आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दोर्जे दाइको मायाँ र मैले जितेको चुनाव: शित्तल थोकर तामाङ

परदेशी खबर २५ बैशाख २०७४, सोमबार ०५:४३ मा प्रकाशित ( ६ साल अघि) ३२९ पाठक संख्या

जाडो महिनामा बिछट्टै जाडो अनि गर्मीमा उखर्माउलो गर्मी हुन्छ मन्थलीबजार। बैशाखको घाम। हपहप गर्मी भैरहेको थ्यो।
कलेज बाट आउन साथ तामाकोशिको किनारमा हाम फाल्न कुद्यौँ हामी। माछा झै तैरी रह्यौँ। पानीमै लुकमारी खेली रह्यौँ। भोक लागेपनी बजारको गर्मी सम्झेर पानी छोडी कतै जान मन थेन। शुसिलाले कर गरिन। जाम भोक लाग्यो भनेर। धोएर सुकाएका लुगाहरु सुकिसकेछ। पट्याउँदै ब्यागमा हाल्यौ र बजार तर्फ मोड्यौँ।
मैले पहिलो पटक पाइन्ट लगाएर हिडेको। थोरै लाज थोरै डर त अलि अलि खुसी अनि उत्साह मिसेको थियो मेरो अनुहारमा।
हामी देवकोटा चोक पुग्यौँ। भर्खरै पानी बाट निस्केर आको भएता पनि थोरै उकालो हिड्दा पसिना चुहिसकेको थ्यो नाक बाट। “म्हेन्दो खालाङ निसि खाबा ए” ( म्हेन्दो कहाँ गएर आको तिमी।)
दोर्जे दाइ पो रैछ।’ए दाइ हामी कोशिमा गएर आको।’
पाइन्टमा तिमिलाइ कस्तो सुहाको म्हेन्दो। दोर्जे दाइले कस्तो कस्तो नमिठो हेराइ मिसाउँदै भन्नुभो।
म प्रतिउत्तर अघि बढेँ।
दोर्जे दाइ मेरै फुपुको छोरो। हाम्रो तामाङ समाजमा मामाको छोरा छोरी अनि फुपुको छोराछोरि कुटुम्बा हुन्छ। अर्थात विवाह गर्न मिल्छ। दोर्जे दाइले मलाइ सानै देखि मन पराउनुहुनथ्यो । म भने दोर्जे दाइ भन्थे। दोर्जे दाइलाई कहिले पनि मात्र दोर्जेको नजरमा हेर्न सकिनँ। र त्यो आभास म मा आउँदै आएन। म दोर्जे दाइलाइ आफ्नो दाइ जत्तिकै माया अनि इज्जत गर्छु।
दोर्जे दाइ, पाल्देन दाइ र मेरो एउटै कलेज। कलेजमा केटाहरुले जिस्कायो भने म दोर्जे दाइ र पाल्देन दाइलाइ भन्ने गर्छु। हामी एउटै चुलो एउटै रगत मिसिएको एउटै सन्तान हौँ। दोर्जे दाइ बाबाको दिदी को छोरा अनि पाल्देन दाइ बाबाको भाइको छोरा। दोर्जेदाइले मलाइ जिस्काउँछ। तर पाल्देन दाइले केही भन्नू हुन्न।

