आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट

परदेशी खबर ७ असार २०७३, मंगलवार १४:५७ मा प्रकाशित ( ७ साल अघि) १७१ पाठक संख्या

image
असार ७, काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ‘एयर लिफ्ट’ दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो।

काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए।

उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन लागेको छ। ‘शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छौं’, उनले भने, ‘यहीँ आउन चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौं।’

काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई मंगलबार एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्‍याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो। घाइते उनीहरुलाई दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य तीन जनालाई भोलि उद्धार गरी नयाँ दिल्ली पुर्‍याउने तय भएको बताइएको छ।

‘घाइतेमध्ये नुवाकोटका च्याङ्बा तामाङको अवस्था गम्भीर छ। डाक्टरले जहाजमा लैजान अनुमति दिएमा उनलाई पनि थप उपचारका लागि उद्धार गर्नेछौं’, परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने।

जहाज पठाउन कुटनीतिक अनुमतिको पर्खाइ

अफगानिस्तानमा मारिएका १२ नेपालीको शव नेपाल ल्याउन शाही नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। जहाज पठाउनका लागि अफगानिस्तानसँग ल्यान्डिङ अनुमति तथा भारत र पाकिस्तानसँग आकासको अनुमति लिन अनुरोध पठाइसकिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

परराष्ट्र मन्त्रालयले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ सिग्देललाई खटाएको छ। कार्यवाहक राजदूत सिग्देल मङ्गलबार बिहानै अफगानिस्तान पुगेका छन्। नेपाल फर्किन चाहने नेपालीका लागि उनले समन्वय गरिरहेको प्रवक्ता भुर्तेलले जानकारी दिए।

सोमबार काबुलमा भएको आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो। घटनामा ७ नेपाली घाइते भएका छन्।

अफगानिस्तान असुरक्षित मुलुक भनिए पनि आकर्षक कमाइका कारण नेपालीहरु अन्य मुलुक हुँदै त्यहाँ पुग्ने गरेका छन्। ‘ग्रिन जोन’ क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे सरकारले श्रम स्वीकृति दिने गरेको छ। सरकारी आँकडा अनुसार संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरिरहेका छन्।साभार: नागरिक न्यूजबाट