आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भारतले दिएको सिमा अनुसार प्रक्तिव्यक्ति साढे ४ हजारका दरले भारु साट्न निर्देशन

परदेशी खबर २९ चैत्र २०७३, मंगलवार ११:५६ मा प्रकाशित ( ६ साल अघि) ६१७ पाठक संख्या

चैत्र २९, काठमाडौं l भारतले दिएको सिमा अनुसार प्रक्तिव्यक्ति साढे ४ हजारका दरले प्रतिवन्धित भारु पाँच सय र हजार दरका नोट सटही गर्न सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालयले मंगलबार राष्ट्र बैंकलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । ‘पहिलो चरणमा भारतको प्रस्ताव बमोजिम भारु साढे ४ हजारका दरले सटही गर्न राष्ट्र बैंकलाई भनेका छौं,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘ थप भारु सटहीका लागि राष्ट्र बैंक र सरकार दुबै तहबाट पहल गर्ने निर्णय भएको छ ।’ अर्थमन्त्रालयले राष्ट्र बैंकले तयार गरेको मोडालिटी अनुसार बैंकमार्फत साट्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्रतिव्यक्ति भारु २५ हजार सम्म सटही सुविधा दिन आग्रह गरिरहेको अवस्थामा करिब ३ साता अघि नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति साढे चार हजार भन्दा बढी साट्न नसक्ने बताएको थियो । भारतको प्रस्ताव निकै कम भएकाले सटही गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दिन राष्ट्र बैंकले सरकारलाई पत्राचार गरेको थियो । सोही पत्रको उत्तर दिंदै सरकारले हाललाई प्रतिव्यक्ति साढे ४ हजारमात्र भएपनि साट्न निर्देशन दिएको हो ।

सरकारले निर्देशन दिएपनि भारु सटहीका लागि खबर पठाउन भारतले दिएको समय गत शुक्रवार(चैत १८ गते) नै सकिएको छ । पैसा सटहीको विषयमा सरकारबाट कुनै निर्णय नआएपछि राष्ट्र बैंकले निर्धारित समयमा भारतलाई खबर पठाउन सकेको छैन । तोकिएको समयपछि खबर पठाउँदा भारतले मान्ने/नमान्ने कुनै टुङगो नभएकाले अहिल्यै केही भन्न नसक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

मंगलवार मध्यान्नसम्म अर्थमन्त्रालयको पत्र प्राप्त भइनसकेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुङगानाले बताए । उनले भने, ‘पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया मिलाउन भारतलाई आग्रह गछौ ।’

भारत सरकारले गत कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तिमा प्रतिवन्ध लगाएको थियो । त्यसबेला देखि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन । बैंक तथा वित्तीय संस्था र मनी चेञ्चर कम्पनीहरुमा करिब ३ करोड ३६ लाख रुपैयाँ भारु पाँच सय र हजार दरका नोट रहेको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणसँग रहेको नोटको विवरण भने आउन सकेको छैन । साभारःकान्तिपुर अनलाइनबाट