आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

‘लिभिङ टुगेदर’मा समस्या बढ्दो, अनुसन्धान गर्न प्रमाण अभाव

परदेशी खबर ९ चैत्र २०७४, शुक्रबार १९:५३ मा प्रकाशित ( ६ साल अघि) १३५ पाठक संख्या

सुरक्षाकर्मीदेखि, ठेकेदार र कानुन व्यवसायी पनि ‘लिभिङ टुगेदर’मा

‘लिभिङ टुगेदर’मा समस्या बढ्दो, अनुसन्धान गर्न प्रमाण अभाव

मार्च २३,काठमाडौं । धादिङ बेंशीबजारकी २९ वर्षीया निशा थापा (नाम परिवर्तन) पछिल्लो एक महिनादेखि काठमाडौंस्थित विभिन्न न्यायिक निकायमा धाइरहेकी छिन् न्याय माग्दै । तर, गतिलो प्रमाण नहुँदा न्याय नै पाइँदैन कि भन्ने चिन्ता छ उनलाई । कारण, उनी एक संस्थामा काम गर्ने हाकिम तहकै कर्मचारीसँग ७ वर्ष सँगै बसिन्, ‘लिभिङ टुगेदर’का रुपमा ।

७ वर्षपछि केटाले अर्कै विवाह गर्न खोजे । विवाह गर्छु भनेका उनले निशालाई त्यागेपछि उनको दैनिकी नै न्यायिक निकाय धाउनु भएको छ अहिले । ७ वर्षसम्म सँगै बसेपछि शारीरिक सम्बन्ध हुने नै भयो । अनिच्छित गर्भ बसेपछि दुईपटक त एभोर्सनसमेत गराइन् । भावनात्मक रुपमा पनि उनी केटासँग सम्पूर्ण रुपमा जोडिएकी थिइन् । अब उनी केटासँग विवाह हुन नसके पनि नातामात्रै भए पनि प्रमाणित गराउन चाहन्छिन् ।

चितवनकी सानिया खान (नाम परिवर्तन) पनि एक पुरुषसँग लामो समय सँगै बसिन् । श्रीमान् बाहिर हुँदा अरुसँग नजिकिएकी सानियाको कुरा बाहिर आएपछि श्रीमान्ले उनलाई त्यागे । तर जोसँग सानिया बसेकी थिइन्, उनले पनि सानियालाई स्वीकार गर्न मानेनन् ।

काठमाडौं ढुङ्गेअड्डाकी एकल महिला राधा थापा (नाम परिवर्तन) लामो समयसम्म एक पुरुषसँग सँगै बसिन्, जो म्युजिक भिडियो निर्देशन गर्थे । अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । एकल महिला भएपछि ती संगीतकार राधासँग नजिक भएका थिए । आमा भइसकेकी राधालाई उनले आफू अविवाहित भएको र विवाह गर्ने बचन दिए । तर, २ वर्ष सँगै बसेपछि उनले राधालाई छोड्न खोजे । त्यसपछि उनी प्रहरीसामु उजुरी लिएर पुगिन् । पक्राउ परेका निर्देशकविरुद्ध प्रहरीले अहिले बलात्कारको आरोपमा मुद्दा दर्ता गरेको छ । बलात्कारको उजुरी प्रहरीमा दिएकी थिइन् राधाले । प्रहरीले पछिमात्रै थाहा पायो लिभिङ टुगेदरमा खटपट भएपछि बलात्कारको उजुरी दिएको ।

भक्तपुरकी रेखा थापा (नाम परिवर्तन) को पीडा पनि उस्तै छ । मामाघरमा बस्दै आएकी रेखाको चिनजान एकजना ठेकेदारसँग भयो । घर किन्न भनेर मामाघरमा आएका ठेकेदारले उनीसँग फोन नम्बर मागे, उनले सहजै दिइन् । गाउँबाट काठमाडौं छिरेकी रेखाको ती ठेकेदारसँग सम्पर्क बढ्दै गयो । अलि पछि ठेकेदारले आफ्नै कार्यालयमा रेखालाई जागिर पनि लगाए । रेखा र ठेकेदारबीच मायाप्रिती बस्यो । ठेकेदारले रेखालाई विवाह गर्ने भन्दै सँगै राख्न थाले । डेढ वर्ष सँगै बसेपछि बल्ल उनले आफू विवाहित भएको भन्दै टाढिन खोजे । आफूमाथि शारीरिक र मानसिक हिंसा भएको भन्दै रेखा प्रहरीकोमा पुगिन् । उनको मुद्दा पनि काठमाडौं प्रहरी परिसरमै छ ।

यी त केही प्रतिनिधिमूलक घटनामात्रै हुन् । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको ‘लिभिङ टुगेदर’को संस्कृतिले अपराध निम्त्याइरहेको प्रहरी बताउँछ । राष्ट्रिय महिला आयोगमा पनि लिभिङ टुगेदरबाट उत्पन्न समस्या लिएर आउनेको संख्या ठूलै छ ।

