आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

अम्बिका याम्फु अनमोल को 'मोहक मकालु' र शान्ता खवासको 'पराइको नजरमा' मुक्तक संग्रह विमोचित

परदेशी खबर १६ बैशाख २०७४, शनिबार १८:०४ मा प्रकाशित ( ६ साल अघि) २९९ पाठक संख्या

काठमाण्डौ,१६ बैशाख । नेपाल मुक्तक प्रतिष्ठानका आजीवन सदस्यद्वय अम्विका याम्फु “अनमोल”को “मोहक मकालु” मुक्तक संग्रह र शान्ता खवास भुजेलको ‘पराईको नजरमा’ मुक्तक संग्रह बैशाख १५ गते काठमाण्डौंमा प्रतिष्ठानको एउटै ब्यानरमा संयुक्त रुपमा लोकार्पण गरिएको छ ।

बरिष्ठ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार चेतन कार्कीलेको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण समारोहमा नेपाली साहित्य, कला, संगीत क्षेत्र लगायत सदस्यद्वयका आफ्ना आफन्त र परिवारजनको उपस्थिति रहेकोलथियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले भन्नु भयो – नेपाली मुक्तक अब नेपालमा मात्र सीमित रहेन, यसले विश्वव्यापी रुप लिई सक्यो ।उहाँले दुबै जनाको मुक्तक कृति पढेको कुरा सुनाउँदै भने -उनीहरू सिकारुजस्ता लागेनन्,मुक्तक निकै भाँती पुर्‍याएर लेखेका छन् । प्राज्ञ तथा प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले दुइटै विमोचित कृतिहरूमाथि सर्सर्ती समीक्षा गर्दै मुक्तक निकै पठनीय भएको भन्दै मुक्तककारद्वयलाई बधाई दिएका थिए ।


प्रतिष्ठानका महासचिव रमेश पौडेलले मोहक मकालु “प्राकृत” र पराईको जनरमा “काव्यिक” नामाकरणले कृतिकै शोभा बढाएको छ भन्दै बधाई ज्ञापन गर्नु भयो । मुक्तककार तथा कलाकार खगेन्द्र पन्धाक लिम्बुले अनमोलको लेखनीका बारेमा बोल्दै धन्यवाद दिनु भयो ।

प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तब्य दिनु भएको थियो भने प्रतिष्ठानका सचिव बादल घिमिरेले समारोह सञ्चालन गर्नु भएको थियो । समारोहको अध्यक्षता गरिरहनु भएका प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रतिष्ठानको इजरायल शाखा निकै सक्रिय रहेको निरन्तर कृति प्रकाशनमा ल्याएकोमा शाखाका सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्नु भयो ।

सो अवसरमा मुक्तककार सुनिल अधिकारी,प्रतिष्ठानकी आजीवन सदस्य कल्पना जिज्ञासुले विमोचित दुबै कृतिका मुक्तक सुनाउँदै शुभ कामना व्यक्त गर्नु भएको थियो । मुक्तककारद्वय भुजेल र अनमोललाई नेमुप्र केन्द्रका तर्फबाट पनि बधाई तथा शुभकामना दिइएको थियो ।