आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

रसुवागढीबाट बढ्यो सुन तस्करी

परदेशी खबर ३ माघ २०७३, सोमबार १०:०३ मा प्रकाशित ( ७ साल अघि) १८६ पाठक संख्या

बेत्रावतीसम्म आइपुग्दा सुरक्षा निकायका ९ वटा चेकपोस्ट पार गर्नुपर्छ, यति धेरै जाँच छल्दै सुन काठमाडौं भित्रिन्छ

प्रकाश अधिकारी / जनवरी १६, – रसुवागढी नाका भएर सुन तस्करी बढेको छ । प्रहरीले पहिलोपटक २०७१ असार १७ गते १० तोला अवैध सुन बरामद गरेको थियो । त्यसयता अहिलेसम्म त्यस्ता ७ घटना सार्वजनिक भएपछि यो तस्करीको प्रमुख नाकाका रूपमा चिनिन थालेको हो ।

जिल्ला प्रहरीका अनुसार ०७१ साउन ६ मा सम्झना तामाङबाट ६ तोला, ०७२ साउन १६ मा योसाङ तामाङबाट १ किलो र माघमा चिनियाँ नागरिक लोन्डलिङबाट १२ तोला सुन बरामद भएको थियो । यस्तै चैतमा बागलुङका तेम्वा रिन्जेन गुरुङबाट २२ तोला, ०७३ जेठ ३० मा काङकाङबाट ६ किलो र पुस ६ मा विरेन तामाङबाट ५ किलो सुन समातियो ।

प्रहरीले जिल्लाभित्र सानो परिणाममा बरामद गरेको जनाए पनि यो नाका प्रयोग गरेर राजधानीसम्मै ठूलो मात्रामा सुन पुगेपछि नेपाल र चीन बीचको एक मात्र व्यापारिक नाका बदनाम हुन थालेको छ । प्रहरीले काठमाडौंको थानकोटमा पुस १३ गते ७ किलो र शनिबार मात्रै १५ किलो सुन बरामद गरेको छ । सानो परिमाणमा आउने सुन धेरैजसोले लगाउन मिल्ने गहना तयार गरी ल्याउने गरेको पाइएको छ । पक्राउ परेका व्यक्तिले कानमा लगाउन मिल्ने रिङ, चुरा र चेन बनाएका सामान ल्याउने गरेको पाइएको प्रहरीले जनायो । रसुवागढीबाट राजधानी फर्कंदा बेत्रावतीसम्म मात्रै नेपाल प्रहरी, सशस्त्र र सेनाका गरी ९ वटा चेकपोस्ट पार गर्नुपर्छ । यति धेरै ठाउँको जाँच छल्दै सुन राजधानीसम्म पुग्ने गरेको हो । साँघुरो कच्ची सडक, भौगोलिक विकटता, बलियो सूचना संयन्त्रको अभाव र चेकजाँचमा आधुनिक प्रविधिको प्रयोग अभावले रसुवागढीबाट भित्रिने अवैध सुन राजधानीसम्म पुग्न सकेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । ठूला सवारी साधनमा स्याउ, कपडालगायत वस्तु भित्रिने र साना सवारी साधनमा यात्रुको चाप बढी हुने भएकाले सामान्य चेकजाँच गरी छोड्दा तस्करलाई फाइदा पुगेको हुन सक्ने प्रजिअ न्यौपानेको भनाइ छ ।

जिल्ला तानिए इन्चार्ज
रसुवा र नुवाकोटका दर्जन सुरक्षा चेक पोस्ट छल्दै अवैध सुन राजधानी भित्रिन थालेपछि रसुवागढीका इन्चार्ज असई ज्योतेन्द्र भण्डारी जिल्ला तानिएका छन् । जिल्ला प्रहरी कार्यालयले उनको ठाउँमा कुमार श्रेष्ठलाई पठाएको छ । तर, प्रहरी निरीक्षक सानुबाबु भण्डारीले असई भण्डारीको जिल्लाबाहिर सरुवा भएकाले सदरमुकाम फिर्ता बोलाएको बताए ।

गत पुस १८ मा गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी प्रमुख रसुवा भ्रमणमा आएका थिए । जिल्ला सुरक्षा निकायले अन्तरदेशीय नाकामा सुरक्षा जाँचका लागि आधुनिक प्रविधि प्रयोगमा ल्याउन सुझाए पनि हालसम्म कार्यान्वयन भएको छैन । ‘आधुनिक प्रविधि प्रयोग गर्ने विषयमा पहल भइरहेको छ, अत्याधुनिक सामान कहिलेसम्म आउँछन् भन्ने निक्र्योल छैन,’ प्रजिअ न्यौपानेले भने ।

चीनसँगको एक मात्र नाका रसुवागढी र त्यहाँबाट भित्रिने सामान चेकजाँचको जिम्मा पाएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बस्नका लागि नाकामा व्यवस्थित कार्यालय भवनसमेत छैन । प्रहरीले केरुङबाट आएका यात्रु र सामान सामान्य टेकोमा अड्याएको काठको फलेकमा राखेर चेकजाँच गर्दै आएका छन् । सीमा प्रहरी चौकी सामान्य टेन्टमै अस्तव्यस्त रूपमै चलिरहेको छ ।

तस्करीमा स्थानीय प्रयोग
सुन बरामदका धेरैजसो घटनामा स्थानीय प्रयोग भएका छन् । सुन बरामदका सात घटनामध्ये पाँचमा स्थानीयको संलग्नता देखिएको हो । चीनसँग जोडिएका जिल्लाका नागरिक  चीन सरकारले दिने अनुमतिपत्रका आधारमा सजिलै केरुङ आउजाउ गर्ने भएकाले उनीहरू भरियाका रूपमा प्रयोग भएको देखिएको छ ।  खबर कान्तिपुर मा रहेको छ ।