कुवेत पुगेकी बहा मुर्मुसित घरको फोन नम्बर छैन, शरीर सुकेर कालो भइसक्यो

कोशराज राई/कुवेत ।
असोज १७ – झापाको शिवसताक्षी नगरपालिका (साविकको शिवगञ्ज गाविस ५ लालपानी)की २९ वर्षीया बहा मुर्मु ४ वर्ष अघि कुवेत आउनु भएको हो । गहुँगोरो वर्ण, सुन्दर रुप लिएर कुवेत आएकी मुर्मु बिरामी परेपछि हिजोआज चिन्नै नसकिने अवस्थामा पुग्नुभएको छ ।
मुर्मुका श्रीमान् रोजगारीका लागि मलेसिया गएका थिए । तर उनलाई मलेसिया फापेन । पैसा कमाउनु त कता हो कता उनी अल्सरको बिरामी भएर नेपाल फर्किए ।

श्रीमान् र बालबच्चाका लागि खर्च जोहो गर्न कुवेतमा

           पहिलेकी बहा मु्र्मु

बहा मुर्मुले श्रीमानको उपचारका लागि घरघडेरी बेच्नुभयो । तर रोग निको भएन । त्यसैले उहाँ बिरामी श्रीमान्, ११ वर्षकी छोरी र ८ वर्षको छोरा छाडेर थोरैतिनो खर्च कमाई भइहाल्ला कि भन्ने आशमा दलालले देखाएको बाटोबाट रोजगारीका लागि कुवेत आउनु भएको हो ।
बहा मुर्मुका श्रीमान् अझै निको भएका छैनन् । रोगले झनझन च्याप्दै लगेको छ । पेटको एकापट्टि प्वाल पारेर पाइपबाट दिसापिसाव निकाल्ने गरिएको छ । उनै श्रीमान् र दुई बालबच्चाको पालनपोषण तथा शिक्षादिक्षाका लागि खाडीको देश कुवेत आएकी बहा मुर्मुको विदेश बसाई सुखद रहेन ।
मुर्मुका अनुसार उहाँलाई झापाकै कुमार गुरुङ र आशालाल मेचेले विदेश गएपछि राम्रो कमाई हुने भन्दै कुवेत पठाएका हुन् । घरेलु काममा आउनु भएको बहालाई घर मालिक्निेले सुरु देखि नै राम्रो व्यवहार गरेनन् । तिनै मालिक्निले बहा मुर्मसित भएको सबै टेलिफोन नम्बर च्यातेर फालिदिइन् । त्यसपछि उहाँले कसैसित सम्पर्क गर्न सक्नुभएन । एक वर्षसम्म त्यत्तिकै बित्यो ।

नेपाली युवतीसित भेट

घरको काम गाह्रो थियो नै । तलब पनि मासिक ५० केडी (झण्डै १७ हजार रुपैयाँ) मात्रै तलब दिने । त्यसमाथि काम गर्ने घरमा सधैंको कचकच, कुटाई खानुपरे पछि उहाँ एक महिनाको तलब नै नलिई भागेर बाहिर निस्किइन् ।
भागेर हिँडेपछि सर्लाही घर बताउने कुमारी तामाङसँग भेट भएको मुर्मुले सुनाउनुभयो । मुर्मुका अनुसार कुमारीले काम लगाइदिने भन्दै आफ्नो कोठामा लिएर गइन् । कोठामा लगेर फिलिपिनोका दुई जना बच्चा हेर्ने जिम्मा दिइन् । त्यसवापत महिनाको एक सय केडी (झण्डै ३४ हजार रुपैयाँ) तलब मुर्मुले पाउनुहुन्थ्यो ।
त्यो पैसा पनि कुमारीले घरमा पठाइदिने भन्दै लैजान्थिन् । कहिलेकाँही पैसा पठाएको प्रमाणका रुपमा चिर्कटो देखाउँथिन् । तर मुर्मुलाई पैसा पठाएको नपठाएको केही थाहा हुँदैनथ्यो । फेरि कुमारीले पनि घर बाहिर निस्कन नदिने । बाहिर निस्के प्रहरीले पक्रन्छ भनेर मुर्मुलाई डर देखाउँथिन कुमारीले ।

विचल्लीमा परेकी मुर्मु बिरामी भएपछि

१५ दिनका लागि नेपाल गएर आउँछु भनेर हिँडेकी कुमारी तीन महिनासम्म पनि नफर्केपछि मुर्मु बिचल्लीमा पर्नुभयो । कुमारीले १५ दिनमा फर्केपछि मुर्मुलाई नेपाली दूतावासमा पु¥याइदिने आश्वासन समेत दिएकी थिइन् ।
बिराम लाग्नु १५ दिन अघि मुर्मु एकदिन बाथरुममै ढल्नुभएको थियो । त्यसपछि बिरामले च्याप्दै लगेपछि अहिले उहाँ अशक्त भएर कुवेतस्थित नेपाली दूतावास पुग्नुभएको छ । हिँडडुल गर्न समेत सहारा चाहिने मुर्मुले खाना कम खानुहुन्छ ।
दुवै खुट्टा गलेको महसुस हुने र रिंगटा लाग्ने गरेको मुर्मुले बताउनुभयो । शरीर सुकेको र कमजोर छ । अनुहार घाँटीतिर ठाउँ ठाउँमा सेतो दाद जस्तो देखिन्छ । बाँकी शरीर पूरै कालो भएको छ । अहिलेसम्म उहाँको उपचार हुन सकेको छैन ।
घरको फोन नम्बर समेत छैन
अहिले मुर्मुलाई नेपालबाट आउँदा कुवेतको कुन ठाउँको घरमा आएको, कुमारीसँग भागेर कुन ठाउँमा बसेको समेत जानकारी छैन । घरमा टेलिफोनमा कुरा नभएको ६ महिनाभन्दा धेरै समय भइसक्यो । मुर्मुसित घरको फोन नम्बर समेत छैन ।

अहिलेकी बहा मुर्मु

कुमारी बस्ने फ्ल्याटका धनी र छिमेकीले मुर्मुलाई तीन महिनापछि नेपाली दूतावासमा ट्याक्सी चढाएर पठाएका थिए । कुमारी नभएका बेला छिमेकी भारतीय महिलाहरुले उहाँलाई खाना दिने गरेका थिए ।
यस्तै समस्या लिएर कुवेतस्थित नेपाली दूतावासमा यो हप्तामा मात्रै चार जना महिला आइपुगेका नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनले बताउनुभयो । यस अघिका ५० जना पीडित नेपाली महिला दूतावास मार्फत कुवेत सरकारको सेल्टरमा पुगेका छन् । प्रवासी महिला कामदार विपतमा परे कुवेत सरकारले आफैंले चलाएको सेल्टरमा राखेर प्रक्रिया पूरा गरी स्वदेश फर्काउने गरेको छ ।
साभार: उज्यालो अनलाईन






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस