आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

इजरायलको शर्त- कोटा बढाउन प्रतिकामदार १ लाख

परदेशी खबर ३ चैत्र २०७४, शनिबार ०७:४६ मा प्रकाशित ( ६ साल अघि) १०६ पाठक संख्या


मार्च १७ , काठमाडौं । इजरायलले नेपाललाई वाषिर्क ५ सय कामदार (केयर गिभर)को कोटा दिन सकिने बताएको छ । तर, त्यसका लागि सरकारीस्तरमै सेवा शुल्क तोक्नुपर्ने इजरायलको शर्त छ ।

नेपालका लागि इजरायलका राजदूतसहितको टोलीले वैदेशिक रोजगार विभागसँगको छलफलमा त्यहाँ जाने नेपालीका लागि वर्षमा ५ सयसम्म कोटा दिन सकिने बताएको हो । नेपालबाट अहिले सरकारी स्तरको सम्झौताका आधारमा त्यहाँ दोस्रो लटका कामदार गइरहेका रविन्द्र घिमिरेले अन्लाइनखबरमा सामाचार लेखिएकोछन् ।

विभागका एक उच्च अधिकारीका अनुसार कामदारका लागि काम खोज्न र विभिन्न प्रक्रियागत रुपमा हुने खर्चको व्यवस्थापनका लागि भन्दै सेवा शुल्क उठाउने प्रस्ताव आएको हो ।इजरायलले अब विदेश जाने एउटा कामदारसँग १ हजार डलर -एक लाख रुपैयाँ)सम्म सेवा शुल्क लिन पाउनुपर्ने माग गरेको छ । विभागले इजरायललाई औपचारिकरुपमा त्यस्तो प्रस्ताव गरेमा छलफल अघि बढाउन सकिने जवाफ दिएको छ ।

सरकारी तवरबाटै हस्ताक्षर भएको समझदारीपत्र (एमओयू)का आधारमा कोरियामा १० वर्षमा ५० हजार नेपालीले रोजगारी पाए । तर, त्यस्तै एमओयू गरेर पनि इजरायलबाट नेपाली कामदारले खासै लाभ उठाउन सकेका छैनन् ।

कामदार लैजानेबारे भएको एमओयूमै त्रुटी र कमजोरी भएपछि नेपाली कामदारले यसबाट पर्याप्त फाइदा लिन नसकेका हुन् । इजरायलले केयर गिभरका रुपमा मात्रै नेपाली कामदार लैजान्छ । घरमा बस्ने वृद्धवृद्धालाई हेरविचार गर्ने काम उनीहरुको हुन्छ ।

सरकारी स्तरमा भएको सम्झौतामै पर्याप्त कामदार लैजाने विषय उल्लेख छैन । र, इजरायलले पनि न्यून संख्यामा मात्रै कोटा पठाइरहेको छ । पछिल्लो पटक छानिएका ६० कामदारमध्ये आधा पनि उडेका छैनन् ।

इजरायलसँग साउन ०७२ मा नेपालबाट केयर गिभर लैजाने सम्झौता भएको थियो । तर, झण्डै अढाइ वर्षमा इजरायलले सय जना नेपालीलाई लगेको छैन ।

जबकि, यस्तै एमआयू गरेको कोरियाले अहिले वाषिर्क औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको छ । इजरायलसँग त्रुटीपूर्ण सम्झौता गरिएकाले यो अवस्था आएको विभागका अधिकारीहरुको भनाइ छ । इजरायलले अहिले वाषिर्क ६० जना केयर गिभरका लागि मात्रै कोटा पठाइरहेको छ ।

वैदेशिक रोजगार विभाग आफैं यति थोरै संख्यामा कामदार पठाउने प्रक्रियामा सामेल छ । इजरायल जान वर्षमा दुई हजारभन्दा बढीले हिब्रु र अंग्रेजी भाषा सिक्छन् । तर, तीमध्ये अधिकांशलाई ठूलो रकम खर्चेर सिकेको भाषा काम लागेको छैन । नेपाली कामदारका हकमा इजरायलको जनसंख्या तथा अध्यागमन निकायले समन्वय गर्छ ।

कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहने नेपालीका लागि इजरायल राम्रो गन्तव्य मानिन्छ । इजरायलले मागको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तव्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ । त्यस्ता कामदारले पाँच वर्षसम्म इजरायलमा रोजगारी पाउँछन् ।

इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा, हवाई खर्चलगायत गरी लगभग नौ सय ५० डलर तिर्नुपर्छ । अब थप एक हजार डलर रुपैयाा सेवा शुल्क लिने प्रस्ताव आएको छ ।

तर, यसलाई नेपालले स्वीकार गरेमा कामदारमाथि थप एक लाखको आर्थिक भार थपिनेछ ।