आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

लाखौंको सपना देखाएर यसरी पुर्‍याइन्छ नेपाली युवतीलाई कुवेत

परदेशी खबर २० पुष २०७३, बुधबार ०६:४२ मा प्रकाशित ( ७ साल अघि) ३२९ पाठक संख्या

नेपालबाट दिल्ली पुर्‍याएको ज्याला जम्मा ५ हजार

डिल्ली पाण्डे /जनवरी ४,काठमाडौं ।  विपन्न परिवारका बेरोजगार युवतीलाई विभिन्न प्रलोभन देखाई अवैध मार्ग हुँँदै प्रतिबन्धित मुलुकमा पठाउने दलालको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले युवतीहरू खोजी गरी एक महिनाको एक लाख कमाइ हुने प्रलोभन देखाएर अवैध रूपमा विदेश पठाउने गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसमा सम्लग्न नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बु र रुपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारुलाई एक साताअघि विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरूले आकर्षक तलबको प्रलोभनमा पारेर ग्रामीण भेगका युवतीहरुलाई भारत तथा श्रीलंका हुँदै कुवेत, ओमनलगायत देशमा पठाउने गरेको प्रहरीले बताएको छ ।

ब्यूरोकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्, “युवती तस्करी गर्ने धेरै व्यक्ति पक्राउ परे । तर यो गिरोह अरुभन्दा फरक छ ।”

प्रहरीका अनुसार दलालहरूले केही समयअघिसम्म नेपाली युवतीहरुलाई त्रिभुवन विमानस्थलमा सेटिङ मिलाएर सरकारले प्रतिबन्ध लगाएको मुलुकमा पठाउने गरेका थिए । पछिल्लो समय भने यहाँको विमानस्थलमा सेटिङ गाह्रो र महँगो भएपछि दलालहरूले वैकल्पिक  नाका रोज्न थालेका छन् । अहिले युवती तस्करीको रुट बेलहिया हुँदै भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा ओमन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

“दर्जनौँ नेपाली युवतीहरुलाई प्रतिबन्धित देशमा पठाउने गरेको तथ्य खुल्यो । विशेषगरी ग्रामीण भेगका युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर अवैध मार्ग हुँदै विभिन्न देश पठाउने गरेको भेटियो,” प्रवक्ता चौधरीले भनिन् ।

पछिल्लो समय पक्राउ परेको दलालको गिरोहले ८ महिनामा ६ जना युवती अवैध मार्ग हुँदै कुवेत पठाएको खुलेको छ । पीडितको संख्या अझै थपिन सक्ने प्रहरीको अनुमान छ । “पीडित पनि खुलेर बोल्दैनन्, यसका कारण दलालको गल्ती छोपिन्छ,” चौधरीले भनिन् ।

अनुसन्धान अधिकारीहरूका अनुसार यहाँका दलालले ५ मात्र हजार रुपैयाँ लिएर नेपाली युवतीहरु दिल्लीका दलाललाई जिम्मा लगाउने गरेको खुलेको छ । “नेपालको विभिन्न स्थानमा जम्मा पारेका युवतीहरुलाई बेलहिया नाका हुँदै दिल्लीसम्म पुर्याएको दर ५ हजारमात्र रहेछ । २२ दिनसम्म दिल्लमाी राखेर श्रीलंका पुर्याउने र त्यहाँ पनि त्यति नै समय राखेर कुवेत तथा ओमन पुर्याउँदा रहेछन्,” एसपी चौधरीले भनिन्, “दिल्लीमा यति धेरै दिन कसरी राख्छन्, हामी त्यो कुरा अनुसन्धान गर्दैछौं । दलालको हातमा परेका युवती फुत्किन मुस्किल हुने रहेछ । नसाले लठ्ठ भएका युवतीको होस खुल्दा उनीहरू सरकारले प्रतिबन्ध लगाएको देशमा पुगिसकेका हुन्छन् ।” खबर बाह्रखरीबाट लिएको हो ।