उदास परदेश

क्याम्पदेखि अलिक पर एउटा अग्लो ठाउँमा उभिएको छु। आँखामा दौडाउँछु केही जोर घोडालाई वरपर। चारैतिर देखिन्छन् बालुवाका मझौला पहाडहरू। जताततै फैलिएको छ बालुवाको उजाड घारी। ठाउँठाउँमा छन्, केही एकलकाँटे खजुरका बोटहरू, सिउँडी अनि अन्य साना बुटाहरू।

Chandra-Gurungतातो हावा बहकिरहेको छ। टन्टलापुर घाम चर्किरहेछ एकोहोरो। मरुभूमिका घामले थकाइ मारेको थाहा छैन। जोडी चरा उडिरहेको देखिन्छ माथिमाथि। त्यसमध्ये एउटा खस्छ। अर्को बिछोडिएर उडिरहन्छ त्यसकै वरपर। सर्वत्र शून्यताको च्यादर ओछ्याइएको छ। कुनै चहलपहल छैन। एउटा अलकत्रे सडक तन्किएको छ नजिकै; जसमाथि दौडिरहेछन् थरीथरीका गाडीहरू।

खाडी देशहरूमा निर्माणकार्यमा संलग्न कन्स्ट्रक्सन या तेल प्रशोधन कम्पनीहरूको बाहुल्य छ। यस्ता कम्पनीहरूमा थुप्रै एसियन तथा अफ्रिकी मुलुकका नागरिक कार्यरत छन्। नेपाली कामदारको उपस्थिति पनि बाक्लो छ। घरपरिवार, साथीभाइ तथा आफ्नो देश छोडेर बिदेसिनु बाध्यता बनेको छ। सरकारको नीति रेमिट्यान्स मात्रै भित्र्याउने देखिन्छ।

लामो र थकानयुक्त ड्युटीले मनभरि घरपरिवारको सम्झना ताजा बनाइदिन्छ। झझल्कोले सताउँछ घरिघरि। सम्झनाले भित्र दुखाउँछ। तर, देखाउने कसलाई ? सुनाउने कसलाई ? शून्यता र न्यास्रोपन मेट्ने उपाय फोन हुन्छ। फेसबुक र वेबसाइटहरू हुन्छन्। थकित भएर परिवारजनसित कुराकानी गर्नु, साँझ मन मिल्ने साथीहरूसँग बात मार्नु, बस् यतिमात्रै बाँकी हुन्छ परदेशी जीवनसँग विकल्प।

कहिलेकाहीँ त यस्तो लाग्छ, जीवनमा विकल्पहरू कति थोरै ? मन बेचैन हुन्छ। अधुरो सुहागरात छोडेर परदेश लागेका युवा रहरहरू, आफन्तजनको बिहेमा जन्ती र मृत्युमा मलामी हुन नपाएको पीडा मनभरि उकुसमुकुस भइरहन्छन्। मभूमिजस्तै शुष्क र उजाड बन्छ परदेशी जीवन। पराई आदेशले जीवनलाई यान्त्रिक बनाएको छ। यान्त्रिकताबाट बच्न केही कवि मन यसरी पोखिन्छन् अक्षरमा

त्यसैले बिजलीका नांगा तारहरू बिछ्याएर
आवाजमाथि पासो थापिएको छ
बोल्दैनन् मान्छेजस्तो
राहदानीहरू रोबर्ट भएका छन्।
(जेलबाहिरको जेल, जीवित खड्का मगर)

साँझ पर्दा थकित हुन्छ शरीर। कोठामा आइपुग्दा पर्खिरहने उही चार भित्तामात्रै हुन्छ। ढोकामा हुँदैन मायालु अनुहार। न त हुन्छ ओइलिएको मनलाई खुसी तुल्याउने बच्चाहरूको चहलपहल। मात्रै हुन्छ कोठाभरिको सन्नाटा। एकलासको रित्तो शून्यता। अत्यासलाग्दो एक्लोपन। त्यही बेला मनको चरीले उडान भर्छ। पुग्न उही गाउँको देउरालीसम्म। आँगनको डिलमा पुग्छ। भीरको अप्ठेरो कन्दराहरूमा पुगेर रोकिन्छ मनको चरी। अनि वैराग्यले पोल्न थाल्छ छाती।

ढोकामा हुँदैन मायालु अनुहार। न त हुन्छ ओइलिएको मनलाई खुसी तुल्याउने बच्चाहरूको चहलपहल। मात्रै हुन्छ कोठाभरिको सन्नाटा। एकलासको रित्तो शून्यता। अत्यासलाग्दो एक्लोपन। त्यही बेला मनको चरीले उडान भर्छ। अनि पुग्छ गाउँको देउरालीसम्म।

देशदेखि टाढिनुको पीडाले पलपल मारिरहेको हुन्छ परदेशी मनलाई। व्यक्त गर्नलाई अनेक पीडा छन्। यस्तो लाग्छ कहिलेकाहीँ, रेमिट्यान्सको लोभले जनतालाई भेडाबाख्रा बनाएर मुलुकबाहिर पठाउने नीति लिएको छ, सरकारले। जुन युवाको योगदानले देशको ढुकुटी धानिएको छ, त्यही युवा स्वदेश फर्कंदा अपमान बेहोर्नुपर्छ। एअरपोर्टबाटै सुरु हुन्छ दुव्र्यहार। कवितामार्फत देशसँग प्रश्न गरिरहेछन् केही परदेशी :
पैतालाहरू आफ्नो माटोमा राख्न नपाउनु
त्योभन्दा ठूलो छ कुनै अर्को सजाय ?
जब आँखाबाट खसेको देशको खबर
गलामा पुग्न नपाउँदै
निर्दयी हावाको तापले बेपत्ता बनाइदिन्छ ?
त्योभन्दा गहिरो छ कुनै अर्को पीडा ?
(परदेशी, सुरज राना)

कष्टप्रद कामबाट मुस्किलले बचाएको समयमा यसरी पोखिन्छन् डायस्पोरा साहित्यानुरागी। शब्दशब्दमा घरपरिवार, देश र समाजबारे चिन्ता पोख्छन्। दलालले दिएको धोका, टुटेका सपनाहरू र ठगिएका रहरका अवशेषहरू कथा कवितामा छताछुल्ल पोखिन्छन्। आइलागेका यी यस्ता व्यथा, घरपरिवारको याद, साथीसंगीको माया र देशको वर्तमान सबै कोरिन्छन्, शब्दमा।

कामको मारामार छ परदेशमा। फुर्सद हुन्न। हप्ताको एक दिन थकान मेटाउन घुमफिर गरिन्छ। घर पठाउन कोसेली किन्दाकिन्दै बित्छ दिन। साँझ उनी घर र परिवारको याद। बेलाकुबेला मनको पीडा र एक्लोपनले खोक्रो पारिदिएको समय जीवनको क्यानभासमा रंगहीन रेखाचित्रझैं कोरिन्छन्। मात्रै काला धर्साहरूले निर्मित केरमेट प्रतीत हुन्छ, समयको चित्र। परदेशी जीवन सुनको जलप लगाइएको फ्रेमको घेराबन्दीमा थुनिएको श्यामश्वेत तस्बिरझैं देखिन्छ।
साथी
सबथोक छ परदेशमा
उमंग
मुस्कान
हाँसो
सुख।
मात्रै छुटेको छ
यी सब जतनपूर्वक सम्हाल्ने मुटु
उतै घरदेशमा !
(परदेश,चन्द्र गुरुङ)

हामीसित पुर्खाले आर्जेको एउटा शानदार विरासत छ— बहादुरी, सोझोपन र इमानदारी। आज विश्वभरि यही हाम्रो पहिचान बनेको छ। पहिचानको यही उज्यालो दियोमुनि एउटा कालो र पीडादायी छायाँ सल्बलाइरहन्छ— भाडाको सिपाही र सस्तो मजदुर। यो एउटा पीडादायी खिलझैं मुटुमा गहिरो गाडिएको छ। जो दुःखिरहन्छ बेलाबेलामा। धेरै ठाउँमा गोर्खाली खुकुरीको धार र ढाका टोपीको शान नमिठोसँगले हेपिन्छन्। यी पराई भूमिमा गाह्रो कामजति हाम्रो भागमा पर्छ। जोखिमपूर्ण अवस्थामा हामीलाई नै अघि सारिन्छ। तर, पाउनुपर्ने तलब र सुविधा हामी नेपालीले पाउँदैनौं। यसरी भेदभावमा परिरहेका छन् वीर सन्तानहरू। यही आँसु र कथाव्यथा संसारभरि फैलिएका नेपालीका साझा पीडा हुन्। जो परदेशबाट लेखिएको साहित्यमा प्रत्यक्ष भेटिन्छ।

भारत–पाकिस्तानको सिमानामा तैनाथ वा ब्रिटिस सरकारको आदेशमा खटिएका गोर्खा सिपाहीहरूले राइफलको नालमुनि जीवन लेखिरहेका छन्। धेरै मुग्लाने कलमहरूले कथा कवितामा पराई झन्डालाई सलाम गर्नुपर्ने बाध्यता कोरिरहेका छन्। यस्तै खाडी र मलेसियातिर पुगेर दिनैभरि गैंतीबेल्चा चलाउन बाध्य कामदारले आफ्ना पीडा गीत कवितामा राख्न भ्याएका छन्। थुप्रै युवा मनले प्रियसीको सम्झनामा बिरानो परदेशबाट अनेक मायालु पंक्तिहरू कोर्दै आएका छन्। यीबाहेक परदेशीले घरपरिवार र साथीभाइको यादमा भावनाको सागर उरालिरहेका पनि छन्। यसरी, नेपाली साहित्यले नेपाल बाहिरबाट पनि मलजल पाइरहेको छ।

एउटा परदेशीको मनमुटुमा सधैं गाउँघरको याद र साथीसंगीको संगत ताजा भइरहन्छ। मनलाई थाम्न गाह्रो हुन जान्छ, जब यादको झरीले रुझाउँछ बिरानो ठाउँमा। भावनाहरू छताछुल्ल पोखिन्छन्। केही व्यथाहरू अक्षरमा रूपान्तरित भएर छल्किन्छन्। देशको राजनीतिक अन्योल र कदम–कदममा बेहोर्नु परेको अभावजस्ता थुप्रैथुप्रै अनुभूतिलाई पोख्न सजिलो माध्यम बनेको छ साहित्य। कोही नेताहरूको कर्तुतलाई शब्दका व्यंग्यवाणले प्रहार गरिरहेका हुन्छन्, त कोही देश सम्झिँदै भावपूर्ण कविता कोरिरहेका हुन्छन्।
यति जान्दछु
यो बाकसमा भरिनुअघि
म सकुशल पुग्नु छ देश।
आफ्नै माटोको क्यानभासमा
पोत्नु छ पसिनाको रंग
र बनाउनु छ
बाआमाको अनुहारमा हाँसोको जीवन्त चित्र।
(बालुवाको मरुभूमिबाट, जीवन खत्री )

समयको चरी दैनिकीको यो हाँगा त कहिले त्यो हाँगामा बस्छ। अनुभूतिहरूको यो आकाश र त्यो आकाशतिर आफ्नै गतिमा उडिरहन्छ। ऋतुहरू एकपछि अर्को गर्दै फेरिन्छन्। गर्मीयाम आफ्नो उत्कर्षमा पुग्छ। खजुरका बोटहरू रसिला खजुरले लटरम्मै छोपिन्छन्। बिस्तारै हिउँदे दिनहरूको आगमन हुन्छ। मभूमिको देशमा केही शीतल अनुभव गर्छ जीवनले। यस दौरान लामो समयदेखि साथमा काम गर्ने केही साथीसित घनिष्ठ सम्बन्ध स्थापित भइसकेको हुन्छ। एकआपसमा उस्तैउस्तै दुःखसुखहरू बाँडिन्छन्। यसले मित्रताको साँघु थप कसिलो कसिन्छ। उमेरको यस मोडमा आइपुग्दा आफ्नै शिरमाथि केही सेता केश देखा पर्न थालिसकेको हुन्छ। थाहै नपाईकन आफ्नै अनुहारको पानामाथि केही धर्साहरू कोरिएका हुन्छन्।

पराई भूमिमा पहिलोपटक पाइला टेक्दाको असजिलो अनुभूतिमाथि धूलो जमिसकेको छ। केही सजिला स्थानीय शब्दहरू जिब्रोमा झुन्डिएका छन्। नयाँ परिवेशसित एक प्रकारको ल्याप्चे सम्झौता भइसकेको छ। सुरुसुरुमा उठाउनु परेका कष्टहरूमाथि केही मलम चढिसकेका छन्। समय बित्दै गएपछि बिस्तारै समायोजित हुँदै गएको हुन्छ पराई समाज र परिवेशमा। तर, परदेश सबैका लागि समान रहँदैन। धेरैले काठको बाकसमा फर्किने नियति बेहोरेका हुन्छन्। कोही अंगभंग भएर फर्किन्छन्। कोही कोमामा जान्छन्। केही साथीहरू मात्रै आर्जेका सीपसित अपना सपनाहरूलाई साकार पार्दै फर्किने भाग्यमानी हुन्छन्।

अन्त्यमा, घर फर्किने दिन नजिकिन्छ। मनभरि एक प्रकारको रौनक र खुसीका तरंगहरू सलबलाउन थाल्छन्। किनमेलका योजनाहरू बन्छन्। नातागोता तथा साथीहरूलाई नबिर्सिने गरी औंलामा गन्न थालिन्छ। यसरी एक दिन घरदेश फर्किने समय आइपुग्छ। फेरि मनभरिको आफ्नो प्रिय मातृभूमिलाई ढोग्ने सुअवसर मिल्छ।

सबथोक छ मेरो पनि
जस्तो कि,
चुहिने भए पनि घर
साहूले बन्धकी खाएको खेत
म परदेश हिँडेदेखि बाँझै बसेको बारी
मैले अक्षर चिनेको स्कुल
मेरो बालापन हुर्किएको गाउँ
र सबैभन्दा ठूलो त
यो भूगोलको कुनै एउटा कुनामा
मेरो पनि आफ्नै देश छ।

(आमा र देश, रेशम बोहोरा)

चन्द्र गुरुङ / अन्नपूर्णपोस्टबाट 






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस