आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

'फिक्सिङबाट बिरक्तिएर झण्डै विदेशिएको थिएँ': विशाल राई

परदेशी खबर ४ बैशाख २०७४, सोमबार १०:१५ मा प्रकाशित ( ७ साल अघि) २८१ पाठक संख्या


अप्रील १७, दमक । विशाल राई अर्थात् नेपाली फुटबलको नयाँ पुस्ताको एक चर्चित नाम। झण्डै दुई वर्षयता प्रभावशाली प्रदर्शन गर्दै आएको नेपाली राष्ट्रिय फुटबल टोलीको महत्त्वपूर्ण हिंस्सा हुन् उनी। मध्यक्रमबाट कलात्मक फुटबल खेल्ने २४ वर्षका विशालको प्रदर्शन नेपाली टोलीको जीतमा महत्त्वपूर्ण सावित हुने गरेको छ। राष्ट्रिय टोलीबाट एक दर्जन खेल खेलिसकेका विशालले यसबीचमा पाँच गोल गरेका छन्। समर्थकहरूले उनलाई विशाल राई ‘बी’ भनेर चिन्छन्। एउटै नामका दुई फुटबलर रहेकाले उनको नामपछि ‘बी’ झुण्ड्याइएको हो। अर्का विशाललाई विशाल राई ‘ए’ भन्ने गरिएको छ।

झुम्रोका बलबाट तिखारिएको प्रतिभा

विशालको जन्म झापा जिल्लाको शनिअर्जुन नगरपालिका–११ लक्ष्मीधारामा भएको हो। उनले स्थानीय मैदानमा झुम्रोको बलबाट फुटबल सिकेका हुन्। अाफूले फुटबल सिक्दा धेरै गाह्रो भएको, अहिलेजस्तो सहज नभएको स्मरण गर्दै राई भन्छन्, ‘हामीले झुम्रोको बल खेलेर सिकेका हौँ। ठूला दाइहरूले गोल खेल्नुहुन्थ्यो, हामीलाई समावेश गर्नुहन्थेन।’ अग्रजहरूले गोल खेल्दा आउट हानेको बल हान्न आफूहरू पर्खेर बस्ने गरेको उनी सुनाउँछन्। ‘बाहिर धेरै जना भइन्थ्यो, त्यो हान्न हामी झगडा गर्थ्यौँ’, राई भन्छन्। सुरुमा त परिवारले पनि बलको पछि लागेको रुचाउँदैन थियो। ‘करिब १० वर्षअघिसम्म मलाई घरबाट समय निकालेर गोलमा प्राक्टिस गर्न धेरै गाह्रो हुन्थ्यो’, राई भन्छन्, ‘गोल खेलेर केही हुँदैन भन्दै अभिभावकहरू कराउनुहुन्थ्यो।’ परिवारको एक्लो छोरो भएकाले घरमा काम सघाउनुपर्दा पनि फुटबलका लागि समय दिन गाह्रो पर्ने गरेको उनको भनाइ छ। एन्फाका रेफ्रीले देखेपछि चम्कियो भविष्य विशाल १५ वर्षअघि घरनजिकै चौरमा बल गुडाउँदै थिए। संयोगवश एन्फाका रेफ्री प्रदीप बस्नेतको नजरमा उनी परेछन्। त्यतिबेला बस्नेतको नजरमा पर्नु नै विशालको जीवनमा महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्यो। सोही कारण उनी रेफ्री बस्नेतप्रति निकै आभारी छन्। ‘हामी सानोमा नजिकैको ग्राउण्डमा खेल्ने गर्थ्यौं, मेरो खेल प्रदीप सरले हेर्नुभएछ’, विशाल भन्छन्, ‘त्यसपछि मलाई तालिममा लानुभयो, यो नै मेरो सफलताका लागि पहिलो खुड्किलो बन्यो।’ उनलाई बस्नेतले नलगेका भए यतिबेला अाफू यो स्थानमा हुन गाह्रो पर्ने उनको भनाइ छ। राजधानी आएपछि विशालले ०६६ सालमा मछिन्द्र क्लबबाट लिगमा प्रवेश पाए। त्यसपछि जावलाखेल, फेरि मछिन्द्र क्लब हुँदै अहिले मनाङ मर्स्याङ्दीबाट खेलिरहेका छन्।