कलेजका केटाहरुले मलाइ जिस्काउँदा पाल्देन दाइ पनि तात्नु हुन्छ। तर दोर्जे दाइले जिस्काउँदा खै किन चुप लागेर बस्नु हुन्छ । यो देखेर मलाइ पाल्देन दाइ सङ्ग औधी रिस उठ्छ।
गाउँमा उच्चशिक्षा नभएको कारण हाम्रो तिरको सबै उच्चशिक्षा हासिलको लागि सदरमुकाम झर्ने गर्छ। गत हप्ता कलेज छुट्टी हुन साथ म गाउँ हिडेँ। गाउँमा चुनाबको माहोल उसै चर्किँदै रहेछ। पाल्देन दाइ र दोर्जे दाइ दुई हप्ता अगाबै गाउँ पस्नु भाथ्यो। वहाँहरु पनि पार्टिको झण्डा फर्फराउँदै घर दैलो अभियानमा सहभागी हुनुभएका रहेछन। पहिला गाउँका सबै माओवादी थिए। अहिले काङ्ग्रेस आधा आधी र एमाले फाट्टा फुट्ट भै सकेको रहेछन। सबै पार्टिका नेताहरु आ आफ्नै बकम्फुसे भाषण दिनमा मस्त ब्यस्थ रहेछ।
म गएको दिन साँझ नहुँदै पाल्देन दाइले भाले काट्यो। दोर्जे दाइ र बा पनि गाउँ डुलेर बेलैमा आइपुग्नुभो। दोर्जे दाइको बा पनि
आउनु भा रैछ। बिस्तारै हाम्रो घरमा चहलपहल बड्दै गयो। बा मन्थली नगरपालिका वडनम्बर १४ बाट अध्यक्षमा उठ्नु भा रैछ। उठ्नु भा हैन अरुले उठाइ देका रैछन। बा सोझो हुनुहुन्छ। उहाँलाइ एमालेबाट उठाएको रैछ। उठाउन मदत र हौसला भन्दा बढी उत्साहित गर्नेहरु माओवादीकै मान्छे थिए। काङ्ग्रेसले जित्ने सम्भावना बढी देखे पछि यसो गर्न थालेछ। भनौँ बा को जिवनमा राजनिती खेलाइएछ।
बालाई परिवारका सदस्य को भन्दा अन्त बाट भोट आउने कुरा थिएन। त्यसैले सोझो पनको फाइदा उठाएर माओवादी कै मान्छे मिलि फूपूको परिवारको पनि भोट दिलाउन बाध्य बनाएछ। म यस बिषयमा अन्धो नै थिएँ। चासो राख्न पनि मन लागेन। मलाइ यो देशको भन्दा अफ्नै चिन्ता बढी थियो। ब्यक्ती ब्यक्तिको जीवन सङ्ग खेलेर देश बनाउछन नेताहरु। बा त्यै ब्यक्ती थियो। जो सङ्ग खेल खेल्दै थियो नेताहरु। बालाई कसैले फुर्कायो कि फुर्की हाल्थे। तल्लो घरको हरि दाइ पनि आइपुग्यो। हरि दाइ काङ्ग्रेसमा लागेको रे भन्ने कुरा सुनेकै थेँ। तर एमालेले गरेको कार्यक्रममा किन आएछन, म छक्क परेँ। एउटा दुइटा गर्दै केही मान्छेको जमात थपियो हाम्रो घरमा। ऐराक (रक्सी) खाएपछी सबैले बालाई साथ दिने भए। त्यहाँ एमालेको मात्र हैन काङ्ग्रेस र माओवादीका पनि कार्यकर्ता भेला भाथ्यो। मासु नपुगेर फेरि अर्को भाले काटियो। यो पटक दोर्जे दाइले भुत्ला केलाउनुभो। आन्द्रा केलाउनुभो। पानी मैले हाली दिएँ। मैले एकै पटकमा यतिका मान्छे हाम्रो घरमा भेला भाको पहिलो पटक देखेको थिएँ। दोर्जे दाइ लाई सोधेँ ” दाइ आज एमालेको तर्फ बाट हाम्रो घरमा भोज हो? दाइले “हो” मात्र भन्नू भो। जिज्ञासा् झन बढेर आयो। अनि अरु दलका पनि छन नि। ” स्थानिय तहको काममा दल सल गनिँदैन मेरि मैयाँ । जस्ले काम गर्छ त्यस्को साथ दिने हो बुझिस।” उस्ले “मेरि मैयाँ” भन्दा रिस नउठेको भने हैन। तर जस्ले काम गर्छ साथ उस्लाइ भन्दा खुसी नै भएछु। किन भने बा लाई साथ दिँदै थिए सबैले। अहो बाले नि सबैको भलो चिताउँदो रहेछ। हैन म लाई बल्ल बल्ल पढ्न देको तर सबैको भलो चिताउने कुरा कसरी आयो। म नबुझेरै बुझेँ भन्ने इसारा गरेँ। कुखुरा केलाएर सकेकै थेन। मैले अरुकुरा गर्ने मन पनि गरिनँ। म चाहान्थे चाँडै सकोस यो काम। म चुप लागेको देखेर दोर्जे दाइ म तिर हेर्दै मुसुक्क हाँस्यो र भन्यो ” तँलाइ था छ? चुनाब को भोलि पल्टै हाम्रो टिका टालो हुन्छ।” मैले कुरा बुझिनँ “को हाम्रो?”
” तेरो र मेरो। त्यसैको भोज हो यो। भोज नख्वाइ नमान्ने मुर्दाहरु ।”
के कुरा नमान्ने?
“मामा लाई भोट दिन नमान्ने।”
हरे के के भन्छ भन्छ। साँच्चै मैले केही बुझिनँ। म रनभुल्लमा परेँ। बुझे झैँ गरि गाला रातै बनाएँ। अनि हडबडाउँदै सोधेँ। ‘म त तपाईं शीत ब्या गर्दिन।’
“नगरेर भो? भोज आधी भ्याइसक्यो। अब एक छिनमा पुरै सकिन्छ। यदि तैँले म सङ्ग ब्या गरिनस भने मामालाई कस्ले भोट दिने?”
मरि गएनी म ब्या गर्दिनँ। बरु मरिदिन्छु’ ।
मेरो कुरा सुनेर दोर्जे दाइ झस्कियो। हातमा रहेको धारिलो खुकुरी बुढी औँलामा बत्तिन गयो र रगत आयो। म मौन भएँ। दुबै मौन भयौँ। कुखुरा केलाएर सकियो। दोर्जे दाइ जुरुक्क उठ्यो र भन्यो ” तँ चिन्ता नगर। म तँ सङ्ग ब्या नगरे पनि मामालाई चुनावमा जिताएरै छोड्छु।” म सरासर भित्र पसेँ।
दोस्रो घान मासु नि पाक्यो। र सकियो पनि। मैले झोल सङ्ग भात खाएँ। सबैको भागमा तीन तीन पिस हाल्दा हाल्दै म र आमालाइ झोल मात्र रहेछ। झोल सङ्ग भात खाँदा आफ्नै भोजको भत्यार खाएको भान भो। घाँटी बाट जाँदै गएन। म जुरुक्क उठेर मुख चुटेँ अनि मस्तला गएँ । भर्‍याङ्बाट तल भएको सबै वार्ता सुनिराथेँ म। “बाले चुनाव जित्छ भने म ब्या गर्न राजी छु” म्हेन्दोले यसै भनी भनेर दोर्जे दाइले भनेको प्रस्टै सुनेँ। म बाले चुनाव जितोस नजितोस आफ्नो जिन्दगिको चुनाव आफैले हात पर्नु पर्छ भन्नेको पक्षमा थेँ। आजको समस्या त टर्यो। लामो सास फेरेँ।
बाले चुनाव जितेपछी दोर्जे दाइले न जबर्जस्ति पो गर्ने हो कि! बा त बोलिको पक्का छ। मेरो मुटुमा ड्याङ्ग्रो बजिरह्यो। क्रमश: बजिरह्यो।
यता उत्ति गर्दा गर्दै एक हप्ता भै सकेको थ्यो पढाइ छुटेको। तर सदरमुकाम झर्न बन्देज जस्तै लगाइएको थ्यो। चुनाव पनि मुखमै आइ सकेको थ्यो। मलाइ जसरी नि फुत्केर जानू थियो। कस्लाइ भनुँ। आमा त्यसै आत्तिने। दाइ पनि विदेश। घरमा भएको भए पनि दाइले यसो गर्न दिनुहुन्नथ्यो होला। दाइ त माओवादी सपोर्टर। बालाई एमालेमा उठ्न दिनुहुन्नथ्यो होला। दोर्जे दाइ लाई नै भन्न उचित लाग्यो। एकान्त पारेर भनेँ “दाइ चुनाव आउन २ दिन मात्रै बाँँकी छ।
बाले जिते पनि नजिते पनि अबको ३ दिनको दिन हाम्रो बिहे हुन्छ। मैले जसरी पनि भागेर जानू पर्छ। म आजै जान्छु । बालाई नभन्नु है!
“यसरी हुदैन। तँ चिन्ता नले। बरु आफ्नो सामान प्याक गरेर राख। तँ भागेर गैइस भने मामाले चुनाव जित्छ भन्न सकिँदैन। म कुरा मिलाउँछु।” दोर्जे दाइ बतास बिलाएझैँ बिलायो। म खुरु खुरु सामान मिलाउने तर्फ लागेँ।

