आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

आईजीपी बढुवा: देउवा र निधिबीच चर्को विवाद

परदेशी खबर २६ माघ २०७३, बुधबार १०:०४ मा प्रकाशित ( ७ साल अघि) २०९ पाठक संख्या

कुलचन्द्र गौतम / फेब्रुवरी ८ काठमाण्डौ – कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने विषयलाई लिएर चर्को विवाद भएको छ । स्रोतका अनुसार सभापति देउवा तेस्रो बरीयातमा रहेका प्रहरी नायव महानिरीक्षक (डीआइजी)जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छनभने गृहमन्त्री निधि डीआइजी uनवराज सिलवालको पक्षमा छन् ।

कांग्रेस संसदीय दलमा केही दिनअघि आईजीपी कसलाई बनाउने भन्ने विषयमा पार्टी पदाधिकारी र गुहमन्त्रीबीच बैठक समेत भएको थियो । बैठकमा देउवा र निधिबीच चर्काचर्कीसमेत भएको स्रोतले जनायो । देउवाले सुदूरपश्चिमका चन्दलाई बनाउन बारम्बार दवाव दिएपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, देउवाले चन्दलाई आईजीपी नबनाउने होभने पद छाड्न भन्दै निधिलाई दवाव दिँदै आएको स्रोतले बतायो ।

सुदुपश्चिमका सांसद तथा पार्टीका नेताहरुले पनि चन्दलाई आईजीपी बनाउन गृहमन्त्रीलाई भेटेरै बारम्बार लबिङ गर्न थालेपछि गृहमन्त्री निधि पार्टी सभापतिसँग आक्रोशित बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालपनि गृहमन्त्रीकै पक्षमा छन् । पहिलो बरीयातमै रहेकालाई आईजीपी बनाउँदा आलोचना खेप्न नपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्री सिलवालको पक्षमा देखिएका हुन् । आईजीपी बनाउने बिषयलाई लिएर बढेको विवादका कारण गृहमन्त्री निधि पार्टी सभापति देउवाको निवाससमेत जान छाडेका छन् ।

आईजीपी बनाउने बिषयमा सभापति र गृहमन्त्री बीच विवाद बढेपछि विकल्पमा देउवा पक्षकै एक थरी नेताहरुले चौथो बरियातमा रहेका बमवहादुर भण्डारीलाई बनाउन सुझाएका छन् । ‘सभापति र गृहमन्त्री दुवैले हारेकोस्थिति बन्न भएन भन्ने हाम्रो भनाई हो,’ दुई नेताबीचको विवाद मिलाउन जुटेका कांग्रेसका एक नेता भन्छन्, ‘यो विवाद बढ्दै जाँदा पार्टीभित्रै समस्या आउने देखिएको छ ।’

हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी यही फागुन तीन गते सकिंदैछ । महानिरीक्षक चयनको किचलोकै कारण पदावधी सकिनुभन्दा एक महिना अघि नै महानिरीक्षक बिदामा बस्ने चलन समेत तोडिएको छ ।

महानिरिक्षक उपेन्द्रकान्त अर्यालले समयमै नयाँ महानिरीक्षक चयनका लागि बारम्बार प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् । score by kantipur