के गर्दै छन् गुमनाम गायक कुबेर राई ?

कहिले सुटुक्कै विदेशको कर्न्सटमा, कहिले बाटो खन्दै गाउँघरमा

 

अक्टोबर १ , काठमाडौं । उनी सुटुक्कै काठमाडौं आउँछन् । भिसाको प्रक्रिया मिलाउँछन् । कहिले हङकङ पुग्छन्, कहिले बेलायत । स्थानीय नेपालीमाझ आफ्ना गीतहरु पेश गर्छन् । केही दिन प्रवासीको न्यानो आतिथ्यमा रमाउँछन् । अनि र्फकन्छन्, काठमाडौं । त्रिभुवन विमानस्थल ओर्लिएपछि घरका लागि कोसेली किनमेल गर्छन् । र, पोको पन्तुरो बोकेर सरासर गाउँ पुग्छन् ।

यही उपक्रमले कुबेर राईको सांगीतिक जीवन धानिएको छ ।

इलामको एउटा गाउँ, जसलाई भर्खर मोटरबाटोले जोडेको छ, त्यही थातथलो कुबेरको संसार हो । घाँस काट्छन्, मकै गोड्छन्, तरकारी फलाउँछन्, चिया स्याहार्छन् । कहिले  ‘पुल बनाउने’ भन्दै जिविसतिर धाइरहेका हुन्छन् । कहिले ‘बाटो खन्ने’ बताउँदै सहयोगार्थ कन्सर्ट गरिरहेका भेटिन्छन् ।

गाउँ चाहार्ने हो भने उनी झम्पल लिएर बाटो बनाइरहेका हुनसक्छन् । पुल बनाउनका लागि होस्टेमा हैंसे गरिरहेका हुन्छन् । तर, सेल्फी खिचेर ‘समाजसेवा’ गरेको देखाउँदैनन् । पत्रिकाका कटिङ भजाएर एनजीओको दैलो चाहार्दैनन् । नाङ्गो हात फैलाएर आर्थिक सहयोगको याचना गर्दैनन् । जे गर्छन्, चुपचाप गर्छन् । मनैदेखि गर्छन् ।

तर, उनको कर्म फरक छ ।

खासमा कुबेर संगीत साधक हुन् । दिनभर जेजस्तो काममा व्यस्त भए पनि साँझ हारमोनियममा औंला नचाउँदै ‘सारेगम’ अलापिरहेका हुन्छन् ।

प्रवासी नेपालीले उनको आवाजको तलतल मेट्न बेलाखबत निम्तो गर्छन् । उनी घर-व्यवहारको काम थाति राखेर विदेश उड्छन् । गाउँछन् । यसबाट धेरथोर खल्ति भरिन्छ । मन पनि ।

स्थानीय कार्यक्रमको ‘शोभा’

इलाममा हुने फुटबल प्रतियोगिता होस् वा सांगीतिक कार्यक्रम, कुबेर राईलाई निम्तो पुग्छै, पुग्छ । यस्ता कार्यक्रममा कुबेर राई आइदिनुपर्छ । ‘प्रमुख अतिथि’को ब्याज लगाइदिनुपर्छ । अनि, मेलोमेसो मिलेमा म्युजिक ट्र्याकमा २/४ गीत गाइदिनु पर्छ । अर्थात्, ‘कार्यक्रमको शोभा’ बढाइदिनु पर्छ ।

कुबेर कोमल छन्, सरल छन् । त्यसैले कसैको बचन टार्न सक्दैनन् । न उनी आफ्नो उपस्थितिको ‘मोल’ तोक्न सक्छन्, न निम्तोलाई ‘ठाडै अस्वीकार’ गर्न सक्छन् । यही कारण उनका निम्ति यस्ता निम्तो बोझिलो पनि बन्ने गरेका छन् । एक प्रसंगमा कुबेर भन्दै थिए, ‘सबैले आशा गर्छन्, मन राख्नै पर्छ । तर, यसरी साध्य पनि नचल्ने रहेछ ।’

कहिले स्टेजमा कहिले सडकमा

कुनैबेला उनको श्रीअन्तुस्थित घरमा मोटरबाटो थिएन । बिमारी बोक्न होस् वा नुन-भुटुन ल्याउन, फिक्कल बजारसम्म केही घण्टाको पैदल दूरी छिचोल्नु पथ्र्यो ।

अन्ततः उनी बाटो बनाउन कस्सिए ।

यस काममा प्रेमचन्द्र काजी र पेमा यल्मुहरुले उनलाई साथ दिए । आफूकहाँ संगीत सिक्न आउने तन्नेरीलाई उनले सर्त राखे, ‘संगीत सित्तैमा सिकाउँछु तर बाटो खन्न सघाउनुपर्छ ।’ आफ्नै रुख बेचेरसमेत डोजरका लागि खर्च जोहो गरे । कहिले कन्र्सट गरेर पैसा जुटाए, कहिले आफैं जिविस धाए ।

