आकाश शेर्पा यात्री
गाउँघर तिर सोच्दो हो विदेश भनेपछि त पैसा फल्ने रुखनै हुन्छन् । गएपछि त टिपेर पठाईदिन्छ केको चिन्ता भन्ने सोच सबैले राख्दो रहेछन् जस्तो लाग्छ परदेशीलाई । विदेश आएको तीन महिनाको अवधि अर्थात त्यो समयमा आफुले काम राम्रो लागेन भने अथवा राम्रो तलब सुविधा भएन भने जान सकिने र काम गर्ने कम्पनी अथवा मालिक उनीहरुको पनि कामको लागि हेर्ने समय हुन्छन् प्राय ठाउँमा । त्यसैले गर्दा जान सकिने र फिर्ता पठाउने हुने गर्छन् राम्रो पदहरु तिर । तर साधारण कामदारको हकमा त्यो लागू हुन असम्भव नै जस्तो हुन्छन् ।
हरेक मानिस कमाउन नै भनेर विदेशमा रोजगारीको लागी धाउने गर्छन् । त्यो सँगै काम कस्तो होला ? कमाई कस्तो होला ? काम गर्ने ठाउमा तलब सुबिधा देखि लिएर त्यहाँको म्यानेजर सुपरभाइजर सहकर्मी कस्तो होला उनीहरुसँग मिलेर काम गर्न सकिन्छ कि सकिन्न भनेर हरेक चिन्ता मनभित्र उब्जिरहेको हुन्छन् प्रत्येक व्यक्तिको जीवनमा । नेपाली पुरानो साथीहरू हुन्छन् कि हुन्नन बाहिरी देशका भए न रहनसहन मिल्थ्यो न लवज मिल्थ्यो ऊनीहरु सित मिलेर बस्नलाई कति कठिन हुने हो । त्यही माथी नेपालबाट आएको चालीस पैंतालीस दिन कट्नु पाएको हुँदैन सुरु हुन्छ घरपरिवारबाट पैसा अनि हरेक डिमाण्डरु ।
शान्त राई ओखलढुंगा घर भएका अहिले कुवेतको एक कम्पनीमा काम गरेको लगभग चार बर्ष पुग्न लागिसकेको छ तर संतुष्ट भने छैनन् । विदेश आउँदा खेरि लिएर आएको ॠण तिर्न नै लगभग उनलाई एक बर्ष लागेको थियो । नेपालबाट आएको दुईमहिना बित्न पाएको थिएन घरबाट पैसा र अनेक थोकहरुको लागि सधै फोन गर्ने भर्खरै विदेश आएको र परिवारसँगको बिछोड्ले गर्दा उनलाई घर फोन गरि कुरा गर्न मन लाग्थ्यो तर घरबाट जहिल्यै पैसा चाहियो भन्ने हुँदा मन मारेर भएपनि बस्नु परेको एकबर्षको अवधिको दिनहरू सम्झन्छिन । महिनाको तलब असी केडी हुन्थ्यो बल्लतल्ल गरेर बिहान र बेलुका गरेर दुई सिफ्ट्को काम गर्दा खेरी १५० केडी जम्मा हुन्थ्यो खान खाँदा फोन गर्दा छुट्टीमा बाहिर घुम्न जाँदा खेरि लगभग एक सिफ्ट काम गरेको पैसा एकै महिनामा सकिन्थ्यो । २४ घन्टामा १६ घन्टा काम गरेर केही पैसा आफ्नो केही खर्च कटाएर पनि जम्मा गरी घर पठाउथिन् तर पनि घरबाट यहाँको दु:ख नबुझी दिँदा साह्रै दु:ख लाग्ने गुनासो गर्छिन । बिरामी पर्दा पनि काममा जानू पर्ने बाध्यता हुन्छ कमाई राम्रो नहुँदा र घरको ॠणले गर्दा खेरि चार बर्ष भैसक्दा पनि नेपाल जान पाएका छैनन् उनी।
