आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

परराष्ट्रमन्त्री महतले हारे, गच्छदारले जिते

परदेशी खबर २० फाल्गुन २०७३, शुक्रबार २१:३३ मा प्रकाशित ( ७ साल अघि) १२७ पाठक संख्या

म्यानपावर सञ्चालक पराजुली अन्तत: राजदूत नियुक्त

 

 

मार्च ३, अन्तत: परराष्ट्रमन्त्री प्रकाश शरण महतले हारेका छन्, सरकार बाहिर रहेका लोकतान्त्रिक फोरमका नेता विजय गच्छदारले जितेका छन्। ब्यापक बिरोघ पछि परराष्ट्रमन्त्री महतले राजदूतमा प्रस्तावित आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता लिएर औपचारिक प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए।
क्याबिनेटमा औपचारिक प्रस्ताव गए लगत्तै फोरमका अध्यक्ष विजय गच्छदार बालुवाटार पुगेर आफूलाई अप्ठ्यारो पर्ने भन्दै पराजुलीको नाम फिर्ता नलिन गुहार गरेका थिए।
लामा र पराजुलीको नाम हटाएर औपचारिक प्रस्ताव मन्त्रिपरिषद पठाउन लगाई मन्त्री महत गत शनिबार जेनेभा हिँडेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तत: गच्छदारको गुहार स्वीकार गरेर पराजुलीको पनि नाम राखेर राजदूतको नियुक्ति टुंग्याएका छन्।
‘हामीले लामा र पराजुली दुवैको नाम हटाएर पठाएका थियौं, मन्त्रिपरिषदले फेरि पराजुलीकको नाम थप्न लगाएर स्वीकृत गर्‍यो,’ परराष्ट्र स्रोतले बतायो।
लामा कांग्रेसको कोटामा युएईका लागि राजदूत नियुक्त भएकी थिइन् भने पराजुली लोकतान्त्रिक फोरमको कोटामा ओमानका लागि राजदुत नियुक्त भएकी थिइन्।
खाडी मुलुकमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनी चलाउँदै आएका लामा र पराजुलीको नियुक्तिको व्यापक विरोध भएपछि परराष्ट्रले उनीहरूको नाम फिर्ता लिने निर्णयमा पुगेको थियो। कामदारहरूको हित रक्षा गर्नुपर्ने प्रमुख दायित्व भएका दूतावासमा ‘बकुल्लालाई माछा रुँग्न राखे’ जस्तै म्यानपावर व्यवसायीलाई राजदूत बनाएर पठाएपछि चौतर्फी विरोध भएको थियो।
परराष्ट्रमन्त्री महतले कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग कुराकानी गरेर नै दुई जनाको नाम फिर्ता लिएका थिए। तर, आइतबार एकाएक गच्छदार राजदूत सिफारिसमा पराजुलीको नाम कायम राख्नुपर्छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए।
‘मलाई अप्ठ्यारो पर्छ, जसरी भए पनि उहाँको नाम राख्नुपर्यो,’ गच्छदारलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो।
स्रोतका अनुसार राजदूत सिफारिसको प्रस्ताव परराष्ट्रले औपचारिक रूपमा मन्त्रिपरिषद लगेकै थिएन। गत सोमबारको मन्त्रिपरिषदमा मन्त्रीहरूले नै आ–आफ्नो दलीय कोटाबाट १४ जना राजदूतको नाम प्रस्ताव गरे र त्यसैमा स्वीकृत गराए। ती १४ मध्ये म्यानपावर व्यवसायीसमेत रहेका लामा र पराजुलीको नामसमेत परेपछि मन्त्रिपरिषद निर्णयको विरोध भयो।
यही विरोधबीच परराष्ट्रमन्त्री महत उनीहरूको नाम राजदूत सिफारिसबाट फिर्ता लिनेबारे छलफल गर्न शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गए।
‘लामा र पराजुलीको नामलाई लिएर धेरै विरोध भएको छ, उहाँहरूको नाम राजदूतबाट फिर्ता लिनुपर्‍यो,’ छलफलबारे जानकार स्रोतले सेतोपाटीसमक्ष महतको भनाइ उद्धृत गर्द भन्यो।
कांग्रेस कोटामा परेकी लामा देउवाकै माध्यमबाट राजदूत सिफारिसमा छिरेकी थिइन्। कांग्रेस सांसद जिपछिरिङ लामाले उनलाई राजदूत बनाउने प्रस्ताव ल्याएको स्रोतको दाबी छ। देउवानिकट जिपछिरिङ ठेकेदारी व्यवसायमा समेत संलग्न छन्। यसअघि कांग्रेस विभाजन हुँदा उनी देउवाकै साथ लागेर कांग्रेस प्रजातान्त्रिकमा गएका थिए।
जिपछिरिङमार्फत् राजदूत बनेकी लामाको नाम फिर्ता लिन देउवाको मञ्जुरी जरुरी थियो। पराजुलीका हकमा उनको नाम फिर्ता लिनुअघि लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग पनि कुरा गर्नु थियो।
स्रोतका अनुसार परराष्ट्रमन्त्री महतले विरोधको कारण देखाउँदै यी दुई जनाको नाम झिक्नुपर्ने प्रस्ताव राखेपछि देउवाले भने, ‘ठिक छ, तिमीले नै थाम्न सकेनौ भने फिर्ता लिए हुन्छ, तर एकचोटि गच्छदारजीसँग पनि कुरा गर्नू।’
त्यसपछि महतले गच्छदारलाई टेलिफोन गरे।
उनले सुरूमा आनाकानी गरे। महतले स्थिति अवगत गराउँदै भने, ‘तपाईंको मात्र सिफारिस झिक्ने होइन, कांग्रेसको आफ्नै सिफारिसको नाम पनि फिर्ता लिने हो।’
जवाफमा गच्छदारले भने, ‘उसो भए मलाई आधा घन्टा टाइम दिनुस्।’
गच्छदारले आधा घन्टापछि महतलाई आफैं फोन गरे। ‘नाम फिर्ता लिने हो भने यसको जवाफ पनि तपाईंहरू आफैं दिनुस्,’ गच्छादारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यत्रो विरोध भएपछि अब तिमीहरूको एग्रिमो आउन गाह्रो हुन्छ, त्यही भएर तिमीहरूको नाम फिर्ता लिनुपर्ने भयो भनेर जवाफ दिनुहोला।’

