मानसिक सन्‍तुलन गुमाएर फर्कन्‍छन् नेपाली चेली

वैदेशिक रोजगार : नेपालमा कुल जनसंख्याको २० प्रतिशत मानिस मानसिक रोगी

 

 

 

 

 

राजु स्याङ्तान/ अक्टोबर १०,

घटना १
०६६ सालमा चितवनकी कल्पना थापा (नाम परिवर्तन) कुवेतबाट त्रिभुवन विमानस्थल बुर्का लगाएरै आइपुगिन् । २८ वर्षीया उनको हातमा कागजपत्रबाहेक अरू केही थिएन । आफन्त कोही लिन आएका थिएनन् । उनी टोलाएर बसिरहिन् । त्यसपछि उनी मानसिक स्वास्थ्य समस्यामा परेको श्रम डेस्कका कर्मचारीले अनुमान लगाए । उद्दारका लागि विभिन्न संस्थामा खबर गरियो । अनि उनलाई पौरखी नेपालले मेडिकल कलेज अत्तरखेलमा भर्ना गर्‍यो ।२ महिनापछि उनले आफ्नो वास्तविक नाम बताइन् । घरेलु कामदारको रूपमा गएकी उनी घरेलु हिंसामा परेको खुलाइन् । आफ्नो मामा इन्स्पेक्टर भएको समेत बताएपछि उनको खोजी भयो । शुरुमा उनले भान्जीलाई नचिनेजस्तो गरे पनि पटक–पटकको ताकेतापछि लिएर गए । दाङमा बिहे भएकी उनको विदेश गएपछि सम्बन्धविच्छेद भएको थियो । त्यही कारण उनले मानसिक सन्तुलन गुमाएकी थिइन् । हाल उनी काठमाडौंमा घरेलु काम गर्छिन् ।

घटना २
२९ वर्षीय एक नेपाली युवक नौ महिनाअघि त्रिभुवन विमानस्थलमा ओर्लिए । उनको साथमा पनि केही थिएन । विमानस्थलका कर्मचारीले प्रवासी नेपाली समन्वय समितिलाई खबर गरे । समितिले उनलाई सेल्टरमा लग्यो । उनले आफ्नो नाम समीप नेपाली (नाम परिवर्तन) बताए, ठेगाना मोरङ पथरी । दोस्रो दिन उनको व्यवहार फेरियो । उनी चिच्याउन थाले । अगाडि जे भेट्यो, त्यसैले हिर्काउन, चिथोर्न थाले । उनलाई तुरुन्तै नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी भर्ना गरियो ।एक महिना उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन । अस्पतालले बिरामी लैजान जोड गरिरह्यो । तर, चिन्नेजान्ने कोही भेटिएन । दुई महिनापछि स्वास्थ्यमा सुधार आयो । उनले आफ्नो वास्तविक ठेगाना काभे्रे पाँचखाल भएको बताए । समिति आफन्तको खोजीमा जुट्यो । तर, कोही फेला परेन । अन्तिममा उनको तस्बिरसहित मिडियामा नाम सार्वजनिक गरियो । कैयौं दिनपछि काकाको छोरा सम्पर्कमा आए ।
उनको खास नाम रहेछ रामकुमार कार्की । घरको आर्थिक अवस्था नाजुक । छिमेकी सरस्वती धमलाका अनुसार बुवा सधैं रक्सीको नशामा हुन्थे । मानसिक र शारीरिक यातना खप्न नसकेर आमाले सानैमा छाडेर गइन् । बुवा पनि बेपत्ता भए । ८० वर्षीया हजुरआमा अहिले पनि मागेर जीविका चलाउँछिन् । उनलाई सानैदेखि एसओएस बालग्रामले पढायो । उच्च माध्यामिक तहसम्म पढाइदिएका उनलाई पछि सोही संस्थाले जागिर मिलाइदियो । गाउँकै बोडिङ स्कुलमा पढाउँथे उनी । समितिका अध्यक्ष कुलप्रसाद कार्की भन्छन्, ‘उनले गाउँमै मासिक १६ हजारसम्म कमाउँथे । कसैले उनलाई विदेशमा राम्रो कमाइ हुने बताइदियो । त्यसपछि उनी साउदी गएछन् ।’ उनले त्यहाँ राम्रोसँग काम गर्न सकेनन् । रक्सी खाने बानीले छाडेन । पटक–पटक कम्पनीबाट भागे । साथीहरूले खोजेर ल्याए पनि काम गर्न सकेनन् । अन्ततः उनलाई नेपाली कामदारले दूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर फर्काइदिए । हाल उनी गाउँमा छन् ।
वैदेशिक रोजगारमा गई मानसिक सन्तुलन गुमाएका महिलाहरू महिनाको पाँच जनासम्म आउँछन्। विमला कोइराला नेपाल मेडिकल कलेज मनोरोग विभाग