३५ वर्षपछिको गोल

विशाल सन् २०१४ मा पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए। विश्वकप छनोटअन्तर्गत भारतसँग गुवाहिटीमा भएको खेलका लागि टोलीमा परे पनि उनले खेल्न भने पाएनन्। त्यसपछि राष्ट्रिय टोलीमा पर्न थालेका विशालले हालसम्म १२ खेल खेलिसकेका छन्, जसमा पाँच गोल उनको नाममा छ। उनले केही समयअघि एसिया कप छनोटको तेस्रो चरणमा फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा गोल गरे। त्यो ३५ वर्षपछि कुनै पनि नेपाली खेलाडीले फिलिपिन्सविरुद्ध गरेको पहिलो गोल थियो। सन १९८२ मा गणेश थापाले गोल गरेयता नेपालले फिलिपिन्सविरुद्ध गोल गर्न सकेको थिएन। यद्यपि, नेपाल ४–१ ले पराजित हुँदा विशालको गोल सान्त्वना मात्र बन्न पुग्यो।

यसका अलावा उनले ०७२ माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको सेमिफाइनलमा माल्दिभ्स र फाइनलमा बहराइनविरुद्ध गोल गरेका थिए। यस्तै सागमा भुटानविरुद्ध र मैत्रीपूर्ण खेलमा लाओसविरुद्ध पनि उनले बललाई जाली चुमाएका छन्। भाग्यको साथ नेपाली फुटबलमा छोटो अन्तर्राष्ट्रिय करियरमै महत्त्वपूर्ण सफलता हासिल गरेका विशाल आफूलाई भाग्यले पनि साथ दिएको ठान्छन्। ‘मलाई भाग्यले साथ दिएको हो’, उनी भन्छन्, ‘मैले ३५ वर्षको रेकर्ड ब्रेक गर्दै फिलिपिन्सविरुद्ध समेत गोल गरेँ।’ उनलाई बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध गरेको गोल ‘स्पेशल’ लाग्छ रे! ‘त्यो गोल म कहिल्यै बिर्सन सक्दिनँ’, राई भन्छन्, ‘म्याच फिक्सिङलगायतका कारणले नेपाली फुटबलर हुँ भन्न नसक्ने अवस्थामा भएको बेलाको मेरो पहिलो गोल थियो त्यो। हामी त्यहाँ राम्रो गर्न सफल पनि भयौँ।’ त्यसअघि सबै खेलमा हारिरहेको अवस्था स्मरण गर्दै राई भन्छन्, ‘राष्ट्रिय खेलाडी भन्न पनि लाज लाग्ने अवस्था थियो।’

