आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भन्सालीका फिल्म किन विवादित हुन्छन् ?

परदेशी खबर ११ माघ २०७४, बिहीबार १९:३६ मा प्रकाशित ( ६ साल अघि) २०७ पाठक संख्या

 

जनवरी २५,काठमाडौं,  — बलिउडका फिल्म निर्देशक सञ्जय लीला भन्सालीको पद्मावतको भारतका विभिन्न भागमा हिंस्रक विरोध भइरहेको छ ।

उत्तर भारतका कैयौं शहरमा धारा १४४ लगाइएको छ ।

तर भन्सालीको फिल्म विवादमा परेको यो पहिलो अवसर हैन ।

उनका पछिल्ला कतिपय फिल्महरूले विवादको सामना गरेका छन् ।

पद्मावत
पद्मावतको शूटिङमै अनि ट्रेलर सार्वजनिक भएदेखि नै विवाद शुरु भइसकेको थियो ।

फिल्म नै सार्वजनिक हुनुअघि पनि अहमदाबाद र कानपुरका सिनेमाघरबाहिर हिंस्रक विरोधका घटना भए ।

भन्सालीले जानीबुझी समुदायविशेषका भावनाहरू भड्काउने फिल्म बनाउने गरेको आरोप लगाइन्छ ।

विवाद बढेपछि फिल्मको नाम पद्मावतीबाट पद्मावत बनाइएको छ अनि कतिपय दृश्यहरू काटिएको छ । तैपनि विवाद कायम छ ।

बाजीराव मस्तानी
सत्रौं शताब्दीका शासक पेशवा बाजीराव द्वितीयमाथि बनेको फिल्म बाजीराव मस्तानीले पनि विवादको सामना गरेको थियो ।

फिल्ममा भन्सालीले फिल्मका दुई पात्र काशीबाई र मस्तानीलाई ‘पिंगा द पौरी’ गीतमा नचाएका थिए ।

पेशवाईमा शाही महिलाले यसरी नाच्ने नगरेको बताइएको थियो । इन्दौर राजघरानाले पनि फिल्ममाथि आपत्ति उठाएको थियो ।

पेशवा बाजीरावका वंशजहरूका अनुसार, बाजीराव र मस्तानीका बीच जम्मा एकचोटि भेट भएको थियो । तर फिल्ममा उनीहरूका बीचको प्रेम देखाइएको छ ।

विवाद भएपनि फिल्मले बेस्सरी पैसा कमायो ।

गोलियों का रासलीला
बाजीराव मस्तानीअघि दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर रामलीला फिल्म बनाएका थिए ।

शुरुमा रामलीला नाम राखिएको यो फिल्ममा विवाद भएपछि भन्सालीले फिल्मको नाम परिवर्तन गरेर राम–लीला गोलियों का रासलीला राखे ।

फिल्ममा प्रमुख पात्रहरूको नाम जडेजा राखिएकोमा राजपूत समुदायले विरोध गरेपछि सनेडा र राजाडी थर राखियो ।

फिल्ममा प्रयोग भएको रवीन्द्रनाथ टेगोरको कविता ‘मोर बनी थनघट करे’को गुजराती अनुवादमा पनि विवाद उठ्यो ।

कविताको अनुवाद गुजराती कवि जवरहन्द मघानीले गरेका हुन् तर उनलाई क्रेडिट दिइएन ।

गुजारिश
हृत्तिक रोशन र ऐश्वर्या रायको प्रमुख भूमिका भएको यो फिल्मका सम्बन्धमा सलमान खानले आपत्तिजनक बयान दिएका थिए ।

अनि फिल्मका निर्माताहरूमाथि कथा चोरेको आरोप लागेको थियो ।

देवदास
भन्सालीको महत्त्वपूर्ण फिल्म देवदासको एक गीत डोला रे डोलाका सम्बन्धमा पनि विवाद उठेको थियो ।

देवदासको मूल उपन्यासमा पारो र चन्द्रमुखीको भेटघाट हुँदैन । तर फिल्ममा पारो बनेकी ऐश्वर्या र चन्द्रमुखी बनेकी माधुरीले सँगै डान्स गर्छन् ।

भन्सालीले जानीबुझी विवाद उत्पन्न हुने विषय छानेको आरोप लगाइन्छ । तर यी विवाद भएपनि उनी सिनेमाटोग्राफीका लागि चर्चित निर्देशक हुन् ।

उनका फिल्ममा कुनै अभिनेता वा अभिनेत्री भन्दा पनि क्यामरावर्क फिल्मको असल नायक हुन्छ । भन्सालीको क्यामराले पुस्तकमा उल्लिखित भारतका राजघरानाहरूको वैभवशाली इतिहासलाई ७० एमएमको पर्दामा प्रस्तुत गर्छ ।

बीबीसी हिन्दीबाट