एकबर्ष अगाडि मात्रै कुवेतको एक सप्लाई कम्पनीमा काम गर्न आएका सप्तरीका हरिनारायण यादवको पनि दुखेसो उस्तै रहेको छ पहिलो पल्ट विदेश आएका उनी राम्रो काम र कमाई अनि राम्रो कमाउन सकिएला भन्ने लागेको थियो । ९० हजार तिरेर कुवेत आउँदा खेरी तीन चार महिनाभित्र ॠण तिर्न आरामले सकिएला लागेको र तिरिसकेपछि झुप्रो घरलाई पक्की बनाउने सपना बुनेर आएको बताउँछन् । यहाँ आएपछि मात्रै थाहा भयो सप्लाई कम्पनी रहेको र ८ घन्टा काम गर्दा खेरी ६० केडि मात्रै पाउने कामको पनि फिक्स नहुने कहिले बाहिर सडकमा झाडु लगाउने त कहिले पेट्रोल पम्पतिर गाडी धुन लगाउने कहिले होटलमा भाडा माझ्ने काम तिर पठाउने गरेको बाह्र घन्टा काम पर्यो भने असी केडी देखि लिएर ११० सम्म पाउने तर कहिलेकाही ६० केडी मै बस्नु पर्ने बाध्यता रहेको दुखेसो सुनाउछन् । सोचेको थियो एक बर्षमा आफ्नो परिवारलाई केही खुशी दिन सक्छु तर यहाँ उल्टो भैदियो यसपालिको बाढीले घरखेत पनि डुबानमा परेको यहाँ पनि कमाई राम्रो नभएकोले खान आफैले खानु पर्ने हुँदा खाने कुरा पनि साह्रै महँगो रहेको घरबाट जहिले पनि पैसाको कुरा मात्रै गर्छन् बोट नै भएको जसरी विदेशमा! आफ्नो पीडा व्यक्त गर्छन् यसरी ।
घरेलु कामदारको रुपमा काम गर्न लगभग चार महिना अगाडी मात्रै कुवेत आएका ज्योति राईको दुखेको उस्तै रहेको पाईन्छ । कम्पनीको काममा आउनलाई पासपोर्ट बनाएर एकबर्षसम्म पनि कुनै कम्पनीको भिसा नआएपछि अन्तमा कुवेतकै लागि घरेलु काम गर्न आईपुगेकी उनी आएको तीन महिना नकट्दै घरबाट कहिले भाईले,कहिले बहिनीले,कहिले केके समस्या देखाउदै खर्च माग्छन् भन्छिन । यहाँ आएर घर कस्तो पर्ने हो साहु साउनी कस्तो हुनेहो? कति वटा घर सर्नु पर्ने हो कस्तो ठाउँमा पर्ने हो ? धेरै कुराहरू सोच्नु पर्ने हुन्छ तर घरपरिवारबाट समस्या नबुझ्दा खेरि साह्रै दु:ख लाग्ने गरेको सुनाउछिन उनी पनि ।
यो सानो सानो उदाहरणको रुपमा मात्र प्रस्तुत भएको छ । कुवेत लगायत खाडीमा आउने नेपाली कामदारको हकमा राम्रो तलब सुविधा नभएको कारण र देश तथा विदेशमा पनि साधारण लेबरमा काम गर्ने कामदारलाई महँगीले गर्दा आज लाखौं युवाहरूको सुन्दर सपनाहरूलाई कुण्ठित गरेर आफ्नो घरपरिवारको लागि यसरी आफ्नो जवानी र समय विदेशमा खेर फाल्नु परेको छ । सीप र दक्षता बिना विदेशमा पैसा फल्ने रुख छ टिपेर पठाउछ र पठाउछु भन्ने सोच अझै हाम्रो समाजमा व्यप्त रहेकोले अझ सम्म पनि नेपालीको स्तर जहिँको तहि रहेको बुझ्न सकिन्छ ।
सेप्टेम्बर २०, कुवेत