आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

उँधौली, उँभौली पर्व र यसको महत्व

परदेशी खबर २८ मंसिर २०७३, मंगलवार ००:०९ मा प्रकाशित ( ७ साल अघि) ९७१ पाठक संख्या


कोशराज राई, कुवेत

किरात राईहरुले मनाउने मुख्य पर्वहरु मध्ये एक उँधौली पर्व पनि हो। जुन आजको दिन अर्थात मंसिरे पुर्णे देखी सुरु हुन्छ। सर्वप्रथम देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण किरात तथा गैर किरातहरुमा यस उँधौली पर्व ५०७७ तथा किरातहरुको नव वर्ष ५०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु। कुवेतमा किरात राईहरुले उँधौली पर्व आगमी २३ डिसेम्बर, २०१६ मा जिलिव स्थित रिदम हलमा मनाउने भएको छ।

उँधौली पर्व जब कर्‍याङकुरुङको बथान मंसिरतिर उँधो भूमध्य सागरतिर लाग्छ, जुन उँधौली सुरु भएको संकेत हो । त्यही कर्‍याङकुरुङ प्रजातिका चरा उत्तरी क्षेत्र अर्थात् उँभोतिर आउँछ, त्यसबेला समय उँभो लागेछ भनेर छरपाउ गर्ने गरिन्छ । यसबेला यो साल बालीनाली राम्रो देऊ, अतिवृष्टि या अनावृष्टि नभई देओस् भनेर वैशाख—जेठमा पूजा गर्छन् । साथै यो पर्वलाई मौसम परिवर्तनको सूचकका रूपमा पनि लिइन्छ
उँभौली–उँधौली पर्व निश्चित भूगोलमा मात्र नभई सहर हुँदै विश्वव्यापी भइरहेको छ । यो सांस्कृतिक चाडमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । यही अवसरमा किरातहरू एक ठाउँमा भेला हुने गर्दछन्। जसबाट दु:ख–सुख अमोद-प्रमोद हुन्छ ।
यस अवसरमा किरातहरु समुहमा मिलेर घर घरमा र थानमा गई प्रकृतिलाई पूजा गरी ढोल झ्याम्टा बजाउँदै महिला पुरुष एकै लाईनमा गोलवद्द भएर नाच्ने गाउने चलन छ। जसलाई सिली भनिन्छ। यो सिलीलाई वान्तवाहरुले साकेवा/ साकेन्वा, चाम्लिङहरुले साकेला, त्यस्तै अरु राईहरुले, तोषी, भूमे आदी नामले पुकारिन्छ।

बालीनाली लगाएर फुर्सदको समयमा आफूले लगाएको बालीनाली सप्रियोस्, रोगव्याधि हटोस्, भूकम्प, अतिवृष्टि भई बाढीपहिरो नचलोस्, सुक्खा खडेरी नपरोस्, सबैमा सहकाल होस्, अनिकाल नआओस् भनी नाक्छोङद्वारा थानमा सामाजिक आराधना गर्ने चलन पनिछ। यो एक प्रकारको सामाजिकीकरण प्रक्रिया पनि हो । यसैगरी बालीनाली स्याहारेर नयाँ अन्न घरमा भित्र्याएपछि पनि प्रकृतिदेव एवं पुर्खालाई सबभन्दा पहिले अर्पण गरेर मात्र खाने गरिन्छ ।
यसो गर्नुको कारण के हो भने प्रकृतिदेव अर्थात् पुर्खाहरू जसले बाली लाउन सिकाए, जसले बाली सपारेर भित्र्याउने अवसर दिए, तिनैलाई अर्पण गरेर खानु भनेको सामाजिक आचरणको ज्वलन्त नमुना हो । यसले सामाजिक संहिताको झल्को दिन्छ । किरातहरु मन्दिरमा पूजा गर्दैनन्, उनीहरु प्रकृतिलाई पुज्दछन्। त्यसैले नै किरातहरुलाई प्रकृति पूजक भनेर पनि चिन्ने गरिन्छ। आलाङ्ने (धन्यवाद) !

प्रकाशित मिति: डिसेम्बर १३, २०१६ तदनुसार २०७३ मंसिर, २८ गते।