आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर

परदेशी खबर १२ पुष २०७३, मंगलवार १४:२१ मा प्रकाशित ( ७ साल अघि) १४४ पाठक संख्या

पुस १२, काठमाडौं l नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७–२०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको हो ।

छनोटको तेस्रो चरणका दुई टिम कुवेत र ग्वाम अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको कारवाहीमा परेपछि नेपालको भाग्य खुलेको हो । नेपालसँगै मकाउले यो सम्भावना पाउनेछ । सोलिडारिटी कपको विजेता र उपविजेताका रूपमा नेपाल तथा मकाउले यो अवसर पाएका हुन् । नेपाल यसअघि नै विश्वकप र एसिया कप छनोटको प्लेअफबाटै बाहिरिइसकेको भए पनि अहिले नयाँ अवसर प्राप्त भएको हो ।

त्यति बेला नेपाल छनोटको सुरुवाती चरणमा भारतसँग पराजित भएको थियो । अब नेपालले छनोटको तेस्रो चरण खेल्नेछ । सन् २०१९ मा यूएईमा हुने एसिया कपमा अहिलेसम्म १२ टिम छनोट भइसकेका छन् । प्रतियोतिगामा कुल २४ टिमले सहभागिता जनाउने छन् । अब छनोट हुने १२ टिमको निर्णय हुन बाँकी छ । तेस्रो चरणमा २४ टिम छन् । यी टिमलाई ६ समूहमा विभाजन गरिनेछ । त्यसयता तिनीहरूले होम एन्ड अवेका आधारमा समूहको लिग खेल खेल्नेछन् ।

एन्फाका अनुसार एसिया कप छनोटका ड्र जनवरी २३ मा हुनेछ । यी खेल एक वर्ष चल्नेछ । लिग खेल सन् २०१७ को मार्च २८ मा सुरु भएर सन् २०१८ को मार्च २७ सम्म चल्नेछ । नेपालले पछिल्लो पटक सन् २००४ को एसिया कप छनोट खेलेको थियो । त्यसमा दक्षिण कोरिया, ओमान, भियतनाम जस्ता टिमसँग ठूलो अन्तरको हार बेहोरे यता नेपालले फेरि दोहोर्‍याएर छनोट खेलेको छैन ।

छनोटमा नेपालले राम्रो प्रदर्शन गर्ने हो भने टिमको एसिया कपको अन्तिम चरण खेल्ने सम्भावना पनि पाउन सक्नेछ । एसिया कपमा सहभागी हुने टिमको संख्या बढाएर पहिलोपल्ट २४ देश पुर्‍याएपछि यो सम्भावना रहेको हो ।

एसिया कप छनोट तेस्रो चरणको ड्र भने आउने बाँकी छ । एएफसीको वेबसाइटका अनुसार सुरुवाती ड्र जनवरी १८ मा निकालिनेछ । छनोटको तेस्रो चरण खेल्ने टिममा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान, उत्तर कोरिया, भारत, प्यालेस्टाइन, ताजकिस्तान, भियतनाम, हङकङ र तुर्कमेनिस्तान छन् । अरू टिममा माल्दिभ्स, लेबनान, यमन, अफगानिस्तान, चाइनिज ताइपेई, म्यानमार, मलेसिया, सिंगापुर, कम्बोडिया र भुटान छन् ।
साभार:कान्तिपुरबाट