आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

बजेटको संशोधित लक्ष्य भेट्न दैनिक ६ अर्ब खर्चिनुपर्ने

परदेशी खबर २० बैशाख २०७४, बुधबार १९:०५ मा प्रकाशित ( ६ साल अघि) १५४ पाठक संख्या

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

मे ३, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको संशोधित खर्च लक्ष्य भेट्टाउन पनि अब हरेक दिन ६ अर्ब खर्च गनुपर्ने देखिएको छ । बैशाख १६ गतेसम्म सरकारले कुल विनियोजित बजेटको ४५ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ ।

राष्ट्रिय योजना आयोगमा बुधबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औं बैठकमा सो जानकारी दिइएको हो । सरकारले मध्यावधि समिक्षामा कुल विनियोजित बजेट (१० खर्ब ४८ अर्ब रुपैयाँ) को ८९.२२ प्रतिशत अर्थात् ९ खर्ब ३५ अर्ब रुपैयाँमात्र खर्च गर्न सक्ने संशोधित अनुमान गरेको थियो । सरकारको संशोधित खर्च लक्ष्य भेट्न पनि अबको हरेक दिन ५ अर्ब ९७ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको हो ।
राष्ट्रिय गौरवका आयोजनाहरुको लागि यस वर्ष छुट्याइएको बजेटमध्ये ३ वटाको भौतिक काममा शतप्रतिशत खर्च गर्न सरकार सफल भएको छ भने ९ वटामा ५० प्रतिशतभन्दा बढि काम भएको छ ।

भौतिक निर्माणतर्फ शतप्रतिशत लक्ष्य भेट्ने आयोजनाहरु

बुढि गण्डकी जलविद्युत् आयोजनाको लागि यस वर्ष भौतिक तर्फको लागि छुट्याइएको शत प्रतिशत रकम खर्च भएको छ । तर, यस आयोजनाको लागि यस वर्ष लिइएको वित्तीय तर्फको खर्च लक्ष्य भने ४३.५ प्रतिशत मात्र पुरा भएको छ । यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको छ । त्यस्तै, क्याम्प साइटको १ सय ३३ रोपनीको मुआब्जा वितरण र ५८ हजार बढि रोपनी निजी जग्गा अधिग्रहण भएको छ ।

रानीजमरा, कुलरिया सिंचाईमा पनि यस वर्ष भौतिक तर्फको लागि छुट्याइएको शत प्रतिशत रकम खर्च भएको छ भने वित्तीय तर्फ ९२ प्रतिशत रकम खर्च भएको छ ।

यता, सिक्टा सिचाईको पनि यस वर्ष भौतिक तर्फको लागि छुट्याइएको शत प्रतिशत रकम खर्च भएको छ । तर वित्तीय तर्फ यस वर्ष छुट्याइएको ५३ प्रतिशत रकम मात्र खर्च भएको छ । सिभिल कार्य सकिएको यो आयोजनाको मूल नहर अन्तरगतको अन्तर्राष्ट्रिय ठेक्काको कार्य अगाडी बढिरहेको आयोगले उल्लेख गरेको छ ।

त्यस्तै, बबई सिचाई र भेरी डाइभर्सनको यस वर्ष भौतिकतर्फ क्रमशः ७५ र ८० प्रतिशत, वित्तीयतर्फ ७१ र ३५ प्रतिशत खर्च लक्ष्य पुरा सरकार सफल भएको छ ।
उत्तर–दक्षिण लोक मार्ग (कोशी कोरिडोर), उत्तर–दक्षिण लोक मार्ग (गण्डकी कोरिडोर) र उत्तर–दक्षिण लोक मार्ग (कर्णाली कोरिडोर) को भौतिकतर्फ खर्च क्रमशः ८५, ६०, ६० प्रतिशत भएको छ । वित्तीयतर्फ भने कोशी कोरिडोरको ९१ प्रतिशत, गण्डकी कोरिडोर ४० प्रतिशत र कर्णाली कोरिडोर २९ प्रतिशत रहेको छ ।

काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक र वित्तीय लक्ष्य दुवै ६ प्रतिशतमा सिमित छ । पुष्पलाल (मध्य पहाडी) लोकमार्गको भौतिकतर्फ ५४ प्रतिशत र वित्तीय तर्फ ७२ प्रतिशत खर्च भएको छ । रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिकतर्फ २२ प्रतिशत र वित्तीयतर्फ १९ प्रतिशत खर्च भएको छ । मेलम्ची आयोजनाको भौतिकतर्फ ७४ प्रतिशत र वित्तीयतर्फ ७५ प्रतिशत खर्च भएको छ ।

अन्तराष्ट्रिय बिमानस्थलका प्रगति

गौतम बुद्ध क्षेत्रीय बिमानस्थलको लागि यस वर्ष भौतिकतर्फ छुट्याइएको रकमको २७ प्रतिशत र वित्तीयतर्फ २१ प्रतिशत तथा पोखरा क्षेत्रीय बिमानस्थलको भौतिक र वित्तीय दुवैतर्फ २५ प्रतिशत खर्च भएको छ । यता, दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको भौतिकतर्फ ३३.५ प्रतिशत र वित्तीय तर्फ १.६ प्रतिशत मात्र खर्च भएको छ ।

शून्य प्रगतिका योजना

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र पश्चिम सेती जलविद्युत् आयोजनाको खर्च प्रगति नै देखाउन सकेको छैन । साभार: अनलाईन खबर