आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

रातारात हटाइएको प्रथम शहीद लखन थापाको शालिक पुनस्थापना हुने क्षमायाचनासहित १० बुँदे सहमति, पुनर्निर्माणको नेतृत्व मगर संघले गर्ने

परदेशी खबर १० आश्विन २०७४, मंगलवार ११:२६ मा प्रकाशित ( ६ साल अघि) १५८ पाठक संख्या

सेप्टेम्बर २६ l पोखरा लेखनाथ महानगरपालिकाले पोखराकै अति व्यस्त चोकको रुपमा रहेको लखनचोकमा रहेको नेपालका प्रथम शहीद लखन थापाको शालिक रातारात हटाएपछि आएको चौतर्फी बिरोधपछि तत्स्थानमै शालिक पुनस्थापना हुने भएको छ ।
शालिक हटाइएपछि आक्रोशित बनेका मगर समुदायलगायत सर्वसाधारणले विभिन्न माध्यमबाट चौतर्फी चर्को विरोध गरेपछि अन्ततः प्रशासन झुक्न बाध्य भएको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट १० बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमति अनुसार मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा प्रथम शहीद लखन थापाको शालिक निर्माण तथा पुनस्र्थापना समिति गठन गरिएको छ ।
सहमति अनुसार आज मंगलबारदेखि निर्माण सुरु गरिने भएको छ । पहिलेकै ढाँचा र स्वरुपमा शालिक निर्माण गर्ने र लखनचोकको केन्द्र भागमै पुनस्र्थापना गर्ने, शालिकको सुरक्षा जिल्ला प्रशासनले गर्ने, शालिक पुनस्र्थापना गर्न लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सहमति पनि भएको छ ।
प्रशासनले रातारात शालिक रहेको आइल्याण्ड हटाउने कार्यले आमनागरिक र सर्वसाधारणमा पुग्न गएको भावनात्मक चोटप्रति महानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।
महानगरपालिकासहित जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालय, पोखराले पोखराका आइल्याण्डहरूका कारण ट्राफिक जाम बढेको भन्दै हटाउने तयारी गरेको थियो । मगर संघ कास्कीसँग महानगरले आइल्याण्डको साइज सानो बनाएर प्रथम शहीदको शालिक राख्ने भन्नेमा सहमति गरेको थियो । तर, आइल्याण्ड पूरै हटाइएपछि मगर समुदाय आक्रोशित बनेका छन् ।
सोमबार राती भत्काइएको शालिकको पुनस्र्थापनासम्बन्धी भएको सहमति अक्षरशः पालना हुनुपर्ने सर्वसाधारणले माग गरेका छन् । रातारात शालिक हटाइएको थाहा पाएपछि मगर समुदाय भने आक्रोशित बनेका छन् । उनीहरूले सहमतिविपरीत शालिक हटाइएको भन्दै शालिक पुनस्र्थापनाको माग समेत गरेका छन् । लखनचोकको आइल्याण्ड भत्काइएपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।
तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहको शालिक रहेको सो स्थानमा ०६२÷०६३ को जनआन्दोलनका क्रममा आन्दोलनकारीले पृथ्वीनारायणको शालिक भत्काइदिएका थिए । त्यसपछि खाली रहेको सो चोकमा २०६४ सालमा मगर संघ कास्कीले प्रथम शहीद लखन थापाको शालिक राखेको हो । २०६५ सालमा पूर्ण कदको शालिक राखिएकोमा २०६७ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो शालिकको अनावरण गरेका थिए ।साभारः टुडे पोखरा डटकमबाट

जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमतिको बिज्ञप्ती