आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

बुद्ध लामालाइ ललितकुमार तामाङको खुला पत्र

परदेशी खबर १० आश्विन २०७४, मंगलवार १०:३८ मा प्रकाशित ( ६ साल अघि) ४८६ पाठक संख्या

डियर बुद्ध लामा,
म तिम्रो करोडौँ फ्यानहरू मध्यको एक हुँ । तिमी हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्व चर्चित गायन प्रतियोगिता टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको उपाधि चुम्न सफल भएका एक आइडल हौ। अर्थात गायनमा सम्भावना बोकेर नेपाली साङ्गीतिक आकाशमा उदाउँदै गरेको एक गायन प्रतिमा हौ । तिम्रो कला र गलाको उच्च सम्मान गर्दै समयको यस घडीमा म लगाएत तिम्रा करोडौँ फ्यानहरू तिमी प्रति गर्व गरिरहेका छन । र हामी आशा राख्दछौँ भविष्यमा पनि तिमीले यसरी नै उपाधिहरू चुम्दै एक प्लेब्याक सिङ्गर बनेर करोडौँ फ्यानहरूलाई गर्व बनाइराख्नेछौ।

बुद्ध ! तिमी एक बहुप्रतिभाशाली (भर्सटाइल) गायक हौ । त्यसैले हिजो सफलताको शिखर चुम्न सिँढीहरू चढ्दै गर्दा तिमीले करोडौँ फ्यानहरूका साथ पाएका थियौ। सिँढी चढ्नेहरू तिमी एक्लै थिएनौ तर अरू पनि धेरै थिए र उनिहरू पनि उतिकै तिमी जतिकै बहुप्रतिभाशाली थिए । तर हामीले तिमीलाई साथ दिएका थियौं। हामीले किन तिमीलाई मात्रा साथ दियौँ त्यो बुझ्नका लागि यो पत्र अन्तिम सम्म पढ्नु नै पर्छ ।

हामी सबैलाइ थाह छ कि नेपालीहरूको सांघुरो साङ्गितिक आकाशमा सम्भावना बोकेका भर्सटाइल गायकहरू धेरै उदाए । केहि उदाउन नपाउदै अस्ताए भने केहीले मात्रा आफ्नो पहिचान बनाउन सफल भएका छन । त्यसैले यस सांघुरो साङ्गितिक आकाशमा आफ्नो पहिचान बनाउनका लागि तिमीले धेरै- धेरै संघर्षहरू गर्नु छ । हिजो सम्मा अरूको गीतहरू गाउँदै थियौ भने आज देखि तिमीले आफ्नै गीत गाएर गला र कलाको सदुपयोग गरेर साङ्गीतिक दुनियाँमा तहल्का मच्चाउनै पर्छ । साङ्गीतिक दुनियाँमा तिम्रो छुटै पहिचान बनाउनै पर्छ । र तिम्रा सफलतामा डाहा गर्नेहरूको, आज विभिन्न लाञ्छनाहरू लगाउनेहरूको र आत्मा दहनमा छेद विच्छेद हुनेहरूको मन लोभ्याउनै पर्छ । तब बल्ल तिमीले “नेपाल आइडल” उपाधि चुमेको अर्थ दिनेछ । र तिमीले तिम्रा सारा फ्यानहरूको माया पाइरहनेछौ । मलाइ तिमिमा विश्वास छ तिमीले यसोगरेरै छाड्नेछौ।

बुद्ध ! तिमीलाई थाहा नभएका केही कुराहरू मैले भन्नै पर्छ । वास्तवमा हामी तामाङ हौं लामा होइनौ । “लामा” बौद्ध धर्मका पूजारी तथा सम्मानित उपाधि मात्र हो । यो शब्द बौद्ध धर्ममा महायाना अन्तर्गतका आध्यात्मिक गुरूको लागि प्रयोग गरिन्छ । अवतारी लामा या बौद्ध धर्म अध्ययन गरेर जस्ले जीवनमा पदावि आर्जित गरिन्छ उनिहरूले पनि लामा लेख्छन तर लामा थर या जात भने होइन । लामा भन्ने थर तामाङमा हुँदैन। इतिहासमा हाम्रा पुर्खाहरूले तामाङ लेख्दा वहाँहरुले तिखा बाणरुपी घृणा र अपमानका प्रहारहरू खेप्न पर्दथ्यो । त्यसैले त्यसता उपहास हुँदैबाट बच्नकै लागि लामा लेख्ने प्रचलन सुरू भएको थियो । यसरी हामी तामाङहरू इतिहास काल देखिनै दमन, शोषण, पीडन, उपेक्षा, सिमान्तकृत, अपहेलना, विभेदना र विभिन्न अवसरहरू बाट बञ्चितको चपेटामा पर्दै आएका छौं । राज्यका विभिन्न तह र तप्कामा आसीन बाहुनहरूले हामीलाई अयोग्य, स्वाँठ, तिघ्रे, जङ्गली, गोठाले र भरिया जस्ता अति अपमानित पगरीहरू ले गुथ्याइराख्थे र हाम्रा प्रतिभाहरूलाई दबाउँथे । त्यसैले आज तिम्रो लुकेका प्रतिभालाई प्रष्फुटन गराउँदै दुष्मनहरूलाई देखाउनु थियो र तिमीले देखाएरै छाड्यौ ।

हिजो तिमीले “मट्याङ्ग्रा” शब्दलाई “मच्याङ्ग्रा” उचारण गर्न पुग्दा धेरै नकारात्मक टीका टिप्पणीहरू सहनु पर्‍यो । यो त केवल एक सानो उदाहरण मात्रा हुन । हाम्रा लागि “मट्याङ्ग्रा” एक विदेशी भाषा हो । तर यसको मतलब तिमीलाई गलत उचारण गर्न छुट छ भन्न खोजेको होइन । टिप्पणिकारहरूले त्यति बिघ्न टिकाटिप्पणी गर्न जरुरी थिएन । तर यो हाम्रो लागि स्वाभाविक नै थियो किनकी हाम्रो आफ्नै इतिहास छ, हाम्रो आफ्नै भाषा आफ्नैभेश-भुषा धर्म, रीतिरिवाज र पृष्ठभूमि छ। संसारमा आफ्नोत्वमा रमाउन नचाहने शायदै कोही मानिस होलान् त्यस्तै हामीहरू पनि हौं । किनकी हाम्रो संस्कारहरू संसारमै अद्वितीय छन् । त्यसैले हामीले यी कुराहरूमा आज गर्व गर्नु पर्दछ । र अब हामीले ढुक्क भएर आफ्नो नामको पछाडि तामाङ लेख्न र लेख्न लगाउनु पर्छ ।

अन्तमा तिमी यसरी नै नेपाली साङ्गितिक आकाशमा मात्रा नभएर विश्वाभरिकै साङ्गितिक आकाशमा चम्किरहन सफल होस भन्दै तिम्रो उज्वल भविष्यको कामना गर्दछु ।

उही तिम्रो फ्यान
ललितकुमार तामाङ
दोहा कतारबाट