पछिल्लो तीन महिनामा महिला आयोगमा ‘लिभिङ टुगेदर’सँग सम्बन्धित २० वटा उजुरी आएका छन् । आयोगमा महिलाहरु खुलेर आउने भए पनि प्रहरी कार्यालयमा भने उनीहरु आफूमाथि हिंसा भएको, बलात्कार गरेको जस्ता उजुरी लिएर पुग्छन् । तर, अनुसन्धानका क्रममा ‘लिभिङ टुगेदर’मा बसेको खुल्ने गरेको छ ।

आयोगमा परेका उजुरी हेर्दा किशोरी, युवती तथा अधवैंशे महिलासमेत पे्रममा पर्ने, विवाह गर्ने सहमतिमा सँगै बस्ने, पटक–पटक गर्भपतन गर्ने, विवाहको नाटक गर्दै सिन्दूर हाल्ने र पछि छाड्ने गरेको पाइएको अधिवक्तासमेत रहेकी आयोगकी मुद्दा व्यवस्थापक विमला खड्का बताउँछिन् । धेरैजसो अवस्थामा केटाले विहे गर्न अस्वीकार गरेपछि समस्या आउने र महिलाले प्रहरी अथवा महिला आयोग गुहार्ने गरेको देखिएको छ ।

लिभिङ टुगेदरबाट पीडित हुनेमा उपत्यका बाहिरबाट राजधानीमा उच्च शिक्षा अध्ययन गर्न आएका तथा श्रीमान् गुमाएका महिला बढी देखिन्छन् । लिभिङ टुगेदर अपनाउने पुरुषमा भने ठेकेदार, कानुन व्यवसायी, सेना तथा प्रहरीका तल्लो दर्जाका व्यक्तिहरु बढी रहेको बताइन्छ ।

सुमधुर सम्बन्ध ‘ब्ल्याकमेलिङ’ देखि आत्महत्यासम्म

कतिपय अवस्थामा दुईजनाबीच सम्बन्ध बिग्रँदा ठूलो अपराधको रुप लिएको पनि देखिएको छ । लिभिङ टुगेदरमा महिला बढी पीडित देखिन्छन् । पुरुषले अश्लील तस्बिर तथा भिडियो मोबाइलमा खिचेर सम्बन्ध बिग्रिएपछि व्ल्याकमेलिङ पनि गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । कतिपय अवस्थामा भने महिलाले पनि छुट्टिँदा पैसा माग्ने गरेको देखिएको छ भने कतिपयले बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरी दिने गरेका छन् । सहमतिमै भएको यौन सम्बन्धलाई पनि बलात्कार भनेर प्रहरीमा उजुरी पर्दा पुरुष पनि पीडित भएका देखिन्छन् ।

लिभिङ टुगेदरमा सम्बन्ध बिग्रिएपछि त्यसले आत्महत्याको समेत रुप लिएको महिला आयोगकी अधिवक्ता खड्का बताउँछिन् । डिप्रेसनमा जाने, नशालु पदार्थ सेवन गर्ने तथा मानसिक अवस्था बिग्रिनेसम्म देखिएको उनको भनाइ छ ।

प्रमाण नहुँदा गाह्रो

‘लिभिङ टुगेदर’सम्बन्धी आउने उजुरीको अनुसन्धानका लागि सबैभन्दा गाह्रो काम हो प्रमाण जुटाउनु । यस्ता घटनामा प्रायः प्रमाण भेट्टाउन गाह्रो पर्ने प्रहरी अधिकारी बताउँछन् । लिभिङ टुगेदरलाई नेपाली समाजले सहजै पचाएको छैन । अधिकांश जोडीहरु लुकीछिपी नै लिभिङ टुगेदरको रुपमा बस्ने हुन् । लिभिङ टुगेदरबारे छुट्टै कानुन पनि छ ।
सहमतिमा लिभिङ टुगेदर बस्ने अनि मतभेद भएपछि रिस फेर्न सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि केही समययता बढेको छ । यस्ता उजुरी प्रहरीमा दैनिकजसो आउने गर्छन् । सामाजिक सञ्जालबाट आफ्नो बेइज्जत भएको भन्दै प्रहरीमा धेरैले उजुरी गर्ने गरेका छन् । यस्ता उजुरीको छानबिन गर्दै जाँदा मुख्य कारण लिभिङ टुगेदर नै देखिने गरेको प्रहरी बताउँछ ।

कतिपयले धोका दिने नियतले र भविष्यमा खतरा हुने डरले प्रमाण नष्ट गरिदिने प्रहरीको भनाइ छ । अधिवक्ता खड्का पनि प्रमाण अभावमा उजुरीको छिनोफानो र कानुनी प्रक्रिया अगाडि बढाउन समस्या भएको बताउँछिन् । पछिल्लो पुस्ता यौनका मामलामा स्वतन्त्र हुन खोजिरहेको, सामाजिक र कानुनी रुपमा विवाह नगरी सँगै बस्न रुचाउने प्रवृत्ति अनि पीडित हुँदा पनि कानुनी उपचार खोज्न झन्झट मान्ने प्रवृत्तिका कारण महिला बढी पीडित भएको महिला आयोगको भनाइ छ ।