सडकले छिचोलिँदै सिमकोट–हिल्सा

अब ७ किमि मात्र खन्न बाँकी रहेकाले असोजभित्र सिमकोटसम्मै गाडी पुर्‍याउने आयोजनाको लक्ष्य

जुलाई १०,- राष्ट्रिय गौरवको सडक आयोजना निर्माणले तीव्रता पाएसँगै हुम्लाको सिमकोटलाई चीनसँग जोड्ने स्थलमार्ग अन्तिम चरणमा पुगेको छ । कर्णाली कोरिडोर आयोजनाअन्तर्गत सिमकोट–हिल्सा सडक निर्माण सुरुवातमा सुस्त देखिए पनि दुई वर्षयता काम तीव्र हुँदा चीनसँगको दूरी छोटिँदै गएको हो ।
सीमाक्षेत्र हिल्सादेखि सिमकोटसम्मको ९५ किमिमध्ये ७० किमि ट्र्याक खुलिसकेको छ । सिमकोटदेखि उत्तरतर्फ सिमकोट गाउँपालिकाको हेप्काखोलासम्म १८ किमि दूरीमा समेत ट्र्याक खुलेको छ । अब दुई सडक खण्डलाई जोड्न ७ किमि मात्र खन्न बाँकी छ ।

हिल्सातर्फ चिनियाँ बजारबाट दुई दर्जन गाडी नियमित सञ्चालनमा छन् । सिमकोटदेखि उत्तरतर्फ हेलिकप्टरमार्फत स्थानीयले खरिद गरेका जिप र ट्रयाक्टर चलेका छन् । नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पुल बनेपछि हुम्लाको केर्मी गाउँसम्म साना सवारीसाधन चल्न थालेको आयोजनाले जनाएको छ । ‘दुवैतर्फ धमाधम काम भइरहेको छ,’ आयोजनाका इन्जिनियर विजयबहादुर थापाले भने, ‘नदीमा बेलिब्रिज जडान भएकाले केर्मी गाउँसम्म सवारीसाधन सञ्चालनमा छन् ।’

बेलिब्रिज निर्माण चार वर्षअघि सुरु गरिएको थियो । निर्माण सामग्री आइपुगे पनि दुई पक्षबीच विवाद हुँदा लामो समय पुल जडान गर्न सकिएको थिएन । स्विस सहयोगमा स्थानीय सडक पुल सहयोग युनिट (एलएलआरबीटी) ले कंरी निर्माण सेवालाई आव २०७१/७१ मा पुल बनाउने जिम्मा दिएको थियो । ५ करोड २५ लाख लागतमा पुल सम्पन्न भएको छ ।

दुवैतर्फ गाडी सञ्चालन 
सीमामा यातायात र भन्सार कार्यालय नभएकाले स्थानीयले नम्बरप्लेट र अनुमतिबिनै दुई दर्जन गाडी चलाउँदै आएका छन् । हुम्लासम्म सञ्चालन हुने यातायातका साधन व्यवसायीले चिनियाँ बजारबाट खरिद गरेका हुन् । अहिले नाम्खा गाउँपालिकाका अधिकांश र सिमकोटका ३ वडामा यातायात सेवा जोडिएको छ । सिमकोट गाउँपालिका प्रमुख पदमबहादुर लामाले सिमकोटबाट एक दिन हिँडे यातायातका साधन भेटाउन सकिने बताए । उनका अनुसार ट्र्याक खुलेपछि दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानी र स्थानीयलाई तिब्बत आउजाउमा सजिलो छ ।
‘हिल्सा–सिमकोट दूरी छोटिँदै गएपछि निकै राहत भएको छ । सडक पूरै बनेपछि हुम्लाले चिनियाँ आर्थिक कारोबारलाई सबै क्षेत्रसँग जोड्ने अपेक्षा छ,’ उनले भने, ‘ट्रयाक खुलेपछि अधिकांश स्थानीयको तिब्बती बजार ताक्लाकोटसम्म व्यापार पहुँच वृद्धि भएको छ ।’

