आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

वैदेशिक रोजगार ऐन संशोधन हुँदै

परदेशी खबर १० आश्विन २०७४, मंगलवार २०:३४ मा प्रकाशित ( ६ साल अघि) १७८ पाठक संख्या

वैदेशिक रोजगार ऐन संशोधन हुँदैसेप्टेम्बर २६, काठमाडौ ।लामो रस्साकस्सीपछि बल्ल वैदेशिक रोजगार ऐन संशोधन हुने भएको  छ । २०६४ मा तयार गरिएको ऐन संशोधन नहुँदा कामदारले विभिन्न समस्या भोग्नु परेको गुनासो व्याप्त छ । श्रम तथा रोजगार मन्त्रालयले ऐन संशोधनका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । नयाँ ऐनमा म्यानपावर कम्पनी दर्ता गर्दा एक करोड रुपैयाँ नगदै धरौटी राख्नुपर्ने व्यवस्था छ ।
म्यानपावर कम्पनीको संख्या धेरै हुँदा अनुगमन गर्न नसकिएको बताउँदै आएको सरकारले धरौटी रकम बढाएर नियन्त्रण गर्ने प्रयास थालेको हो । मन्त्रालयका सहसचिव तेजराज पाण्डेको नेतृत्वमा गठित कार्यदलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरलाई बुझाएको ऐन संशोधन मस्यौदामा धरौटी रकम नगदै एक करोड बनाउन प्रस्ताव गरेको छ । कार्यदलले स्वास्थ्य परीक्षण गर्ने संस्थाको समेत धरौटी बढाउनुपर्ने प्रस्ताव गरेको छ । कार्यदलका संयोजक पाण्डेले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरिक्षत गर्न मेनपावर र स्वास्थ्य संस्थाको धरौटी वृद्धि आवश्यक रहेको बताए  ।
कार्यदलले प्रस्ताव गरेको मस्यौदामा विधायिका सहमत भए नयाँले मात्र नभई पुराना म्यानपावरले पनि एक करोड रुपैयाँ नै धरौटी पु¥याउनुपर्ने छ । पुराना म्यानपावरको हकमा भने ६ महिनाको समय दिन सकिने प्रस्ताव गरिएको छ । सोही कार्यदलले ऐन संशोधनका लागि सीप विकास तालिम केन्द्र र अनलाइन सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, खाडी र मलेसियाबाट आउने कामदार मागबारे सम्बन्धित दूतावासबाट अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेसमेत प्रस्ताव गरिएको छ । कार्यदलले तयार मस्यौदामा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आइरहेका स्वास्थ्य संस्थाको धरौटी पनि बढाउने प्रस्ताव गरिएको छ । एक लाख धरौटी राख्दै आएका स्वास्थ्य संस्थाले सात लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको पाण्डेले बताए ।
वैदेशिक रोजगारीमा जाने कामदार संख्यालाई आधार मान्दा म्यानपावरको संख्या निकै बढी भएको बताउने गरेका कर्मचारीले नयाँ म्यानपावर थप्ने क्रम भने जारी राखेका छन् । पछिल्लो एक वर्षमा मात्र वैदेशिक रोजगार विभागले एक सय ३८ म्यानपावरलाई दर्ता गर्दा हाल त्यो संख्या एक हजार ७३ पुगेको छ । कतिपयले म्यानपावर दर्ता गर्दै अरुलाई बढी रकममा बिक्री गर्ने गरेको समेत पाइएको छ ।
विज्ञहरूले नेपालमा बढीमा दुई सय म्यानपावर भए पुग्ने बताउँदै आएका छन् । नेपालको तुलनामा निकै बढी जनसंख्या रहेको भारतमा तीन सय जति म्यानपावर रहेको बताइन्छ । वैदेशिक रोजगारीको क्षेत्रमा धेरै ठगीका घटना हुनुमा साना म्यानपावर बढी जिम्मेवार रहेको पाइएको अधिकारीहरू बताउँछन् । ‘ठूला म्यानपावरलाई कामदारलाई ठगी गर्दा हुन सक्ने कारबाहीको डर हुन्छ,’ विभागका एक निर्देशकले भने, ‘तर, साना म्यानपावरले भने मनपर्दी असुली गर्दा कामदार ठगिन्छन् ।’

‘व्यवस्थित गर्न म्यानपावरको धरौटी एक करोड’
तेजराज पाण्डे

सहसचिव, श्रम तथा रोजगार मन्त्रालय
वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित गर्न म्यानपावर दर्ता र पुरानाका लागि ६ महिनाको समय दिएर एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरेका हौं । यस अघि नै म्यानपावरलाई सोही अनुसारको धरौटी राख्ने व्यवस्था गर्न सकेको भए अहिले देखिएका कैयन समस्या समाधान हुन सक्थे ।
हाल थोरै रकम धरौटी राखेर म्यानपावर दर्ता गर्ने फेसन नै बनेको छ । पछिल्लो एक वर्ष यता मात्र एक सय ३८ म्यानपावर दर्ता भए । कामदार ठगी गर्ने र बदमासी गर्ने म्यानपावर केलाउँदै जाने हो भने धेरै कामदार पठाउने र समाजमा चिनिएका भन्दा थोरै संख्यामा कामदार विदेश पठाउने र नामै नसुनिएका म्यानपावरद्वारा बदमासी गरिएका बढी उदाहरण पाइन्छन् ।
त्यसैले हाम्रो प्रयास गुणस्तरीय वैदेशिक रोजगारीको क्षेत्रलाई बढ्वा दिनकै लागि हो  ।  हामीले गरेको प्रस्ताव अनुसार नै ऐन संशोधन हुन्छ भन्ने चाहिँ छैन । तर, हाम्रो बुझाइ म्यानपावर दर्ताका लागि एक करोड रुपैयाँ धरौटी राख्ने व्यवस्था हुन सक्यो भने त्यसले अवश्य पनि सुधार हुन्छ भन्ने हो । विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउने अन्य छिमेकी मुलुकमा रहेका म्यानपावरको संख्या हेर्ने हो भने नेपालको भन्दा म्यानपावर थोरै छन् । नेपालमा पनि म्यानपावर थोरै हुने हो भने उनीहरूको अनुगमन गर्न सजिलो हुन्छ र जसले गर्दा कोही कामदार समस्यामा प¥यो भने पनि कारबाही  गर्न सकिन्छ ।

‘धरौटी एक करोड पुर्याए साँचो बुझाउँछौं’
रोहन गुरुङ

अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ
नयाँ र पुराना म्यानपावरको धरौटी रकम एक करोड रुपैयाँ पु¥याउने प्रस्ताव कदापि मान्य हुन सक्दैन । धरौटी बढाउने मन्त्रालयले गरेको प्रस्ताव निकै पूर्वाग्रही छ । कामदारको हकमा निःशुल्क भिसा र टिकटको प्रस्ताव गर्ने मन्त्रालयले  म्यानपावरको धरौटी कसरी एक करोड हुनुपर्छ भनेर किन भन्यो बुझ्न सकेका छैनौं ।
म्यानपावरलाई नाफा लिन पाइँदैन भन्ने तर धरौटी त्यति ठूलो राख्न लगाउँदा त्यसबाट कस्तो असर पर्ला ? यस्तो भयो भने कुनै पनि म्यानपावर चल्न सक्दैनन् । म्यानपावरको साँचो सरकारलाई बुझाउँछौं ।

  • नागरिकन्युज बाट