आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भेष बदलेर टुरिष्ट बनेका पर्यटनमन्त्रीलाई ट्याक्सीले फनफनी घुमायो !

परदेशी खबर ३ आश्विन २०७३, सोमबार १७:१५ मा प्रकाशित ( ७ साल अघि) १५९ पाठक संख्या

भीआईपीको शौचालयमा पसेर मन्त्री शाही यस्तो बने

jiwan-bahadur-shahi

सेप्टेम्बर १९, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आइतबार अबेर झण्डा हल्लाउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । भीआईपी कक्षमा प्रवेश गरे ।

तर, उनी कतिबेला फर्किए कसैले पत्तै पाएनन् । मन्त्री शाही विमानस्थलका ट्याक्सी चालकको अनुगमन गर्न विमानस्थल गएका थिए । किनकी उनलाई विदेशी साथीहरुले ट्याक्सीमा धेरै ठगिने गरेको गुनासो गरेका थिए । उनलाई लाग्यो, म आफैं एक पटक पर्यटक बनेर किन वास्तविकता पत्ता नलगाउने ?

इत्तेहाद एयरको विमान आउने समय पारेर विमानस्थल पुगेका मन्त्री शाही सुटुक्क भीआईपी कक्षको शौचालयमा पसे र ड्रेस चेन्ज गरे । कोटपाइटमा गएका मन्त्री अब पर्यटक बने । कालो पाइन्ट, सेतो टिसर्ट, हृयाट र कालो चश्मा लगाएका उनी झोला बोकेर निस्कँदा पर्यटक जस्तै देखिए । अग्लो कद उनी पर्यटक जस्तै देखिए ।

भीआइपी अक्षबाट केही अघि बढेर मन्त्री शाहीले अध्यागमनको कामकारबाहीलाई केही टाढैबाट नियाले । अगाडि जाँदा पासपोर्ट चाहिने भएकाले उनले टाढैबाट हेरे । र, पर्यटक बनेर बाहिर निस्किए ।

उनी ट्याक्सीको खोजीमा लागे । विमानस्थलमा निलो, रातो र कालो नम्बर प्लेटका ट्याक्सीहरु उपलब्ध छन् । ट्याक्सी चालकहरु शाहीलाई पर्यटक सम्भिmएर तानातान गर्न लागे र अन्तत उनी निलो नम्बर प्लेटको ट्याक्सी चढे ।

उनले आफू भारतीय भएको र अहिले अमेरिकामा बस्ने भन्दै नेपाल घुम्न आएको बताए । र, ठमेल लगिदिन भने । पर्यटकको भेषमा रहेका मन्त्री शाहीले आफूलाई काठमाडौं गेष्टहाउसमा लगिदिन आग्रह गरेका थिए ।

तर, ट्याक्सी चालकले कहिले दियालो राम्रो भएको भन्दै त्यहाँ पुर्‍यायो । मन्त्रीले काठमाडौं गेष्ट हाउसमा नै लैजा भनेपछि ट्याक्सी चालकले हिमालयन पुर्‍यायो । तर, नमानेपछि काठमाडौं गेष्ट हाउसमा त पुर्‍यायो तर, १५ सय भाडा उठाएर ।

होटलमा पुगेपछि कोठा बुक गर्नु पर्ने भएकाले शाहीले जब आफ्नो असली परिचय दिए, ट्याक्सी चालक झस्किए ।

आफ्नो अनुगमनको निष्कर्ष अनलाइनखबरलाई सुनाउँदै मन्त्री शाहीले भने, पर्यटकहरुले गरेको गुनासो एकदमै सही रहेछ । ट्याक्सी चाकलले तानातान गर्नेदेखि अनेक गर्दा रहेछन् । यसले देशकै बेइजत भएको छ ।’

आइतार अबेर अनुगमन गरेका मन्त्री शाहीले सोमबार सम्वन्धित अधिकारीहरुलाई बोलाएर विमानस्थलमा ट्याक्सी व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

ट्याक्सीहरु ताकिएको लाइनमा बस्नु पर्ने र पर्यटकहरुलाई तान्ने जस्ता काम गर्न नहुने आफूले निर्देशन दिएको मन्त्री शाहीले बताएका छन् । अन्लाईनखबरबाट साभार