आघा घण्टा भै सकेको थ्यो । न बा आउँछ न दोर्जे दाइ नै। धैर्यताले सिमा नाघ्नै थालिसकेको थ्यो। “म्हेन्दो।” बा आइपुगेछ।
“है आप्पा ङा तालारी मुला।” (हजुर बा म मास्ताला छु।)
“तिम्रो मास्टरको फोन आको थियो। तिमिलाइ जसरी पनि भोलि क्लास मा आउनु भन्ने आदेश छ। आजै तयार हुनु। दोर्जेले छोडिदिन्छ।”

मैले दोर्जेलाइ लाख लाख धन्यवाद दिएँ मनमनै। बा निस्कने बित्तिकै आमालाइ जान्छु भने। दोर्जे दाइ मलाई कुरिरा रैछ। म आफै जान्छु पुर्‍याउन पर्दैन भनेँ। झोलालाइ काखी च्यापेर जिवनको चुनाव जितेको खुसी बोकेर दगुरेँ। जंगल छिचोलेर तामाकोशी किनार आइ पुग्न जम्म १ घण्टा लागेछ। अरु बेला ३ घण्टा लाग्थ्यो। खुट्टाको जुत्ता फाटेर प्यास लागेको माछा जस्तै मुख आँ भएछ। जुत्ता फाटेपनी दोर्जेले मेरो पढेर ठूलो मान्छे हुने सपना फाट्न दिएन। साच्चै दोर्जेले मलाइ माया गर्दो रहेछ ।मन मनै दोर्जे दाइलाई माफी मागेँ” दोर्जे दाइ मैले तपाइँलाइ प्रेमिको नजरमा कहिले हेर्न सकिनँ र सक्दिनँ पनि। तपाईं मेरो दाइ हुनुहुन्छ। मेरो सपनालाई बचाउने देवता हुनुहुन्छ। मलाइ माफ गर्नुस दोर्जे दाइ।”

बाले चुनाव जित्ला नजित्ला त्यो बा जानुन तर मैले मेरो जिन्दगी जितेँ किनभने यसबेला नै ब्या गर्नु मेरो लागि जीवन हार्नु जत्तिकै लाग्छ। खै मैले बुझेकै छैन कि? तर म ढुक्क छु। अब कोहि छैन म सङ्ग राजनिती गर्न खोज्नेहरु।