शिक्षा ऐन संशोधनमा आपत्ति जनाउँदै विज्ञद्वारा राजीनामा

– लोभीपापी मिलेर ऐन पास गरे । यसले स्कुल शिक्षाको भलाई गर्दैन : माथेमा
– मुलुकको सार्वजनिक शिक्षा अर्को २५ वर्षसम्म उभो नलाग्ने गरी थला परेको छ : वाग्ले

 

सेप्टेम्बर २१,-सामुदायिक विद्यालय थप धराशायी बनाउने गरी शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउँदै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्ले राष्ट्रिय उच्चस्तरीय शिक्षा आयोगबाट बाहिरिएका छन् ।

सरकारले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालयसम्मकै समग्र नीति निर्माण, कार्यक्रम कार्यान्वयन तहको अध्ययन र विश्लेषण गरी मुलुकको शिक्षा नीति बनाउनका लागि सुझाव पेस गर्न भदौ १९ मा आयोग गठन गरेको थियो । शिक्षामन्त्रीको अध्यक्षमा रहेको आयोगमा ६५ सदस्य छन् । सदस्यहरूमध्ये शिक्षाविद्लाई समेटेर छुट्टै कार्यदल बनाइएको छ । दुवै जना कार्यदलका समेत सदस्य हुन् ।

संसदको मंगलबारको बैठकद्वारा पारित ऐनको संशोधनले सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको योग्य शिक्षकबाट पढ्न पाउने अधिकार हनन भएको माथेमा र वाग्लेको ठहर छ । पारित संशोधनले विद्यालय शिक्षालाई सुधार गर्नेभन्दा पनि झन् बिगार्ने भएकाले आफू आयोगमा बस्न उचित नलागेको उनीहरूले बताए । ‘नयाँ र योग्य शिक्षकले प्रवेश नपाउने गरी अस्थायी शिक्षकलाई नै स्थायी बनाउने गरी ऐन संशोधन भएको सुनेपछि चकित भएँ,’ माथेमाले कान्तिपुरसित भने, ‘यसले स्कुल शिक्षाको भलाई गर्दैन । अब अधोगतितिर पठायो । अहिलेका पुराना शिक्षकलाई सुविधा दिएर बिदाइ गरी नयाँ शिक्षक  ल्याउनुपथ्र्यो । यसो नगर्दा झन् बिग्रिने भयो । यो व्यवस्थाप्रति मेरो आपत्ति छ । त्यसैले आयोगको सदस्य नबस्ने निधो गरेको हो ।’

सबै पार्टी मिलेर गरेको यो निर्णय गलत भएको माथेमाले बताए । ऐन संशोधन गरेर राज्यले बेइमानी गरेको उनले बताए । ‘लोभीपापी मिलेर ऐन पास गरे,’ उनले भने, ‘यसले देशको हितमा काम गर्दैन ।’ सस्तो लोकप्रियताका लागि मात्रै ऐन संशोधन गरेको उनको ठहर छ ।

अर्का शिक्षाविद् मनप्रसाद वाग्लेले आफ्नो राजीनामा पत्रमा ऐन संशोधनलाई सार्वजनिक शिक्षाको इतिहासमा अर्को कमजोरी भनेका छन् । ‘विद्यार्थीको हित हेर्ने दायित्व सरकारको र खासगरी शिक्षामन्त्री तथा शिक्षा मन्त्रालयको हो कि होइन ? भोलि यिनै जनशक्तिले देश हाँक्ने हुन् कि होइनन् ?’ राजीनामा पत्रमा वाग्लेले लेखेका छन्, ‘सार्वजनिक विद्यालयबाहेक अन्यत्र पढ्ने त विदेशमै सेवा गर्न जाने हुन् भन्ने कुरा विगत ३० वर्षको इतिहासले प्रस्ट पार्छ । जनसंख्याको त्यत्रो ठूलो जमात सार्वजनिक शिक्षाभित्र छँदाछँदै तिनैलाई कुठाराघात गर्ने ऐन संसद्बाट पारित गर्नु, गरिनु वा गराइनु कुनै पनि हालतमा उपयुक्त मान्न सकिन्न । त्यसैले मैले यो ऐनलाई नेपालको सार्वजनिक शिक्षाको इतिहासमै सर्वाधिक नोक्सानी पुर्‍याउने मानेको छु ।’

