आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

ठेकेदार मन्त्री पाण्डेले नै अल्झाए दूधकोशीको निर्माणाधीन पुल

परदेशी खबर ३ माघ २०७३, सोमबार ०६:१६ मा प्रकाशित ( ७ साल अघि) १५१ पाठक संख्या

 

 

 

 

सुदिल पोखरेल/जनवरी १६, काठमाडौं । निर्माणको जिम्मा लिएकोे ७ वर्ष बितिसक्दा पनि मन्त्री तथा ठेकेदार बिक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले दुधकोशी पुलको निर्माण सम्पन्न गरेको छैन ।

खोटाङ र ओखलढुङ्गा जोड्ने गरी जयरामघाटमा निर्माण गर्न लागिएको यो पुलको ठेक्का पाण्डेको कालिका कन्स्ट्रक्सन र हुलासले लिएको छ । यो ज्वाइन्ट भेन्चरमा लिइएको ठेक्का हो ।

सडक बिभाग र कालिका हुलास जेभी सँग २०६६ असार २३ गते भएकेा सम्झौता अनुसार यो पुलको निर्माण २०६९ सालको असार २३ गते सम्ममा सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण गरिसक्नुपर्ने मिती गुज्रेको ४ वर्ष बित्दा सम्म पनि निर्माण पुरा हुन सकेको छैन ।

डिजाइन स्वीकृतमै ढिलाई

२०६९ असार २३ मा निर्माण सम्पन्न गर्ने भनिएपनि यसका डिजाइन भने सरकारले २०६८ असार २४ गते स्वीकृत गरेको थियो । डिजाइन एण्ड बिल्ड पद्दति अर्थात एउटै कम्पनीको डिजाइन र निर्माण गर्ने गरी यसको निर्माण प्रक्रिया अघि बढाइएको थियो । तर ठेकेदार कम्पनीहरुको आलटालका कारण यसको निर्माण भने लामो समय अघि बढ्न सकेन ।

यसमा नियामक निकायहरु पनि चुकेको देखिएको छ । किनकि लामो समयसम्म निर्माण अघि नबढाउँदा पनि नियामक निकाय सडक बिभागले कुनै कारवाही नगरेको देखिन्छ । सडक बिभागको पुल महासाखाका प्रमुख सरोज कुमार प्रधानले प्राबिधिक कठिनाइका कारण कारवाही गर्न नमिलेको बताउँछन् ।

उनले भने, ‘निर्माण कम्पनीले केहि प्राबिधिक समस्या झेल्यो त्यही देखेर हामीले कारवाहीको प्रक्रिया अघि नबढाएको हो, नेपाली ठेकदारले यस खालको पुलको जिम्मा लिएकेा पहिलोपल्ट हो । ‘

सरकारले कागजात स्वीकृतिमा भने खासै ढिलो नगरेको देखिन्छ । २०६६ मंसिर २९ गते पेश भएको इन्जीनियरिङ सर्भे एण्ड सोइल इन्भेष्टिगेसनको रिपोर्ट सोहि वर्षको पुष २ गते नै स्वीकृत गरेको देखिन्छ ।

त्यस्तै २०६८ असार २२ गते निर्माण कम्पनीले पेश गरेको रिपोर्ट सडक बिभागले २०६८ असार २४ गते नै स्वीकृत गरिदिएको थियो ।

मुआब्जाले अड्कायो

निर्माणको जिम्मा दिँदासम्म पनि सरकारले जयरामघाटका बासिन्दालाई मुआब्दा दिन पर्छ भन्ने नै ठानेको थिएन । निर्माणको काम सुरु भएपछि स्थानीयले मुआब्जाको माग गरे । तर सरकारले ढिलो गरि मात्रै मुआब्जा प्रदान गर्याे । ठेक्का सम्झौताको दुई वर्ष पछि २०६८ चैत्रमा मात्रै सरकारले मुआब्जाको समस्या सल्टाएको थियो ।

स्रोतका अनुसार यसको निर्माण अड्कनुमा हुलासको आन्तरीक कलह हो पनि हो । हुलासका भाइहरुबीचको आन्तरिक कलहले यो निर्माणलाई अल्झाएको थियो । कालिका कन्स्ट्रक्सन्को देशका कैयन स्थानमा ठेक्का रहेका कारण यसमा कालिकाले पनि प्रमुख चासो दिएन ।

पहिलो नेपाली ठेकेदारले बनाउन लागेको सस्पेन्सन मोटरेबल ब्रिज

सस्पेन्सन् मोटरबेल ब्रिज नेपालमा अहिलेसम्म नेपाली ठेकेदार कम्पनीले निर्माण गरेका छैनन् । तर नेपाली कम्पनीलाई जिम्मा लगाइएको यो पुल नै लामो समय थला परेर बसेको छ ।

सडक बिभागको पुल महाशाखा प्रमुख प्रधानका अनुसार नेपालमा बनेको सबै मोटरबेल ब्रिज बिदेशी डिजाइन र बिदेशी ठेकेदार कम्पनीबाट बनाइएका छन् ।

सडक बिभागको हर्कपुर डिभिजन प्रमुख इश्वर बहादुर रिजाल सरकारले यो ठेक्कामा नेपाली ठेकेदारलाई जिम्मा दिएर रिस्क मोलेको बताउँछन् ।

उनले भने ‘ बिदेशीलाई मात्रै जिम्मा लगाउँदा स्वदेशमा यसको अनुभव हुने भएन भन्दै नेपाली ठेकेदारलाई पनि यसमा अनुभव होस् भन्दै रिस्क मोलेरै कालिका हुलास जेभीसँग सम्झौता गरिएकेा थियो । ‘

के हुँदैछ अहिले ?

अहिले यसको निर्माण कार्य चलिरहेको छ । रिजालका अनुसार अहिले पुलका दुईवटा टावर तयार भइसकेको छ । साथै अहिले निर्माण कम्पनीले केहि चिनियाँ प्राबिधिकहरु मगाएर लठ्ठा तान्न लागिरहेको छ ।

यो स्थानमा अहिले झोलुङ्गे र बेलिब्रिज रहेको छ । तर हिउँदमा मात्रै प्रयोग गर्न मिल्ने बेलिब्रिज भने खोलानाला बढेसँगै निकालेर राखिन्छ । सरकारले आवश्यक चासो नराख्दा र ठेकेदारले बेवास्ता गर्दा अहिलेसम्म यो पुलको काम सकिएको छैन ।  Score by onlinekhabar