आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

अग्लो टावर देख्नेवित्तिकै प्रचण्डको भन्दा रहेछन्: प्रधानमन्त्री

परदेशी खबर २ पुष २०७३, शनिबार ०९:२६ मा प्रकाशित ( ७ साल अघि) १७८ पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहालले हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणभन्दा आफूसँग थप कुनै सम्पत्ति नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीको सम्पत्ति विवरणमा आशंकाहरु व्यक्त भइरहँदा शनिबार बिहान यहाँ आएका दाहालले आफ्नो सबै सम्पत्ति पार्टीलाई बुझाइसकेको बताए । ‘तपाईं चितवनवासीलाई राम्रो थाहा छ, तपाईंहरुले भन्दिनुपर्‍यो (सम्पत्तिबारे),’ उनले आफ्नो सम्पत्ति विवरणबारे चितवनमा भएको पत्रकार सम्मेलनमा खुलाए, ‘शिवनगरमा म जहाँ बसेको थिएँ, दाजुभाइबीच अंशबण्डा पर्दा डेढ बिगाहा परेको थियो, सबै बेचेर पार्टीलाई बुझाएको थिएँ, पार्टीको निर्णय पनि थियो त्यो, अंशबण्डा गर्दा श्रीमतीको नाममा भरतपुरमा एक कठ्ठा थियो, त्यो बाहेक केही छैन ।’

विभिन्न टावरको स्वामित्वबारे प्रश्न उठ्ने गरेको बताउँदै प्रधानमन्त्रीले आश्चार्य प्रकट गरे । ‘अग्लो टावर बन्यो भने प्रचण्डको भन्ने चलन रहेछ, अस्ति चन्द्रागिरी उदघाटन गर्न गएँ, त्यो पनि प्रचण्डकै भन्ने रहेछ,’ उनले भने, ‘अहिले त म देशै मेरो भन्ने गरेको छु ।’

४ गते संशोधन विधेयक टेबल हुन्छ

प्रधानमन्त्रीले पुस ४ गते संविधान संशोधन विधेयक टेबल हुने दाबी गरे ।

विधेयक दर्ता भएपछि निरन्तर विपक्षी दलको विरोध भएकाले संशोधन प्रक्रिया रोकिएको उनले बताए । ‘सभामुखले कार्यसूचीमा राखिसक्नुभएको छ,’ उनले भने, ‘४ गते टेबल हुन्छ ।’

प्रधानमन्त्रीले संविधान संशोधन, महाअभियोग र चुनाव घोषणालाई प्याकेजमै गर्ने प्रयास भइरहेको बताए ।  संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाइकन चुनाव सम्भव नभएको उल्लेख गर्दै उनले संधिवान संशोधन निर्वाचनकै लागि भएको बताए ।

वैशाखमा स्थानीय चुनाव गर्न सम्भव रहेको दाबी गर्दै प्रधानमन्त्रीले आफू नयाँ संरचनाअनुसार नै चुनाव गर्नुपर्ने पक्षमा रहेको बताए । उनले पुरानै संरचनाअनुसार चुनाव गर्न प्रमुख तीन दल सहमत नभएको दोहोर्‍याए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानै संरचनाअनुसार चुनाव गर्न प्रस्ताव गरेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक जवाफ दिएको उनले बताए । ‘तर मैले आयोग बनिसकेकाले नयाँ संरचनाअनुसार गरौं भनेको छु,’ उनले भने ।

चुनावसम्बन्धमा छलफल गर्न अर्को बैठक बस्ने भनिएको तर बस्न नसकेको उनको भनाइ थियो ।

टोपबहादुरका गतिविधि पार्टी निर्णयविपरीत

प्रधानमन्त्रीले माओवादी नेता टोपबहादुर रायमाझीका गतिविधि पार्टी निर्णयविपरीत भएको बताए । ‘उहाँहरु (रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारी) कन्स्टिट्युन्सी बचाउन जानुभएको हो, पार्टीको निर्णयभन्दा बाहिर कोही जान मिल्दैन,’ उनले भने ।

संशोधनको विरोधमा ५ नम्बर प्रदेशका केही जिल्लाहरु र प्रमुख विपक्षी एमालेको आन्दोलनको कुनै तुक नभएको प्रधानमन्त्रीको भनाइ छ । ‘तर त्यसको कुनै तुक छैन, उहाँहरु समझदारीमा आउनैपर्ने हुन्छ, यदि उहाँहरु निर्वाचनप्रति गम्भीर हुनुहुन्छ भने नमिल्नेखालको आन्दोलन छाडेर आउनुपर्छ,’ उनले भने ।

संविधान संशोधन विधेयक अगाडि बढेपछि मधेसी मोर्चा पनि चुनावमा आउने प्रधानमन्त्रीको दाबी थियो ।

प्रधानमन्त्री दाहालले आफ्नो गृहजिल्ला चितवनको विकासका लागि प्याकेज घोषणा गर्ने तयारी रहेको बताउँदै आगामी चुनावमा चितवनबाट उम्मेदवारी दिनेबारे निर्णय भइनसकेको बताए । ‘सत्तापक्ष र प्रतिपक्षका साथीहरुले पनि भनिरहनुभएको छ, चितवनसँग मेरो सम्बन्ध छ,’ उनले भने ।

आगामी चुनावमा चितवनबाट उठ्नुहुन्छ त भन्ने प्रश्नमा उनको संक्षिप्त जवाफ थियो, ‘असम्भव भन्ने कुरै भएन ।’

साभार: कान्तिपुर