मंगलबार पारित ऐनले मुलुकको सार्वजनिक शिक्षा अर्को २५ वर्षसम्म उभो नलाग्ने गरी थला परेको उनले बताए । ऐन संशोधन गरेर खुला प्रतिस्पर्धाको बाटो बन्द गरी शिक्षक व्यवस्थापन गर्नु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नुसरह भएको उनले बताए । देशको जनसंख्याको झन्डै एक चौथाइ सार्वजनिक शिक्षालयमा पढ्ने भएकाले तिनीहरूको हितलाई ध्यानमा राखेर काम नभएसम्म देशको विकास सम्भव नहुने उनले बताए ।

यस्तो ऐनको पहलकदमी गर्ने शिक्षामन्त्रीको अध्यक्षतामा गठन भएको आयोगबाट स्वतन्त्र शिक्षाप्रेमीले योगदान गर्न नसक्ने भन्दै उनले राजीनामा दिएका हुन् । बाहिरी रूपमा शिक्षा ऐनको विरोध गरेर जनतालाई भ्रममा पार्ने र भित्रभित्रै शिक्षकको खाली दरबन्दीमा अधिकतम प्रतिशत आन्तरिक व्यवस्थापनबाटै टुंगो लगाउने पूर्वशिक्षामन्त्री गंगालाल तुलाधर, धनीराम पौडेल यसै आयोगमा रहेकाले पनि आयोगमा बसिरहन उपयुक्त नहुने उनको निष्कर्ष छ । ‘तपाईंहरू सबैको मिलेमतोमा पास भएको उक्त ऐनले शिक्षण पेसामा लाग्दै देशको सेवा गर्ने मनसायले आफ्नो पढाइ, तालिम र प्रतिस्पर्धात्मक अध्यापन अनुमति पत्रसमेत प्राप्त गरेर खाली दरबन्दीको विज्ञापन कुरेर बसेका ७ लाख युवाको भविष्य अनिश्चित बनाएको छ,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘अब खाडी मुलुकतिर धकेलिने अवस्थाको सिर्जना भएको छ ।’

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक आस्थाको बाहुल्य रहेको आयोगबाट नेपालमा गुणस्तरीय शिक्षाको ठोस काम नहुने उनको दाबी छ । आयोगले राम्रै सुझाव दिए पनि ऐनमा रूपान्तरण गरी कार्यान्वयन गर्ने जिम्मेवारीमा अहिलकै सांसदहरूप्रति विश्वास गर्ने ठाउँ नभएकाले आयोगबाट अलग हुने निर्णयमा पुगेको उनले बताए । अस्थायी शिक्षकको समस्या समाधान गर्ने बहानामा पेस गरिएको विधेयकलाई संसद् सदस्यको २६.२२ प्रतिशत सांसद सहभागी बैठकले पारित गरेको छ । समितिमा छलफलमा पठाउनुपर्ने सांसदको मागलाई समेत बेवस्ता गरेर ‘फास्ट ट्रयाक’ बाट ऐन पारित भएको हो । कार्यरत अस्थायी शिक्षकलाई ७५ र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत मात्रै शिक्षक छनोट गर्ने गरी ऐन संशोधन भएको हो ।

साभार कान्तिपुर






Related Posts
  • चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने
  • कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने
  • सुदुरपश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सव फेब्रुवरी १६ मा
  • दिवंगत प्रकाश दाहाल प्रति हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    चर्चित कलाकारहरु पशुपति शर्मा, प्रकाश कटुवाल, जानकी तारमी र ऋषि खड्का कुवेत आउने

    कुवेत – काठमाण्डौं सिधा उडान डिसेम्बर ६ बाट हुने

    “मृत्यु”  मन्जु मोक्तानको कबिता

    बिजनेष

    ओबीओआरको प्रगतिः सुस्त नेपाल, तीब्र चीन !

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस