आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

मिर्गाैला प्रत्यारोपणमा कर्मचारी नेता बाधक, माफियासँग मिलेको आरोप

परदेशी खबर २४ पुष २०७४, सोमबार २०:२६ मा प्रकाशित ( ६ साल अघि) १७७ पाठक संख्या

 

 

 

जनवरी ८,भक्तपुर : मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्मचारी युनियनको नाममा हुने हस्तक्षेपले केन्द्रमा मिर्गाैला प्रत्यारोपण आधाले घटेको बताए । युनियनमा आवद्ध कर्मचारी र तिनका आफन्तले विभागका इन्चार्जलाई धम्क्याएर काम गर्ने वातावारण बिथोलेको उनको आरोप छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सेवा करार नवीकरण नगरेको बहानामा कर्मचारी युनियनको नाममा केन्द्रका प्रत्येक विभागीय प्रमुखलाई डरत्रास र धम्की दिइयो । जसका कारण काम गर्ने वातावरण नहुँदा मिर्गाैला प्रत्यारोपण गर्ने कार्यमा आधाले कमी आयो ।’

केन्द्रलाई बद्नाम गर्ने र मृगौला बिरामीलाई अन्यत्रै लैजाले मेडिकल माफिया संलग्न रहेको कार्यकारी निर्देशक डा. श्रेष्ठले संकेत गरे ।

‘केन्द्रमा आउने बिरामीलाई दिग्भ्रमित गर्दै विदेशमा महंगो उपचारमा पठाएर कमिसन खाने मेडिकल गिरोहले नै कर्मचारी युनियनको नाउँमा क्रियाशील भएका छन्’, उनले भने, ‘यो तत्व केन्द्र सञ्चालनमा आएदेखि नै सक्रिय रहेको थियो । तर अहिले केन्द्रमा कार्यरत नर्सको करार सेवा नवीकरण नगरेको बहानामा उक्त तत्वले खेल्ने मौका पाएको छ ।’

उनले युनियनको नाउँमा भएको हस्तक्षेपको कारण कलेजो प्रत्यारोपण तथा मुटुको अप्रेसन कार्यसमेत प्रभावित भएको जानकारी दिए ।

ईश्वरकाजी खाइजु / अन्नपूर्ण पोस्टबाट साभार