महत राजी भए।
देउवा र गच्छदारसँग भएको यही कुराकानीका आधारमा परराष्ट्रमन्त्री महतले गत शनिबार जेनेभा उड्नुअघि लामा र पराजुलीको नाम राजदूत सिफारिसबाट फिर्ता लिएर बाँकी नामको औपचारिक प्रस्ताव मन्त्रिपरिषद लैजाने निर्णय गरे। सोमबार मन्त्रिपरिषद बैठक डाकेर यसलाई पारित गर्ने कुरा पनि भएको थियो। ल्होसार पर्वको सार्वजनिक विदा परेकाले सोमबार मन्त्रिपरिषद बैठक बस्न सकेन। मंगलबारको बैठकमा प्रधानमन्त्रीले पराजुलीको थपेर स्वीकृत गरे ।
यसबीच कांग्रेसभित्रै लामाको सिफारिसलाई लिएर विरोध भएको थियो। सोमबार मन्त्रिपरिषदले निर्णय गरेको भोलिपल्टै कांग्रेस समर्थक केही म्यानपावर व्यवसायी सभापति देउवालाई भेट्न गएका थिए। म्यानपावरको चुनावमा एमाले तर्फबाट उम्मेदवार बनेकी लामालाई कसरी कांग्रेस कोटामा राजदूत बनाइयो भन्दै उनीहरूले आपत्ति जनाएका थिए। लामा जनमोर्चा नेपालका तर्फबाट दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ लडेकी थिइन्। जम्मा १४ मत ल्याएर उनी पराजित भइन्।
गच्छदारको सिफारिसमा खाडी मुलुक ओमानका लागि राजदूत नियुक्त पराजुलीलाई ओली सरकारले पनि यही देशका लागि राजदूत बनाउन खोजेको थियो। वैदेशिक रोजगार व्यवसायीको प्रत्यक्ष स्वार्थ जोडिने मुलुक ओमानका लागि राजदूत नियुक्त पराजुली आफैं म्यानपावर कम्पनीसँग सम्बन्धित छन्।
उनका श्रीमान् फ्लोरिड रिसोर्स सोलुसनका सञ्चालक हुन् भने जेठाजू कमल ढकाल सोही म्यानपावरमा आबद्ध छन्। खाडीका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बिएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्टसमेतमा पराजुलीको परिवार संलग्न छ। रोयलले युएई लगायत खाडीका अन्य मुलुकमा कामदार आपूर्ति गर्ने गरेको छ।
वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरैजसोको गुनासो ’म्यानपावर कम्पनीबाट पीडित भएँ’ भन्ने छ। वैदेशिक रोजगारीमा रहँदा सम्झौताअनुसार काम र पारिश्रमिक नपाए वा पीरमर्का परे जुन म्यानपावरबाट गएको हो त्यसैले चासो नराख्ने गुनासो सर्वत्र छ। यस्तोमा म्यानपावर व्यवसायसँग नै जोडिएका व्यक्तिलाई राजदूत बनाउँदा स्वार्थ बाझिन सक्ने सरोकारवालाहरूको भनाइ छ।
पराजुलीले भने शनिबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार व्यवसायमा आफू संलग्न नरहेको दाबी गरेकी छन्। नौ महिनाअघि सरकारले राजदूत सिफारिस गरेपछि हाल आफू त्यो व्यवसायमा नरहेको उनको जिकिर थियो।
अर्कातिर, युएईका लागि राजदूत सिफारिस लामा ‘जब ट्रयाक रिक्रुटिङ प्राइभेट लिमिटेड’ नामक म्यानपावर कम्पनीका सञ्चालक हुन्। एक दशकदेखि उनको कम्पनीले युएई लगायत अन्य खाडी मुलुकमा नेपाली कामदार पठाउँदै आएको छ। उनको यो कम्पनीले वैदेशिक रोजगारमा गएका कामदारलाई सम्झौताअनुसार तलब, सुविधा र जागिर नदिएको भन्दै वैदेशिक रोजगार विभागमा दुई दर्जन उजुरी परेका छन्।
त्यस्तै, उनको नागरिकतामा उल्लिखित विवरणहरू पनि विवादित बनेको छ। नागरिकता र प्रतिलिपिमा जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर फरक परेको तथ्य सार्वजनिक भएको छ।
कांग्रेस नेता शेखर कोइरालाले लामालाई राजदूतमा किन नियुक्ति गरियो भन्ने बुझ्न नसकेको बताउँदै फेसबुकमा आक्रोश पोखेका थिए। उनले लेखेका थिए, ‘वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा एमाले कोटाबाट चुनाव जितेकी व्यक्ति कहिले कांग्रेस भइन्? म्यानपावर सञ्चालन गरेर बसेको व्यक्तिलाई राजदूतजस्तो सम्मानित पदमा नियुक्ति गरेर पठाउँदा यसले कस्तो सन्देश जान्छ?’
ओली सरकारले सिफारिस गरेका २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना राजदूतको नाम पुष्पकमल दाहाल सरकारले फिर्ता लिएको थियो।
– by setopati