फिक्सिङबाट बिरक्तिएर झण्डै विदेश

नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँच जना म्याच फिक्सिङको आरोपमा पक्राउ परेपछि नेपाली फुटबल निराशा र अन्योलको भुमरीमा फस्यो। समर्थकहरू मात्र दुःखी भएनन्, खेलाडीहरूमा पनि खेल्ने उत्साह मरेर गयो। त्यतिबेला विशाल झण्डै विदेशिएका रहेछन्। ‘हामी सबैमा फ्रस्टेसन थियो, कुनै पनि खेल जित्न सकिरहेका थिएनौँ’, विशाल भन्छन्, ‘अब खेलेर केही गर्न सकिँदैन भनेर म विदेश जान लागेको थिएँ।’ यो घटना नेपाली फुटबलका लागि जति दुःखद् थियो, यसले त्यति नै सुखद् भविष्य पनि देखाइदियो। फिक्सिङ प्रकरणपछि नेपाली फुटबलमा नयाँ अध्याय सुरु भएको मान्छन् उनी। ‘म्याच फिक्सिङ प्रकरणपछि नेपाली फुटबलमा एक किसिमको तरंग छाएको छ। अब फुटबलबाट पनि केही गर्न सकिन्छ भन्ने आशा जागेको छ’, राईको उत्साह यसरी निस्कियो, ‘नेपाली फुटबल टिमले अहिले धेरै प्रतियोगितामा जीत हासिल गरिरहेको छ। यो देशका लागि राम्रो कुरा हो।’ आफूहरूलाई फेसबुकमा धेरै नकरात्मक प्रतिक्रिया आउने गरेको पनि सम्झन्छन् राई। ‘बल खेलेको एउटा फोटो हाल्यो भने तेरो काम छैन, विदेश जासम्म भनेका छन्’, राईले चित्त दुखाउँदै भने, ‘तर अहिले म एउटा नेपाली फुटबलर भएकोमा गर्व गर्छु।’
राज्यप्रति गुनासो
विशाल नेपाली फुटबलको विकासका लागि सरकारले अपेक्षित काम गर्न नसकेको बताउँछन्। सरकारले घोषणा गरेको पुरस्कार पनि खेलाडीहरूले नपाउने अवस्था रहेको उनको गुनासो छ। ‘सरकारले खेलको विकासमा केही गरेको छैन। अहिले जति प्रतियोगिता जितेका छौं, यो सबै एन्फाले गर्दा जितेका हौँ’, विशाल भन्छन्, ‘ट्रेनिङको सबै व्यवस्था उसैले गरेको हो।’ नेपालमा रहेको एउटा मात्रै अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइदिए पनि हुन्थ्यो भन्ने उनको चाहना छ। ‘सरकारले त हामीलाई दिने भनेको पुरस्कार पनि दिँदैन, यो पुरस्कार जितिसकेपछि घोषणा गर्नुभन्दा पहिले नै खेलकुदको विकासका लागि खर्च गरे हामीलाई धेरै सहज हुने थियो’, उनी भन्छन्, ‘नेपालमा रहेको एउटा मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाए मात्र पनि हामीलाई धेरै सहज हुने थियो।’ राष्ट्रिय खेलाडीलाई आजीवन पाँच हजार रुपैयाँ भत्ता दिने घोषण गरेपछि भने उनलाई थोरै हौसला मिलेको छ। ‘सरकारको यो घोषणाले धेरै सहयोग पुगेको छ, अब फुटबल खेलेरै केही गर्न सकिन्छ भन्ने आशा जागेको छ’, उनी भन्छन्। मोफसलमा हुने प्रतियोगिताहरूले खेलाडीको विकास नहुने उनी बताउँछन् खेलाडी र खेलको विकास गर्न लिग गरिरहनुपर्ने उनको भनाइ छ। खेलाडी छनोटमा नातावाद/कृपावाद चल्ने गरेको आरोपप्रति विशालको सहमति छैन। राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिराख्दा चल्ने यस्ता हल्लाले उनलाई नराम्रो पनि लाग्छ। ‘खेलाडी छनोटमा कहिल्यै पक्षपात हुँदैन, त्यहाँ खेलाडीको परफर्मेन्स नै हेरिन्छ’, विशाल भन्छन्, ‘प्रशिक्षकले लामो समय ट्रेनिङ गराएका हुन्छन्, ट्रेनिङमा गरेको परफर्मेन्सका आधारमा खेलाडी छनोट हुन्छ।’ यो सब आरोप मात्र भएको र बाहिर खेल देखाएको भरमा खेलाडी छनोट नहुने तालिम राम्रो गर्नुपर्ने उनी बताउँछन्। फुटबललाई नै आफ्नो जीवन मान्ने विशाल आफूलाई फुलटाइम फुटबलर भन्न रुचाउँछन्। ‘म फुलटाइम फुटबलर हो। राम्रो प्रस्तुति दिन सकुञ्जेल फुटबल नै खेल्छु’, उनको प्रष्ट भनाइ छ।साभार: थाहा खबर।