घटना ३
२०७३ असोजमा पाल्पा धारापानीका विष्णु परियार (नाम परिवर्तन) भिजिट भिसामा यूएई पुगे । उनलाई दलालले भिजिट भिसा थमाइदिएको थियो । काम गरेको पाँच महिनामा मानसिक स्वास्थ्य बिग्रिँदै गएको संकेत देखापर्‍यो । त्यसपछि कम्पनीले घर फर्किने टिकट दियो । तर, उनी घर फर्किएनन् । कम्पनी र साथीभाइले खोजे पनि कतै फेला परेनन् ।अन्ततः केही महिनापछि आबुधाबीबाट तीन सय किमि टाढा यूएई र साउदी अरबको सिमानाको बालुवामाथि उनको शव भेटियो । आत्महत्या गरेको या मारिए खुलेको छैन । हाल उनको शव आबुधाबीस्थित जजिरा हस्पिटलमा छ । घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको नेपाली दूतावासले जनाएको छ ।

घटना ४
२ असोज ०७३ मा कुवेत पुगेका तनहँुका सञ्जीव थापा (नाम परिवर्तन)ले कुवेत पुगेकै दिन मानसिक सन्तुलन गुमाए । कम्पनीलाई पोसपोर्ट बुझाउँदै गर्दा भुइँमा ढलेको उनका साथीहरूले बताएका छन् । उनलाई तत्काल अस्पताल पुर्‍याइयो ।उपचारकै क्रममा बेडबाट भागेका उनी बाटोमा रुँदै गरेको अवस्थामा भेटिएको उनका साथीहरूले बताएका थिए । पछि उनका साथीहरूले मध्यपश्चिम सेवा समाज कुवेतलाई जिम्मा लगाए । हाल उनलाई शुबेखस्थित मानसिक अस्पतालमा राखिएको बताइएको छ ।
माथिका केही प्रतिनिधि घटना मात्रै हुन । सबै मानसिक समस्यामा परेको व्यक्तिको समाचार बाहिर आउँदैन । यस्ता रोगी कति छन् भन्नेबारे सरकारी निकायसँग कुनै तथ्यांक छैन । पूर्णतः होस गुमाएका रोगीहरू विमानस्थलमा अलपत्र पर्छन् । जसको उद्धार केही संस्थाले गर्दै आएका छन् । पौरखी नेपाल संस्थाले २००९ देखि यता ९७ जना महिला मानसिक रोगीको उद्धार गरेको बताउँछिन्, संस्थाकी सचिव सत्रकुमारी गुरुङ । त्यस्तै, प्रवासी नेपाली समन्वय समितिले पनि २०१४ देखि यता ३१ जना अलपत्रमा परेको बिरामीको उपचार गरी आफन्तको जिम्मा लगाएको बताएको छ । केही सामाजिक संस्थाबाहेक राज्यको तर्फबाट यस विषयमा ध्यान नपुगेको देखिन्छ ।

 

कति छन् मानसिक रोगी ?
नेपालमा कुल जनसंख्याको २० प्रतिशत मानिस मानसिक रोगको समस्या झेलिरहेको मानसिक रोग विज्ञहरूले बताउँदै आएका छन् । यस्ता रोगीमध्ये कडा प्रकृतिको समस्याबाट पीडित दुई प्रतिशत रहेको उनीहरूको भनाइ छ । तीन वर्षअघि लुम्बिनीमा भएको आठौं अन्तर्राष्ट्रिय सार्कस्तरीय मनोरोग चिकित्सक सम्मेलनमा सहभागी चिकित्सकहरूले सो कुरा सार्वजनिक गरेका थिए । उनीहरूले मनोरोग बढ्नुमा गरिबी, घरेलु हिंसा, द्वन्द्वसँगै वैदेशिक रोजगार मुख्य कारण रहेको बताएका थिए ।

अस्पतालको अनुभव
अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलेज मनोरोग विभागकी वार्ड इन्चार्ज विमला कोइराला महिला मानसिक रोगीको संख्या धेरै रहेको बताउँछिन् । विगत तीन वर्षमा मात्रै एक सय ५० भन्दा धेरै महिला मानसिक रोगीहरूको उपचार भइसकेको उनले जानकारी दिइन् । साउदी, कुवेत, इजरायल, इराक, मलेसियाका धेरै नेपाली बिरामीहरू आउने गरेको उनको भनाइ छ । उनी थप्छिन्, ‘महिनाको पाँच जनासम्म बिरामी आएका छन् । कोही आफन्तले लिएर आउँछन् । कोही अन्य सामाजिक संस्थाले ।’सिन्धुपाल्चोककी एक महिला बुर्का लगाएरै आएकी उनी बताउँछिन् । उनले अरबी भाषा बोल्थिन् । घर, ठेगाना केही भन्न सक्ने अवस्थामा थिएन । त्रिभुवन विमानस्थलमा अलपत्र परेकी थिइन्, उनी । कति महिलाहरू गर्भवती भएरसमेत आउने गरेका छन् । वार्ड इन्चार्ज कोइराला बिरामीले अर्धचेत अवस्था पनि ‘भगवानको शक्ति मसँग छ, म ठूलो नेता हुँ, संसारलाई हल्लाउन सक्छु’ भन्दै कराउने गरेको बताउँछिन् । ‘सामान्य मानिसले कल्पना नै गर्न नसकिने व्यवहार गर्छन् । मान्छेलाई ढाल्न सक्छु, म बाराक ओबामा हुँ भन्दै कराउने गर्छन् । कोही चुपचाप बस्ने गर्छन् ।’ उनी भन्छिन्, ‘कपडा च्यात्ने, कराउने बिरामीभन्दा बोल्दै नबोली चुपचाप बस्ने बिरामी झनै खतरनाक हुन्छन् । सन्तुलन गुमेको अवस्थामा धेरैजसोले आफ्नो छोराछोरीको नाम लिँदै बर्बराउने गरेको सुनाउँछिन्, सचिव गुरुङ । मालिकको नाम लिँदै कराउने गरेको पनि उनी सुनाउँछिन् ।

 

मुख्य कारण
वैदेशिक रोजगारीमा जाने सबैको जीवन सफल हुँदैन । कतिपय विपतमा समेत परेका छन् । मानसिक रोगको मुख्य कारण तनावलाई लिइन्छ । तर, व्यक्तिमा तनाव त्यसै उत्पन्न हुँदैन । सामाजिक परिस्थिति तनावको जिम्मेवार पक्ष हो । जीवन सहज बनाउन विदेशिएका नेपालीहरूसँग विभिन्न सपना हुन्छन् । ती सपना पूरा गर्न विदेशिएका नेपाली जब मानसिक र शारीरिक यातना भोग्न पुग्छन्, तब मानसिक रूपमा उनीहरू विचलित हुन्छन् । पुरुषभन्दा महिला थप समस्यामा पर्छन् ।नेपाल मेडिकल कलेजका मनोरोग चिकित्सक ध्रुवमान श्रेष्ठ महिलाहरू शारीरिक र यौन हिंसाका कारण मानसिक सन्तुलन गुमाउन पुगेको बताउँछन् । उद्धार गरिएका अघिकांश यौन हिंसाका पीडित छन् ।
महिलाहरू थप पीडित हुनुको अर्को कारण हो, सरकारले वैदेशिक रोजगारीका लागि कहिले अनुमति दिने, कहिले नदिने गर्नु । अनुमति नलिई जाने महिला कामदारमा मानसिक रोगको समस्या उच्च देखिने बताउँछिन्, संस्थाकी सचिव गुरुङ । भन्छिन्, ‘बन्द हुँदा अवैधानिक बाटो भएर विदेश जान्छन् । त्यसले समस्यामा पार्छ । अनि महिलाहरू मानसिक रोगको शिकार हुन्छन् ।’अवैधानिक बाटो भएर विदेशिएका महिला कामदारहरू पटक–पटक अलपत्रमा पर्ने गरेका छन् । कुवेत हिँडेका ९० जना महिला श्रीलंकामा अलपत्र परेको खबर ०७३ साउनमा सार्वजनिक भएको थियो । त्यसरी जानेहरूमध्ये कतिपयले ‘अब यहीँ आत्महत्या गर्छु’ समेत भनेका थिए ।
मानसिक सन्तुलन गुमाएका कामदारहरूको हकमा कुनै नीति बनेको छैन। प्रबद्र्घन बोर्डबाटै यस सम्बन्धमा कदम चालिने छ।भूमिश्वर पोखरेल सूचना अधिकारी, श्रम तथा रोजगार मन्त्रालय
त्यसरी अवैधानिक बाटो जानेहरूमध्ये कैयौंमा मानसिक स्वास्थ्य समस्या हुन सक्ने विज्ञहरूको भनाइ छ ।नेपालबाट अदक्ष कामदार विदेशिने अवस्थालाई पनि मानसिक रोगी बढ्नुको कारणका रूपमा लिनुपर्ने जानकारहरू बताउँछन् । घरेल काम मात्रै गर्न सक्ने क्षमताका महिलाहरू किन विदेशिन खोज्छन् भन्नेबारे अध्ययन गर्नुपर्ने देखिन्छ । संस्थाकी सचिव गुरुङ विदेशमा हुने घरेलु हिंसाको अन्तर्य खोतल्नुपर्ने र त्यसमा महिलाको सामाजिक हुर्काइको प्रक्रिया नै गलत भएको बताउँछिन् ।
वैदेशिक रोजगारमा जाने अधिकांश महिलाहरू निरक्षर हुने विभिन्न अध्ययनले देखाएको छ । पौरखी नेपालको तथ्यांकअनुसार मानसिक समस्यामा परेका कुल महिलामध्ये ६० प्रतिशतले आफ्नो नाम लेख्न सक्ने र ४० प्रतिशत निरक्षर रहेको उल्लेख छ । उनीहरू सम्पूर्ण सूचना र अभिमुखीकरण तालिमबाट वञ्चित छन् । साथै श्रम स्वीकृतिसमेत लिएर गएका हुँदैनन् । त्यसो त, वैधानिक तरिकाले जानेहरू पनि घरेलु हिंसामा परेको खबर बारम्बार आउने गरेको छ ।महिलाको तुलनामा पुरुष शिक्षित छन् । उनीहरूले सामान्य अभिमुखीकरण तालिम र श्रमस्वीकृति लिएर जान्छन् । उनीहरूको मानसिक सन्तुलन गुम्ने कारणमध्ये सडक दुर्घटना र कार्यस्थलमा हुने दुर्घटना मानिन्छ । तर, पुरुषहरू पनि नदेखिने मानसिक कारणबाट पीडित रहेको विज्ञहरू बताउँछन् ।

 

खै स्वास्थ्य परीक्षण ?
वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य स्वास्थ्य परीक्षण गरिन्छ । हेमाटोलोजी (रगतसँग सम्बन्धित), बायोकेमिस्टर (शरीरसँग सम्बन्धित), सेरोलोजी (एचआईजीसँग सम्बन्धित), युरिन (महिलाको गर्भसँग सम्बन्धित)को परीक्षण हुन्छ । तर, मानसिक रूपमा ऊ सक्षम छ÷छैन भन्नेबारे कुनै परीक्षण हुँदैन । डा. श्रेष्ठ कामदारको मानसिक अवस्था कस्तो छ, विदेश गएर काम गर्न ऊ सक्षम छ कि छैन ? यसबारे परीक्षण हुनुपर्ने बताउँछन् ।तर, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड माथिको तर्क मान्न तयार छैन । बोर्डकी निर्देशक निर्मला थापा समग्र मानसिक रोगीबारे राज्यसँग कुनै नीति नै नरहेको जिकिर गर्छिन् । त्यसो त मानसिक अवस्था मापन गर्न गाह्रो छ । विदेशमा काम गर्न को÷कति सक्षम छन् भन्ने बुझ्न गाह्रो हुने बताइन्छ । त्यसका लागि अभिमुखीकरण तालिम नै उपयुक्त विकल्प हुने थापाको तर्क छ ।

कोरिया पुगेका ४७ हजार नेपाली कामदारमध्ये एक सय ३८ जनाले आत्महत्या गरेका छन् । सन् २०१७ मा मात्रै १६ जनाले आत्महत्या गरेको ईपीएस कोरिया शाखाले जनाएको छ । यसको कारण ‘डिप्रेसन’ भएको बताइएको छ । आत्महत्या गर्ने क्रम बढ्न थालेपछि सरोकारवाला निकायले रोकथामका लागि उचित कदम चाल्नुपर्ने बताउँदै आएका छन् । उनीहरूले काठमाडौंमा गोष्ठी गर्दै रोजगारमा जानुअघि नै मानसिक स्वास्थ्य परीक्षण गरिनुपर्ने माग गरेका छन् । गोष्ठीमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले नेपाली चिकित्सकहरूको एउटा विज्ञ टोली कोरिया पठाउनेबारे अध्ययन भइरहेको बताएका थिए । गत असारमा नेपाली कामदारको मृत्युको कारण बुझ्न एक विज्ञ चिकित्सकको टोली मलेसिया गएको थियो । सो टोलीले रिपोर्ट सार्वजनिक गरेन ।

 

राज्य कति जिम्मेवार ?
समस्याको दीर्घकालीन समाधानका लागि राज्यले वैदेशिक रोजगारीमा जानेलाई सचेत बनाउन नपुगेको देखिन्छ । शिक्षा र सचेतना बढाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।राज्यसँग श्रम स्वीकृति लिएर जानेको मात्रै तथ्यांक छ । कुन अवस्थामा आउँछन् भन्नेबारे कुनै सूचना छैन । वैदेशिक रोजगार विभाग उजुरी शाखाका शाखा अधिकृत लेखनाथ भट्टराई रोजगारबाट फर्किनेको कुनै तथ्यांक नहुने भएकाले मानसिक समस्यामा परेर आउनेबारे केही थाहा नभएको स्वीकार्छन् । विभागका प्रवक्ता मोहन अधिकारी मानसिक रोगीलाई एनजीओले गरेको सहयोग पनि सरकारले नै गरेको बताउँछन् । समाज कल्याण परिषद्मा दर्ता भएका संस्थाहरू सरकारकै भएको उनको बुझाइ छ ।
मानसिक रूपमा को/कति तयार छन् भन्ने मापन गर्न गाह्रो छ। विदेश जानुअघि अभिमुखीकरण तालिम दिइन्छ। यसमै भन्ने गरिन्छ।निर्मला थापा निर्देशक, वैदेशिक रोजगार तथा प्रबद्र्धन बोर्ड
बोर्डकी निर्देशक थापा मानसिक समस्याका कारण नेपाल फर्किएका कामदारबारे कुनै ऐन नबनेको स्वीकार्छिन् । मानसिक समस्याबारे बोर्डमा बारम्बार कुरा उठिरहेको र त्यसका लागि छुट्टै कार्यविधि बन्नुपर्ने उनको मत छ । सक्षम हुँदा रेमिटेन्स पठाउने व्यक्ति बिरामी परेपछि राज्यले बेवास्ता गर्ने गरेको बिरामीका आफन्तको गुनासो छ ।श्रम तथा रोजगार मन्त्रालयले सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको छ । जसमार्फत मुलुकको ११ जिल्लामा काम भइरहेको छ । परियोजना विदेशबाट अंगभंग भई तथा मानसिक रूपमा विक्षिप्त भई आउने कामदारहरूप्रति लक्षित छ । उनीहरूलाई घरघरमै गएर सल्लाह दिने काम भइरहेको बताउँछन्, मन्त्रालयका सूचना अधिकारी भूमिश्वर पोखरेल । घरै गएर नयाँ जीवन शुरु गर्न र सामाजिक अन्तरघुलनका लागि परामर्श दिने गरिए पनि कुनै आर्थिक सहायता भने दिइँदैन । परियोजना मानसिक सन्तुलन गुमाएका व्यक्तिको हकमा मौन छ ।

 

ऐनमा के छ ?
वैदेशिक रोजगार ऐन, २०६४ ले मानसिक समस्याबाट पीडित कामदारको हित नगर्ने दाबी विज्ञहरूले गरेका छन् । ऐनमा दुर्घटनाका कारण मानसिक सन्तुलन गुमाएका व्यक्ति मात्रै उल्लेख हुँदा घरेलु हिंसा, मानसिक तनावलगायत अन्य कारणबाट समस्यामा परेका कामदारलाई सम्बोधन भएको देखिँदैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ११ माघ ०७३ मा वैदेशिक रोजगार सम्बन्धमा गरेको सम्बोधनमा अपूर्णता देखिन्छ । ‘दुर्घटनाका कारण मानसिक स्वास्थ्य समस्या भएका नेपाली कामदार’ भन्ने वाक्यांश उल्लेख छ । वैदेशिक रोजगारीका सिलसिलामा मानसिक समस्यामा परेका कामदारभन्दा समस्याको सम्बोधन हुने देखिन्छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को परिच्छेद ८, दफा २९ (ङ) मा वैदेशिक रोजगारीको क्रममा शारीरिक वा मानसिक यातनाको कारण पीडित भएका वा मानसिक सन्तुलन बिग्री स्वदेश फर्किएका कामदारलाई निजले चाहेमा बढीमा तीन महिनासम्म सुरक्षित गृहमा राखी उपचार तथा मनोचिकित्सक परामर्श सेवा प्रदान गर्ने÷गराउने उल्लेख छ । सो दफामा भएको ‘निजले चाहेमा’ भन्ने शब्द व्यवहारिक नहुने बताउँदै समन्वय समितिका अध्यक्ष कार्की भन्छन्, ‘आफ्नो नाम र ठेगानासमेत भन्न नसक्ने बिरामीले परामर्श चाहियो भनेर कसरी भन्न सक्छन ।

 

 

 

 

 

 

 

 

अन्नपुर्णपोस्ट्बाट

 

 

 

 

 






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस