको टड्कारो उत्तर पाउन गाह्रो छ । देश भित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भन्ने कुरा एउटा विकल्पको रुपमा आए पनि एउटा मन्त्री या प्रधानमन्त्रीले मात्र रोजगारीको अवसर सिर्जना गर्न सक्दैन । सक्ने भए भाषण भन्दा पहिला काम हुन्थ्यो । यसको लागि विदेश जान खोज्ने युवाहरूले नै सोच्नु पर्ने देखिन्छ । नेपालको अहिलेको बजारमा रोजगारी नै नभएको भने होइन, तर रोजगारीले सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी गरेको छैन । रोजगारीले दैनिक खर्च टार्न मुश्किल भैरहेको छ । यसमा सरकारको तर्फबाट नीतिगत सुधार धेरै गर्नुपर्ने त छ नै । त्यो भन्दा धेरै विदेश जाने कुरालाई प्राथमिकतामा राख्नेहरूले अब स्वदेशमै टिक्न केही गर्ने आँट अवश्य गर्नुपर्छ ।

लोकान्तरबाट साभार