यसरी बन्यो योजना 
२०५४ सालमा हुम्लामा भोकमरीसँगै भाइरल इन्फ्लुएन्जाबाट करिब ४ सय जनाको ज्यान गएपछि स्थायी समाधानका लागि तत्कालीन जिविसले सडकमार्फत चीनतर्फ पहुँच सहज बनाउने योजना ल्यायो । तत्कालीन जिविस सभापति जीवनबहादुर शाहीको नेतृत्वमा २०५५/५६ मा आन्तरिक स्रोत प्रयोग गरी निर्माण थालिएको थियो । जिविसका अनुसार २०५७/५८ बाट सडकलाई विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रममार्फत सहयोग गर्न थाल्यो । खाद्य कार्यक्रमले १ हजार १ सय मेट्रिक टन चामल उपलब्ध गरायो । २०५७/५८ मा दुर्गम क्षेत्र विकास समितिले ७ लाख खर्चेर सडकलाई निरन्तरता दियो । २०५७ देखि ०६५ सम्म जिविसले ६ करोड ८० लाख खर्चियो । तैपनि निर्माणले गति लिन नसकेपछि जिविसले एक्स्काभेटर किनेर काम अघि बढायो । हिल्साबाट दक्षिण यारीसम्म ३२ किमि सडकको ट्र्याक खुलेपछि स्थानीयले आफैं गाडी किनेर चलाउन थाले ।

कर्णाली कोरिडोर निर्माणको आशा 
विभिन्न निकायबाट काम गर्दा पनि निर्माणले गति नलिएपछि स्थानीयको दबाबमा सरकारले कर्णाली कोरिडोर नाम दिएर सडक विभागमार्फत काम अघि बढाएको थियो । कोरिडोरमार्फत हिल्सादेखि सिमकोट हुँदै भारतीय सीमा रुपैडिहा जोड्ने सरकारी योजना छ । इन्जिनियर थापाका अनुसार गत वर्षसम्म उक्त सडक खण्डको निर्माणमा २२ करोड ८१ लाख रुपैयाँ खर्चिएकोमा चालु आवमा थप १० करोड लगानी भइसकेको छ । अब ३ करोड रकम विनियोजन भए असोजसम्म सिमकोटमै गाडी पुग्ने उनले जानकारी दिए । ‘निर्माण बाँकी रहेको ७ किमि दूरीमा कडा चट्टान छ । त्यसैले सल्लीखोला हुँदै धिगा घुमाएर असोजसम्म सडक सिमकोट पुर्‍याउने लक्ष्य छ,’ थापाले भने, ‘ट्र्याक खुलिसकेको ठाउँमा चार लेन बनाउने कामसमेत भइरहेको छ ।’

अर्को सडक बन्दै 
चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकामा पर्ने लिमीलाप्चा–सिमकोट सडकको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । इन्जिनियर थापाका अनुसार १ सय १० किमि सडकको १ सय ५ किमि निर्माण सम्पन्न भइसकेको छ । नाम्खाको हेप्का खोलासम्म सडक बनिसकेकाले यसको काम पनि असोजभित्र सम्पन्न गर्ने योजना रहेको उनले सुनाए ।

कान्तिपुरबाट






Related Posts
  • आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह
  • बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक
  • राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी
  • एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
  • पछिल्ला सम्प्रेसणहरु

    आफू रहेको देशको नियम कानूनको पालना गरी पत्रकारिता गर्न महासंघ अध्यक्षको आग्रह

    बिबि मल्ल ठकुरीको ‘मायाले मार्यो नि’ बोलको गीतको म्युजिक भीडियो सार्वजनिक

    राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यमा सबैभन्दा बढी मतले नेपाल विजयी

    बिजनेष

    कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस