आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

मन्त्री र कर्मचारीलाई प्रधानमन्त्री ओलीका यी सात मन्त्र

परदेशी खबर ४ चैत्र २०७४, आईतवार १८:३२ मा प्रकाशित ( ६ साल अघि) ८१ पाठक संख्या

नेताकहाँ धाएमा नम्बर काट्छु, ऐयाआत्था भन्ने मौका पनि दिन्न

मार्च १८ ,काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्’सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिँदैन ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताएका छन् ।

मगन्तेरहित देश

‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्‍यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने’ किन कि यो असधारण दायित्व बोकेको सरकार हो ।’

प्रधानमन्त्री ओलीले आइतवार सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै सबैलाई जवाफदेही ढंगले काम गर्न भनेका छन् । ‘हामी नेपाललाई मगन्तेरहित बनाउन चाहन्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ ।

अभाव र गरिबी रहँदैन

‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् । उर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैँ अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नु होस’, उनले भने,’कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस ।’

समयको ख्याल गरौँ

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिए । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न,काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाएका छन् ।

‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस ,त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’, प्रधानमन्त्री ओलीले भने’ तर यस कारण, यदी, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

नेताकहाँ नजानू

प्रधानमन्त्री ओलीले सचिब बढुवा सुरुवाका लागि नेताकहाँ धाउने प्रवृति अन्त्य हुने बताए । ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन’ प्रधानमन्त्री ओलीले भने’, चुस्त ढंगले काम गर्नुहोस । जनतालाई छिटो छरितो सेवा दिनुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘भनसुनतिर लाग्ने र नेताको धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ ।’

हुन्डी रोकियोस्

देश रेमिट्यान्सबाट चलेको बताउँदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गरे । ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस’, प्रधानमन्त्री ओलीले भने, ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

बागमती किन सफा भएन ?

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाएका छन् । ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो’यो किन सफा भइरहेको छैन ?’

सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने बताए । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन’, प्रधानमन्त्री ओलीले भने, ‘अब सरकारले भ्रष्टाचार निर्मूल गर्छ । यसप्रति असहिष्णु हुन्छ ।’

मन्त्रीले मर्यादा जानुन्

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा बस्न सुझाएका छन् । ‘मन्त्री नियुक्त हुनेवित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस । तपाईंका काममाथि अनुगमन हुन्छ । त्यसमाथि अर्को अनुगमन हुन्छ । र, मैले पनि अनुगमन गरिरहेको हुन्छु । केही तलमाथि भेटिए ऐयाआत्था भन्ने मौका पाउनुहुने छैन ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री, राज्य मन्त्री, प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिवहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति थियो ।

अन्नपुर्णपोस्टबाट