यसरी नै पशुपतिनगरबाट श्रीअन्तुसम्म पुग्ने मोटरबाटो बन्यो ।

हालै मात्र पनि बौद्धधामबाट लालीखर्क जाने बाटो बनाएर विश्राम लिएका रहेछन् । ‘एक पैसा नराखी सबै बाटो बनाउनमा खर्च गरियो,’ उनले भने, ‘अलिकति संसद विकास कोषको पैसा र जनश्रमबाट चार किलोमिटर जति बाटो बनाइयो ।’

अहिले उनी श्रीअन्तुबाट बौद्धधाम सरेका रहेछन् । यसो बर्खामा आउजाउ गर्न सजिलो हुन्छ भनेर । गाउँको चिया बगान अँधिया दिएछन् । अरु खेतीबाली भने आफैं गर्छन् । ‘सागसब्जीका लागि गाउँ जान्छु,’ उनले भने, ‘अरुबेला यहीं -बौद्धधाम) बसिन्छ ।’

यसबीचमा उनी काठमाडौं आएछन् । अरुकै एल्बमका लागि आधा दर्जन गीत रेकर्ड गराएछन् । र, उसैगरी गाउँ फर्किएछन् ।

अघिल्लो वर्ष उनी अस्ट्रेलिया पुगेका थिए, सांगीतिक प्रस्तुतीका लागि । त्यसअघि बेलायत । त्यसअघि हङकङ । यसपालिचाहिँ त्यस्तो मेलोमेसो मिलेको छैन । काठमाडौंमा प्रज्ञा प्रतिष्ठानले भने सांगीतिक कार्यक्रमका लागि निम्तो गरेको रहेछ । ‘सायद केही दिनपछि त्यतै आउँछु होला,’ उनले फोनमा भने ।

नफापेको काठमाडौं

गाउँकै बिहे, कार्जेमा सुरिलो भाका हालेर गाउने राई ठिटोलाई डोर्‍याउँदै संगीतकार मानसिंह थुलुङले काठमाडौं ल्याए, ०३८ सालतिर ।

त्यहीबेला उनले रेडियो नेपालले आयोजना गरेको ‘आधुनिक गायन प्रतियोगिता’मा भाग लिए । उनी प्रथम हुँदा आजका चर्चित गायक रामकृष्ण ढकालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । त्यसअघि नै रत्न रेकर्डिङले आयोजना गरेको ‘बृहत युवा राष्ट्रिय गीत सम्मेलन’मा प्रथम भएपछि गीत रेकर्ड र संगीत प्रशिक्षणका लागि छात्रवृत्ति प्राप्त गरेका थिए ।

तर, उनले काठमाडौंको गञ्जागोलमा आफूलाई टिकाउन सकेनन्, बिकाउन सकेनन् । अनि गाउँ फर्किए, खेतीपातीमा लागे ।

दोस्रो पटक उनलाई फेरि ‘काठमाडौं गएर गायक बन्नुपर्छ’ भन्ने लाग्यो, ०४६ सालमा । तर, खाने, बस्ने बन्दोबस्त जुटाउनै सकेनन् । कतिसम्म भने संगीतकार दिनेश सुब्बालाई पैसा सापटी मागेर किनेको पाउरोटी तीन छाक बनाएर भोक टारे । अम्बर गुरुङले भेट्दै पिच्छे भन्थे रे, ‘के खाँदै बस्दैछौ हौ, ठिटा हो ?’

यसको जवाफ हुँदैनथ्यो, कुबेरसँग ।

फेरि गाउँ फर्किए । र, उसैगरी मकै गोड्न थाले, चिया स्याहार्न थाले । अहिले पनि दैनिकी फेरिएको छैन । उस्तै छ । गाउँमा बस्छन् खेतीपाती गर्छन् । गाउँ छिमेकलाई बाटो बनाउन, पुल बनाउन हौस्याउँछन् । सुटुक्कै विदेश गएर कन्र्सट भ्याउँछन् । यता, काठमाडौं आएर गीत रेकर्ड पनि गराउँछन् ।

मायाले मुलबाटो भुलेछ, नौरंगी फूलबारी देखेर

दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर

दिलैको चोट झिकिदेउ भनेर …..

कुबेरले मुलबाटो भुलेका छैनन् । संगीतको मुलबाटोमै हिँडिरहेका छन्, उनी । स्वरसम्राट नारायण गोपालको झैं सुरिलो स्वरका धनी त्यही भएर गुन्जिइरहेका छन्, गाउँघरबाटै । अरु गायक-गायिका उपत्यकामा संघर्षरत रहँदा उनी गाउँमा रमाइरहेका छन्, गाउँले जीवनमा एकाकार छन् ।

साभार अन्लाईनखवर बाट





Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस