जनवरी २६, अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । “फेक न्युज”को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: “फेक न्युज” पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो ।

नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो भन्दै हुँदै नभएको समस्या उचाल्दै, फेक समाचार सेयर गर्ने भेटिन्छन् । खासमा नाम चाँहि कान्तिपुर जोडिएको अरु कुनै वेबसाइट हुन्छ । यस्ता समाचारको व्यापार गर्नेहरु अझै छन् । फेसबुक जस्तै अहिले युट्युब नेपालको ट्रेन्डिङ पनि यसैको शिकार भइरहेकोछ ।

यस्तै फेक न्युज, क्लिकबेट टाइपका कुराहरुलाई नियन्त्रण गर्न फेसबुकले विगत एक डेढ वर्ष देखि विभिन्न प्रयासहरु गर्दै आइरहेको छ । फेक न्युज रिपोर्ट गर्ने अप्सन पनि फेसबुकले भित्र्यायो, तर सोचे जस्तो सफल भएन । देख्ने बित्तिकै लाइक गर्नुस्, सेयर गर्नुस् मार्काका पोष्टहरु पनि फेसबुकले अघिल्लो महिनाबाट नियन्त्रण गर्न सुरु गरेको छ । यसैको शिलशिला स्वरुप, आफन्त साथीभाइलाई फेसबुकले जोड्ने भन्दै फेसबुकले गत हप्ताबाट नयाँ न्युजफिड अपडेट ल्याएको छ, जसले फेक मात्रै होइन, लगभग सबै किसिमका फेसबुक पेजलाई गाह्रो बनाएको छ । पछिल्लो २-३ दिनमा भ्रम सिर्जना गर्ने तरिका’का फेसबुक पेजका पोस्टहरु मैले आफ्नो फिडमा देखेको छैन । साँच्चै भन्दा, कुनै पनि पेजको अपडेट अहिले मेरो न्युजफिडमा देखिएको छैन । फेसबुकमा केही साथीहरुले सेयर गरेका लिंकहरु मात्रै देखिएको छ ।

फेसबुकको उदेश्य आफन्त, साथीभाइहरुलाई नजिक ल्याउनु हो र यसप्रति सँधै कटिबद्ध छ, तर हालैका दिनमा आफन्त तथा साथिभाइ भन्दा फेसबुक पेजका पोस्टहरुले फेसबुक न्युजफिड ओगटेर विकृत बनाएको भन्दै फेसबुकले गतहप्ता नयाँ न्युजफिडको घोषणा गरेको छ। हालैका वर्षहरुमा भिडियो र पब्लिक पोष्टहरु अत्याधिक रुपमा बढेको कारण यस्तो समस्या देखिएको तथा विभिन्न अनुसन्धानहरुले पेजभन्दा साथीभाइ आफन्तहरुको पोष्टले प्रयोगकर्तालाई खुशी बनाउने भन्ने व्यहोराको पोष्ट फेसबुकका सिइओ मार्क जकरवर्गले आफ्नो प्रोफाइलमा लेखेकाछन् ।

प्रयोगकर्ताहरुलाई यो खुशीको खबर भएपनि बिजेनस पेजहरुलाई चाँहि झनै गाह्रो पारेको छ । सोसल मिडिया मार्केटिङको उदयसँगै फेसबुकमा पेज बनाएर, यसैलाई आधार मानेर लाखौँ बिजनेसहरु चलिरहेकाछन् । फेसबुक पेज चलाउनकै लागि भनेर संस्थाहरुमा सोसल मिडिया टिम बनाइएको छ, लगानी गरिएको छ, तर प्रतिफल छैन । अघिल्लो हप्तासम्म त पेजका केही अपडेटहरु भने पनि देखिँदै थियो, अहिले त फेसबुकमा पेज भए, नभएको पत्तो नै छैन । केही महिना अघि लेखेको सोसल मिडिया मिथ्याङ्क ब्लग पनि अहिले पढ्दा आउटडेटड भए झैँ लाग्ने रै’छ । फेसबुक पेजमा पोष्ट हुने हरेक अपडेटहरु अब फेसबुक एड नचलाए कसैले नदेख्ने भइसकेको छ ।

फेसबुक पेजमा एक समय, फोटो राख्दा धेरैले देख्थे, एकसमय लिंक, एकसमय भिडियो, अलि पछि त झन् लाइभ भिडियो धेरैले देख्थे । अब यी सबै उहिलेका कुरा भए । अब कुन साथीको पोष्टमा धेरै इन्गेजमेन्ट भइरहेको छ, तपाईले कस्तो किसिमको पोष्टहरु मनपराउनुहुन्छ भन्ने किसिमका विभिन्न सिग्नलहरु लिएर फेसबुकले तपाईलाई साथीभाइ आफन्तका अपडेटहरु देखाउने छ (हेर्नुस् भिडियो) । एक हिसाबले भन्दा फेसबुक पेजको उपयोगिता लगभग सकिएको छ । फेसबुक पेजलाई नै आधार मानेर आफ्नो व्यापार व्यवसाय चलाउनेहरु, मिडिया कम्पनीहरुलाई सबैभन्दा ठूलो धक्का लागेको छ । न्युजफिडमा विशेषत साथीभाइ आफन्तका अपडेटहरु धेरै भन्दा धेरै देखिने भएका कारण स्वभावत फेसबुक पेजका अपडेटहरुले कम स्थान पाउने बताउँदै फेसबुकले पेजहरुको रिच, रिफरल ट्राफिक आदि घट्ने उल्लेख गरेको छ ।

फेसबुक न्युजफिडमा गरिएको परिवर्तनबारे जान्नको लागि तलको यो भिडियो हेर्नुहोस् ।

गर्ने के?
पेजको अपडेटहरु थोरैले देख्ने तर आफन्त साथीभाइहरुको अपडेट चाँहि धेरैले देख्ने भनेपछि, अब फेसबुक पेजबाट सेयर हुने पोष्टहरु व्यक्तिका नामहरुबाट धेरै सेयर गरिने सम्भावना छ । मेरा पाँच हजार साथीहरु भए भन्दै वेफ्वाँकमा आफ्नो प्रोफाइललाई पेजमा परिवर्तन गरेकाहरुको अपडेट न्युजफिडमा अब प्राय: नदेखिने भएका कारण, यसरी प्रोफाइललाई पेजमा परिवर्तन गर्ने शिलशिला पनि रोकिएला । आफ्नो व्यापार, व्यवसायको नाउँ राखेर पेजको सट्टा, फेसबुक प्रोफाइल खोल्नेहरुको संङ्ख्यामा पनि बढोत्तरि हुनसक्छ ।

फेसबुकलाई केन्द्रमा राखेर व्यापार व्यवसाय गर्नेहरुले अब कि त हरेक पोष्ट प्रमोट गर्न फेसबुकलाई पैसा तिर्नुपर्छ या यसको विकल्पबारे सोच्नुपर्छ । मेरो विचारमा, जुनसुकै अनलाइन व्यापार, व्यवसाय गर्न मोबाइल वेबसाइट हुनु एकदमै जरुरी छ। सर्च इन्जिन तथा युजर फ्रेन्ड्ली मोबाइल वेवसाइट नै आजको आवश्यकता हो ।