आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कोरियामा काम गर्ने नेपालीमा मानसिक रोग बढ्दो  

परदेशी खबर २५ माघ २०७४, बिहीबार २०:१३ मा प्रकाशित ( ६ साल अघि) ११३ पाठक संख्या

राजदूताबास र सामाजिक संस्थाको पहलमा नेपाल फर्काउदै

फेब्रुअरी ८,सोल — दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ ।

कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान चढाएका थिए। नेपालसम्म सुरक्षित पुर्याउनउन ह्वीलचियरमा पठाएका छन्।
उनी कार्यरत शहर ख्वागंजुबाट संगै काम गर्ने साथीसंग सउलसम्म आउने क्रममा सम्पर्क विहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो। रातको ११ बजे फोन सम्पर्क भएपछि सउल स्टेशनमा उनीहरु भेटिएका थिए। उनी जस्तै मानसिक समस्या देखिएका धेरै नेपालीहरु यसैगरी नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामाले बताए।
लामाले आफू अध्यक्ष भएपछि करिब चार महिना भित्र एक महिलासहित पाँच जनालाई नेपाल पठाएको बताए। लिखित तथ्यंक नभएपनि करिब दशकको अवधीमा यस्ता समस्यामा परेका डेड सय जतिलाई नेपाल पठाएको लामाको अनुमान छ। केही उपचारपछि पुन: कोरिया आई काम गरिरहेको पनि उनले थपे।
केही समयअघि मानसिक समस्या देखिएका एक महिलालाई नेपाल पठाइएपनि अभिभावकले फेरी कोरिया नै फर्काइ दिएका थिए। त्यस्तै कृषिमा कार्यरत एक युवालई मानसिक समस्या देखिएपछि नेपाल फर्काउन लाग्दा परिवारले केही दिनपछि आउनु भनेपछि उनले आत्महत्या गरेको संगै काम गर्ने साथीले बताए। इपिएसबाट आएका एक युवाले कार्यअवधि चार वर्ष दश महिना सकिएपछि नेपाल फर्कनु पर्ने बेला परिवारबाट गैरकानुनी रुपमा भएपनि कोरियामै बस्नु भनेपछि चिन्तित भइरहेकै बेला आत्महत्या गरेको किम्हे प्रवासी सेन्टरका सञ्चालक यज्ञराज सुवेदीको जानकारीमा छ।
यसरी मानसिक तनावमा परेका कति जनाले भने कोरियामा आत्महत्या गरी ज्यान गुमाएका छन्। गतवर्ष सन २०१७ मा कोरियामा ८ जनाले आत्महत्या गरेको तथ्यांक छ। सन २०१६ मा आत्महत्या गर्नेको संख्या ७ थियो। यसो हुनुको कारणमा कोही कार्यस्थलको मानसिक तनावले हो भने कोही प्रेमीको विछोड र कोही गम्भीर रोगको अज्ञात डरबाट मानसिक तनावमा परेको बताइएको छ। गतवर्षको रेकर्डलाई हेर्दा २ जनाले त सुसाइड नोट लेखेर नै आत्महत्या गरेका थिए।
कोरियामा यसरी नै मानसिक रोगीहरुबारे थाहा पाउन साथ सम्बन्धित जातीय तथा क्षेत्रीय संस्थालगायत विभिन्न सामाजिक संघसंस्थाको समुन्वयमा उद्धार गरिने गरेको छ। नेपालमा परिवारलाई जानकारी गराई खर्चको अभाव भए चन्दा संकल गरी नेपाल फर्काउने गरेको समाजिक संस्थाका चलाउनेहरु बताउँछन्।
यस्ता मानसिक रोगीहरुलाई उपचार गराउन र सुरक्षित नेपाल फर्काइ आत्महत्या न्यूनिकरण गर्न संगै काम गर्ने साथी र अभिभावकको मुख्य भूमिका हुने श्रमसहचारी डिल्लीराम बास्तोलाको भनाइ छ। संगै काम गर्ने वा नजिकको साथीको सकरात्मक सोच र परिवार संवेदनशील हुनुपर्नेमा बास्तोलाले जोड दिए। साथै यस्ता घटना न्यूनीकरण गर्न इपिएस कामदारको परिवारका सदस्यलाई भेटघाटको लागि कोरिया बोलाउन पाउने प्रावधानको लागि कोरियन सरकारसंग पहल गरिनु पर्ने धारणा उनको छ। यस्ता मानसिक समस्यामा परेकाहरु बारे समयमै थाहा नपाउँदा कति जनाले आत्महत्या गर्ने गरेका छन्, त्यसैले कुनै पनि समस्या परे तुरुन्तै खबर गर्न सक्ने हेल्प लाइनको स्थापना गर्नुपर्ने एनआरएन अध्यक्ष लामाले बताए।
यसरी आत्महत्या गर्ने र मानसिक रोगी भई स्वदेश फर्काइएका नेपालीहरुको संख्या बढ्दो छ। त्यसैगरी सुतेकै अवस्थामा मृत्यु हुने र औद्योगिक दुर्घटना बढ्न थालेपछि नेपाल सरकारले अध्ययन अनुसन्धान गरी समस्याको उचित उपाय निकाल्न एक कार्यदल गठन गरेको छ।
कार्यदलमा मानसिक रोग अस्पताल लगनखेलका निर्देशक डा. मोहनराज श्रेष्ठ र वीर अस्पतालका कन्सल्टेन्ड कार्डियोलोजिष्ट डा. रामकिशोर शाह रहेका छन्। गत सातामात्रै २ चिकित्सक र श्रम कार्यालयका पदाधिकारीसहित चार जनाको टोली कोरिया आइ अध्ययन अनुसन्धान गरी फर्केका छन्।
टोलीले कोरियामा साता भरी लगाएर थेगु र सुवन शहरमा छुट्टा छुट्टै स्वास्थ्य परिक्षण र परामर्श कार्यक्रम गरेको थियो। त्यस्तै टोलीका सदस्यहरुले धेरै नेपालीहरु उपचार गर्न पुग्ने सउल एडभेन्टिक अस्पतालस्थित सामयुक मेडिकल सेन्टरका चिकित्सकसंग छलफल गरेका थिए। विगत १५ महिनादेखि अस्पतालमा उपचार्थ सुकमान तामाङलाई भेटेका थिए। साथै विगतमा स्वस्थ्य परीक्षण कार्यक्रम आयोजक डा. देविबहादुर बस्नेतसंग टोलीले स्वास्थ्य समस्याबारे छलफल गरेका थिए।
टोलीले नेपालमा स्वास्थ्य जाँच पास भएर आएकाहरु कोरियामा आएपछि स्वस्थ्य समस्या देखिएकाबारे अध्ययन गर्न कोरिया आएपछि स्वास्थ्य जाँचगर्ने केविजका र इपिएस सेन्टरका पदाधीकारीहरुलाई पनि भेटेका थिए। धेरै नेपालीहरु कार्यरत औद्योगिक क्षेत्र ह्वासगंस्थित एक गाई फार्ममा पनि टोलीले भ्रमण गरेका थिए।
कान्तिपुरबाट